Kathmandu Press

उपाध्यक्षमा बामदेवको पुनरागमन : फेरिएला नेकपाभित्रको आन्तरिक समिकरण?

काठमाडौं, माघ २० : कम्युनिष्ट राजनीतिमा बामदेव गौतम चतुर नेताका रूपमा परिचित छन्। जस्तोसुकै जोखिम मो

उपाध्यक्षमा बामदेवको पुनरागमन : फेरिएला नेकपाभित्रको आन्तरिक समिकरण?
वामदेव गौतम। स्केच : रवि श्रेष्ठ/काठमाडाैं प्रेस

काठमाडौं, माघ २० : कम्युनिष्ट राजनीतिमा बामदेव गौतम चतुर नेताका रूपमा परिचित छन्। जस्तोसुकै जोखिम मोल्न तयार हुने गौतम अहिले नेकपाको आन्तरिक समिकरणमा समेत निर्णायक मानिन्छन्।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण गर्न मुख्य भूमिका उनै गौतमले निभाएका थिए। ३ जेठ २०७५ मा पार्टी एकता हुनुभन्दा अघि उनी एमालेको उपाध्यक्ष थिए। पार्टी एकता भएपछि सचिवालय सदस्यमै सीमित थिए।

तर, उपाध्यक्षबाट हटेको ६२६ दिनमा एकीकृत पार्टीको उपाध्यक्षकै कुर्सीमा फर्किएका छन्। आइतबार सकिएको नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गरेपछि वैधानिकरुपमा उपाध्यक्षको कुर्सीमा फर्किए। 

Hardik ivf

नेकपाको ९ सदस्यीय सचिवालयमा गौतम अध्यक्षद्वय ओली र प्रचण्डका लागि शक्तिको कडी हुन्। गौतम जसको पक्षमा लाग्यो उहीँ सचिवालयमा शक्तिशाली हुने अवस्था छ। गौतमलाई खुसी पार्न अध्यक्षद्वयले उनकै लागि उपाध्यक्ष पद सिर्जना गरेका हुन्।

सचिवालयले गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेपछि तत्कालीन एमालेका उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीमबहादुर रावलले असन्तुष्टि  पोखेका थिए। त्यतिमात्रै होइन तेस्रो वरियता खोसिएपछि सचिवालय सदस्य माधवकुमार नेपालले पनि तत्कालीन उपाध्यक्षहरुलाई सचिवालयमा ल्याउनु पर्ने माग राखेका थिए।

गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णयलाई स्थायी कमिटी हुँदै दोस्रो केन्द्रीय कमिटीमा लगिएको थियो। आइतबार विधान संशोधन प्रस्ताव पारित भएसँगै ६ महिनापछि गौतम केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयबाट उपाध्यक्ष बन्न सफल भए।

बामदेव अर्थात तरवारको दुई धार 

२० महिनापछि उपाध्यक्ष पदमा बामदेवको पुनरागनले नेकपाको आन्तरिक राजनीतिमा के फरक पर्ला? धेरैले अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले आफू शक्तिशाली बन्न गौतमलाई फर्काएको तर्क गर्ने गरेका छन्।

यस्तै तर्क राजनीतिक विश्लेषक कृष्ण पोखरेलको पनि छ। सचिवालयभित्रको अंकगणित आफ्नो पक्षमा पार्ने उद्देश्यले अध्यक्षद्वय बामदेवलाई उपाध्यक्ष बनाएको उनी बताउँछन्। ‘उहाँ (गौतम) तरवारको दुई धार जस्तो हुनुहन्छ। उहाँलाई ह्यान्डल जसले गर्न सक्यो उहीँ शक्तिशाली बन्छ,’ पोखरेल भन्छन्, ‘त्यसैले शक्तिशाली बन्ने अभिप्रायले अध्यक्षद्वयले उपाध्यक्ष बनाएका हुन्।’

आफूसँग रूष्ट बनेका बेला अध्यक्ष ओली आफैंले गौतमलाई खुसी पार्न उपाध्यक्षमा प्रस्ताव गरेको पोखरेलको भनाइ छ। पछि गौतमलाई फकाउने ओलीको चाल थाहा पाएपछि प्रचण्डले समेत समर्थन गर्दा केही समय उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव अल्झिएको उनको बुझाइ छ। 

तर, सभामुखको उम्मेदवार चयनमा गौतम अध्यक्ष ओलीको साथमा देखिएनन्। र, त्यसले गौतमलाई उपाध्यक्ष नबनाइ नहुने अवस्थामा दुवै अध्यक्ष पुगेको पोखरेलको विश्लेषण छ।

