नेकपाको भविष्यवाणी : नेपालमा अब नेकपा र कांग्रेसमात्रै !
काठमाडौं, माघ १६ : राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वा
काठमाडौं, माघ १६ : राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तिमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट जित्ने दललाई राष्ट्रिय दल मानेको छ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एकभन्दा बढी सिट चार दलले जितेका थिए। निर्वाचन ऐन अनुसार राष्ट्रिय दलको मान्यता पाउने दल हुन्– नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल। यी चार दलमध्ये अहिले सरकारको नेतृत्व नेकपाले गरिरहेको छ।
तर, सरकारको नेतृत्वकर्ता नेकपाले नै मुलुकमा अन्ततः दुई राजनीतिक शक्ति मात्रै रहने विश्लेषण गरेको छ। बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालको राजनीति दुई ध्रुवीय बन्दै गएको र अन्ततः नेपालमा दुई राजनीतिक शक्तिमात्रै हुने भविष्यवाणी गरेका छन्।
प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्डले खासगरी नेपालमा नेकपाको विकल्प कांग्रेस र कांग्रेसको विकल्प नेकपा मात्रै भएको संकेत गरेका छन्। हालै सम्पन्न उपनिर्वाचनको विश्लेषण गर्दै नेपालको राजनीति दुई ध्रुवीय बन्दै गएको विश्लेषण प्रतिवेदनमा गरिएको छ।
‘साना पार्टीहरुको अवस्था निकै कमजोर देखिएको छ। यसले नेपालको राजनीति मूलतः दुई ध्रुवीय बन्दै गरेको प्रारम्भिक संकेत गर्दछ,’ प्रतिवेदनमा भनिएको छ। राजनीति दुई ध्रवीय बन्दै छ भनेको नेकपाले राजनीतिक दलको चरित्रबारेमा समेत कांग्रेसका विषयमा मात्रै टिप्पणी गरेको छ।
कांग्रेसबाहेकका अन्य कुनै पनि दलको चरित्र र प्रवृत्तिबारे नेकपाको राजनीतिक प्रतिवेदन मौन छ। साना दलबारे नेकपाको टिप्पणी छ, ‘देशमा रहेका साना क्षेत्रीय पार्टी र साना बामपन्थी पार्टीहरुसँग आलोचना, सहकार्यको र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनु पर्दछ।’
तर, राजनीतिक प्रतिवेदनमा नेकपाको प्रशंसा र कांग्रेसको आलोचना गरिएको छ। ‘आज नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरुमा नेकपा नै गौरवशाली नेकपा नै आम देशभक्त र श्रमजीवी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो,’ कांग्रेसबारे नेकपाले भनेको छ, ‘कांग्रेस पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएपनि आफ्नो ढुलमुले सम्झौता परस्त दलाल प्रवृत्तिका कारण यसले आर्थिक सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्दैन।’
यद्यपि संविधान कार्यान्वयनको प्रक्रियालाई अघि बढाउन भने कांग्रेससँग सहकार्य आवश्यक रहेको नेकपाको ठहर छ। कांग्रेसको आलोचना र अन्य दलमाथि टिप्पणी नै नगरेर नेकपाले मुलुकमा भविष्यमा दुई वटा मात्रै राजनीतिक शक्ति रहेको पुष्टि गर्न खोजको देखिन्छ। मधेस केन्द्रीत दल, राप्रपा, आफूलाई वैकल्पीक शक्तिका रुपमा चिनाउन रूचाउने दलहरूसँग नेकपाले ‘आलोचना, सहकार्यको र एकता’को नीति लिने भनेको छ।
तर, राजनीति दुई ध्रुवीय हुने भनिरहँदा ती दलहरूको भविष्यका बारेमा भने प्रतिवेदन मौन छ। नेकपाले भने जस्तै नेपालको राजनीति दुई ध्रुवीय हुँदै गएको हो ? भन्ने प्रश्नमा राजनीतिक विश्लेषक लोकराज बराल नेकपाको विश्लेषणसँग सहमत छन्। तर, नेकपाभित्र नै दुई ध्रुव देखिएको उनको भनाइ छ।
‘उनीहरु नै दुई ध्रुवमा विभाजित छन्, एकथरी एमसीसीको पक्षमा र अर्को विपक्षमा। रह्यो नेपालको राजनीतिको दुई ध्रुव। प्रतिवेदन अनुसार लोकतान्त्रिक र अधिनायकवादीबीचको ध्रवीकरण भन्न खोजेको होला,’ उनी भन्छन्, ‘लोकतान्त्रिक भन्ने राप्रपाहरुको स्तर खस्किसक्यो, कांग्रेसको विकल्पमा अन्य लोकतान्त्रिक दल छैनन्। त्यसैले कम्युनिष्ट र कांग्रेस गरी दुई ध्रुवमा राजनीति जाने सम्भावना छ।’
उनी कांग्रेसकै एजेन्डामा कम्युनिष्टहरु आइपुगेकाले कम्युनिष्टको विकल्प कांग्रेस मात्रै भएको जिकिर गर्छन्। कांग्रेस र कम्युनिष्ट मात्रै होइन, नेपालको राजनीति अरू कारणले समेत ध्रुविकरणमा जाने संकेत देखिएको उनको भनाइ छ।
‘पछिल्ला गतिविधि हेर्दा प्रो–चाइनीज, प्रो–अमेरिकन र प्रो–इन्डियन भनेर समेत राजनीतिक ध्रुविकरण हुने सम्भावना देखिन्छ,’उनले भने।
बामपन्थी विश्लेषक श्याम श्रेष्ठ सामान्यतया नेकपाको विश्लेषण ठीक भएको बताउँछन्। ‘नेकपाको विश्लेषण सामान्यतयः त ठीक हो। लेफ्ट र राइट दुई ध्रुवमा राजनीति ध्रुविकृत हुँदै गएको जस्तो चाहिँ देखिन्छ,’ उनी भन्छन्।
तर, विश्लेषक कृष्ण पोखरेल चाहिँ तत्कालै राजनीति ठ्याक्कै दुई ध्रुवमा ध्रविकृत हुने सम्भावना नरहेको बताउँछन्। ‘कांग्रेस र कम्युनिष्ट मात्रै भनेर तत्कालै दुई ध्रुवमा राजनीति अघि बढ्छ जस्तो लाग्दैन,’ उनी भन्छन्, ‘अहिलेकै अवस्था रहे आगामी निर्वाचनमा तीन पार्टी रहन्छन्। कुनै दलको बहुमत आउँदैन र तेस्रो हुने दलले सत्ताको तालाचाबी बोकेर बस्ने सम्भावना धेरै देखिन्छ।’
उनले नेकपा, कांग्रेससँगै एउटा मधेसवादी दल (राजपा वा समाजवादी) दल संसदमा रहने सम्भावना रहेको बताए। ‘राष्ट्रिय दलले मधेसका एजेण्डा पुरा नगरेका कारण मधेसवादी दल बलियो अवस्थामा नै रहनेछन्। राजपा वा समाजवादी दल आफैं सत्ताको नेतृत्व गर्ने हैसियतमा रहँदैनन्। तर, निर्णायक चाहिँ हुनेछ। त्यसैले राजनीति दुई ध्रुवमा जाने संकेत देखियो भन्न मिल्दैन,’ उनले भने।
उसो भए अन्य साना दलको भविष्य के होला ? पोखरेलको विचारमा अन्य साना दलले थ्रेस होल्ड कटाउन सक्दैनन् र विस्तारै कमजोर बन्दै जानेछन्।