यसरी ठडिँदै छ धरहरा (भिडियोसहित)
काठमाडौं, माघ १७ : भूकम्पपछिका चार वर्ष विवादमै वितेपनि यतिवेला भने धुरहराको पुनःनिर्माणले गति लिइरह
काठमाडौं, माघ १७ : भूकम्पपछिका चार वर्ष विवादमै वितेपनि यतिवेला भने धुरहराको पुनःनिर्माणले गति लिइरहेको छ। केही महिनादेखि धमाधम काम भइरहेको छ।
वि.सं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरुप धरहरा बनाएका थिए। त्यसको एक सय आठ वर्षपछि वि.स. १९९० को भुकम्पले भत्किएको थियो।
त्यतिवेला भने धरहरा पुनःनिर्माण गर्न अहिलेको जस्तो सकस परेन। तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले भुकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनःनिर्माण गराएका थिए।
त्यसपछि २०७२ वैशाख १२ गतेको गोर्खाको बार्पाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको भुकम्पले क्षति पु¥यायो। त्यसको चार वर्षपछि अहिले धरहरा पुनःनिर्माण भइरहेको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको जिम्मा लिएसँगै पुनःनिर्माणले गति लिन थालेको हो। प्राधिकरणको तर्फबाट पुनःनिर्माणको रेखदेख गरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धर पुनःनिर्माणले गति लिइरहेको बताउँछन्। ‘प्रत्येक महिना दुई-दुई तल्लाको काम सक्ने गरि खटिएका छौं,’ मानन्धरले भने, ‘सन् २०२० को अक्टोबर (२०७७ कात्तिक १५ गतेसम्म) मा यसको सम्पूर्ण कार्य सक्काउने प्राधिकरणको लक्ष्य छ।’
अब धरहरा २२ तल्लाको हुनेछ। यसको बाहिरी स्वरुप विगतकै जस्तो हुनेछ भने भित्रि भागमा लिफ्ट पनि जोडिनेछ।
यसमा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिन लागेको छ। जसमा दुई र चारपांग्रे गरि तीन सय ४७ वटासम्म सवारी साधान पार्किङ गर्न सकिने छ। अहिले अन्डरग्राउन्ड पार्किङको लागि माटो निकाल्ने काम भईरहेको छ।
धरहरा पुनःनिर्माणका लागि तीन अर्ब आठ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। धरहरा निर्माणले गति लिएसँगै अहिलेसम्म ३३ प्रतिशत काम भइससकेको र ८० करोड रकम खर्च भएको मानन्धरले बताए। ‘धरहरा निर्माणअन्तर्गत अहिले पाँचौँ तल्लाको निर्माण कार्य सकिएको छ,’ उनले भने।
धरहरा केही आधुनिकिकरण पनि गरिँदै छ। बाहिरी रुप झट्ट हेर्दा विगतकै जस्तो देखिएता पनि भित्र भने अत्याधुनिक प्रविधियुक्त संरचना निर्माण गरिने भएको छ। सम्पदाविज्ञ मानन्धरका अनुसार, यसमा लिफ्ट र भर्याङ दुवै राखिनेछ।
त्यस्तै, पुरानो धरहराको वरिपरी सिसाको घेरा लगाई संरक्षण गरिनेछ। यसबाहेक धरहराको वरिपरी पार्क, संग्राहलयलगायतका संरचनाहरूसमेत निर्माण गरिने प्राधिकरणले जनाएको छ।
पूरातत्वविद् भने आधुनिक प्रविधि जडान गर्दा यसको मौलिकता गुम्ने बताउँछन्। पूरातत्वविद डा.पुरुषोत्तम लोचन श्रेष्ठ लिफ्ट जडान गर्न नहुने बताउँछन्। ‘हाम्रो सांस्कृतिक पहिचान भनेकै धरहराको मौलिक पहिचान हो। त्यसकारण यो विगतमा जस्तो थियो त्यही स्वरुपमा बन्न आवश्यक छ,’ पूरातत्वविद् डा।श्रेष्ठ भन्छन्।
धरहरा काठमाडौंको पहिचान बनेको ऐतिहासिक सम्पदा हो। यसलाई प्राचिन मौलिकता झल्कने, व्यवस्थित तथा भूकम्प प्रतिरोधी बनाउन आवश्यक छ।