‘सभामुख चयनमा गौतमले साथ नदिएपछि ओलीलाई फकाउनुपर्ने र प्रचण्डलाई गुण तिर्नुपर्ने अवस्था आयो,’ पोखरेलले भने, ‘नेकपाको आगामी अधिवेशनलाई समेत ध्यानमा राखेर यो निर्णय गरिएको हुनसक्छ। एमालेको राजनीतिक सिद्धान्त जवज हो भने नेकपाले अहिले जनताको जनवाद भनेको छ। बामेदवजी भोलि आउने महाधिवेशनमा पार्टीको सिद्धान्त के हुने भन्ने बहस चल्दा जवजतिर लाग्न सक्नु हुन्छ। दुवै अध्यक्षले एक ढंगले उहाँलाई आफ्नो पक्षमा पार्ने चाहना यसमा लुकेको छ।’

तर, वामपन्थी विश्लेषक श्याम श्रेष्ठ भने उपाध्यक्षमा गौतमको पुनरागमनले तात्विक असर नपार्ने बताउँछन्। नेकपाभित्र स्वार्थ समूहको बोलवाला रहेकाले सोही अनुरुप गौतमलाई उपाध्यक्ष बनाइएको उनको तर्क छ। ‘ओली, प्रचण्ड, माधव नेपाल सबैको कोटरी छ। बामदेवको पनि आफ्नै कोटरी छ,’ उनी भन्छन्, ‘नेपाल र प्रचण्ड मिलिहाले पनि गौतम साथमा रहँदा आफू बलियो हुने ओलीको बुझाइ होला। गौतम आउँदा प्रचण्ड झन् शक्तिशाली हुने देखिन्छ।’

गौतमको उदय 

राष्ट्रिय राजनीतिमा गौतमको उदय ५० को दशकमा भएको हो। ०५० साल जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएपछि उनको उदय भएको हो।

आश्रितको निधन भएपछि तत्कालीन एमालेको संगठन विभागको जिम्मेवारी गौतमले पाएका थिए। अहिले उनी नेकपाको संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनेका छन्। ०४९ मा भएको एमालेको पाँचौं महाधिवेशनअघि ‘जनताको बहुदलीय जनवाद’ बनाउन मदन भण्डारीलाई गौतमले सहयोग गरेका थिए।

तर, मदनको निधन भएपछि ०५१ मा भएको निर्वाचनमा एमाले ठूलो दल बन्यो। त्यसपछि उनले पार्टी सञ्चालनको जिम्मेवारी पाएका थिए। त्यो बेला पनि उनका लागि भनेर उपमहासचिव पद सिर्जना गरिएको थियो। ०५३ सालमा लोकेद्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी एमालेको नेतृत्व गर्दै उपप्रधानसहित गृहमन्त्री बनेका थिए। त्यहीँबाट हो, उनी शक्तिशाली बनेको। 

०५४ सालको स्थानीय चुनावमा एमालेले ऐतिहासिक जित हासिल गर्‍यो। जसको श्रेय उनै गौतमलाई गयो। उनी उपप्रधानमन्त्री भएको सरकार सात महिनामा ढल्यो। त्यहीँ बेला एमाले महाकाली सन्धिको विवादमा फस्यो। गौतमले महाकाली सन्धि राष्ट्रघाती भएको भन्दै ०५४ साल फागुन २१ गते एमाले फुटाएर नेकपा माले गठन गरी त्यसको महासचिव बने।

तर, २०५६ को आमनिर्वाचनमा मालेले नराम्रो पराजय व्यहोर्यो। काठमाडौं क्षेत्र नम्बर १ बाट उठेका गौतम आफैंले हार व्यहोरे। एक सिट पनि जित्न नसकेपछि उनमा चरम निराशा छायो। र उनी पार्टी फुटाएको चार वर्षपछि एमालेमै फर्किए र स्थायी कमिटी सदस्य बने।

त्यो बेला एमालेमा महासचिव माधवकुमार नेपाल र केपी ओलीको गुट थियो। पार्टी एकता गरेपछि नै उनी आन्तरिक राजनीतिमा गौतम निर्णायक बन्दै आएका छन्। त्यो क्रम हालको नेकपामा पनि जारी छ। अहिले उनी ओलीको पक्षमा लाग्दा ओली नै बलियो र प्रचण्डको पक्षमा लाग्दा प्रचण्ड नै बलियो हुने स्थिति बनेको नेकपाका नेताहरुको भनाइ छ।
 

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्