Kathmandu Press

हिमपहिराेमा हराएका पर्यटकको बीमा नभएको पुष्टि

काठमाडौं, माघ १६ : अन्नपूर्ण क्षेत्रमा हिमपहिरोमा परेर बेपत्ता भएका पर्यटक तथा गाइड बीमाबिना नै पदया

हिमपहिराेमा हराएका पर्यटकको बीमा नभएको पुष्टि

काठमाडौं, माघ १६ : अन्नपूर्ण क्षेत्रमा हिमपहिरोमा परेर बेपत्ता भएका पर्यटक तथा गाइड बीमाबिना नै पदयात्रामा गएको पाइएको छ।

अन्नपूर्ण क्षेत्रको हिङ्‌कु ओडारबाट माघ ३ गतेदेखि बेपत्ता चार कोरियाली र दुई जना नेपाली गाइडको बीमा नभएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखराले जनाएको छ। टान पोखराका अध्यक्ष हरि भुजेलले एबीसीबाट हराएका तीन नेपालीमध्ये पोखराबाट गएका एक जना नेपाली गाइडको मात्रै बीमा भएको बताए।
चार जना कोरियाली र दुई जना नेपाली गरी ६ जना काठमाडौंस्थित ट्राभल नेट इन्टरनेसनल कम्पनीमार्फत पद यात्रामा गएका थिए।

हिमपहिरोमा नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोट तथा कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वनसहित सातजना बेपत्ता रहेको टानले जनाएको छ।

Hardik ivf

हिमपहिरोमा परी बेपत्ता भएपछि खोजविन गर्दा उनीहरुको बीमा नै नगरेको पाइएको हो। ‘ट्राभल कम्पनीको लापरबाहीका कारण उनीहरु बीमाबिना पदयात्रामा निस्किएका रहेछन्। यात्राका क्रममा दुर्घटना भएपछि कम्पनीले बीमा नै गरेको छैन भन्नु कमजोरी हो,’ अध्यक्ष भुजेलले भने, ‘दुर्घटनापछि सम्बन्धित निकाय टे«किङ कम्पनी, नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले निभाउनु पर्ने भूमिका न्यून भयो।’

ट्राभल नेट इन्टरनेसनल कम्पनीका सन्देश पाण्डेले एबीसीमा हराएका विदेशी पर्यटक र नेपाली गाइडका विषयमा बोल्न मानेनन्। ‘हामीभन्दा माथिल्लो निकाय (कोरियाली दूतावास)मा कुरा पुगेको छ, बोल्ने अनुमति छैन,’ उनले भने।

हिमपहिरोमा कति पर्यटक तथा नेपाली गाइड परे भन्ने सम्पूर्ण विवरण एक्याप र पर्यटन बोर्डमा हुनुपर्ने अध्यक्ष भुजेल बताउँछन्। एबीसीमा पर्यटक पठाएका एजेन्सीमार्फत गएका पर्यटक आएनन् भन्ने कुरालाई आधार बनाएर सात जना पर्यटक र गाईड हराएको भनिए पनि त्यो आधिकारिक तथ्यांक नभएको उनको भनाइ छ।

टानले पोखराका ट्रेकिङ एजेन्सीमार्फत गएका नेपाली गाइड तथा पोटरको गु्रपमा बीमा गर्ने गरेको छ। अन्नपूर्ण पदयात्रामा टानले ५० जना भरिया र २५ जना गाइइ गरी ७५ जनाको बीमा गराएको थियो। ‘काठमाडौंबाट गएका नेपाली गाइडको बीमा हामीले गर्दनौं,’ भुजेलले भने।

टानले बीमा गरेका नेपाली गाइड वा भरियाको मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइते भएमा एक लाख ५० हजार र उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्दै आएको छ।

हिङ्‌कु ओडारबाट बेपत्ता आफ्ना नागरिकको खोजीका लागि कोरियन दूतावास पनि लागेको छ। माघ ४ गतेदेखि नै कोरियन दूतावासले हेलिकोप्टरमार्फत खोज तथा अवलोकन गर्दै आएको छ।

बोर्डले एकल टिम्स कार्ड दिँदा पदयात्रामा जाने पर्यटक नेपालमै भएको हुनुपर्ने, भिजासहितको पासपोर्ट, फोटो र बीमा अनिर्वाय हुनुपर्ने नियम नै बनाएको छ।

‘बोर्डबाट टिम्स लिएर गएका सम्पूर्ण पर्यटकको रेकर्ड हामीसँग हुन्छ। तर कम्पनीमार्फत पद यात्रामा गएका पर्यटकको सम्पूर्ण विवरण स्वयम् कम्पनीले नै राख्नुपर्ने हुन्छ,’ बोर्डकी सदस्य निन्द्रा क्षेत्रीले भनिन्।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने टिम्सको सम्पूर्ण जिम्मा सदस्य कम्पनीलाई दिइएको भन्दै केही दुर्घटना हुँदा सम्पूर्ण उनीहरुकै हुने बताउँछन्।

यसैबीच हिमपहिरोमा परी हराएका पर्यटकको खोजी रोकिएको छ। दुई सातासम्म पनि हराएका चार काेरियन पर्यटक र तीन नेपाली गाइड अझै भेटिएका छैनन्। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले धेरै हिमपात भएकाले खोजीको काम रोकिएको बताए।

प्रकाशित मिति: ११:१३ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्