पत्रकारलाई लाईसेन्स : ठीक कि बेठीक?
काठमाडौं, माघ १४ : सरकारले मिडिया काउन्सिल विधेयकमा पत्रकार हुन परिक्षा लिएर लासेन्सको व्यवस्थ

काठमाडौं, माघ १४ : सरकारले मिडिया काउन्सिल विधेयकमा पत्रकार हुन परिक्षा लिएर लासेन्सको व्यवस्था गर्ने प्रावधान राखेपछि यसका विषयमा तर्क बितर्क सुरु भएको छ।
कतिपयले वकिल, चिकित्सक, इन्जिनियरलगायतका पेशमा लाइसेन्स हुनुपर्नेजस्तै पत्रकारलाई पनि यो प्रावधान ठिकै हुने तर्क गरेका छन्। मिडिया क्षेत्रका अनुभवि पत्रकारहरुले भने पत्रकारलाई लाइसेन्स भन्नुनै प्रेस स्वतन्त्रता कस्ने कदमको रुपमा टिप्पणी गरेका छन्।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका बरिष्ठ पत्रकार राजेन्द्र दाहाल पत्रकार बन्नका लागि परिक्षा दिने र लाइसेन्स लिने भन्ने विषय अनावश्यक रहेको टिप्पणी गर्छन्।
‘पत्रकारलाई परीक्षा लिएरमात्रै लाइसेन्स दिने भन्ने कुरा प्रेस स्वततन्त्राको आधारभूत मान्यता विपरीत हो’ दाहाल भन्छन्, ‘यो नेपाली प्रेसलाई बदनाम गराउन ल्याईएको हो।’
दाहालले मिडिया काउन्सिल विधेयकले नेपालको हरेक राजनीतिक र समाजिक परिवर्तनमा प्रेसले खेलेको भूमिकलाई पनि उक्त विधेयकले होच्याएको बताउँछन्।
त्यस्तै खोज पत्रकारिता केन्द्र (खोपके)का सम्पादक एवं अर्का पत्रकार शिव गाउँले परीक्षा दिएर लाइसेन्स लिएर मात्रै पत्रकार बन्ने कुराको कुनै अर्थ नहुने तर्क गर्छन्।
‘पत्रकारलाई सरकारी निकायले आफै परीक्षा लिएर पास वा फेल गर्ने भन्नेकुरा नै एउटा कमेडि हो’ गाउँलेले भने, ‘पत्रकारको लाइसेन्सका लागि कस्ले परीक्षा लिने र दिने भन्ने कुरा आफैमा विवादित हाे।’
उनी पत्रकारिताा लाइसेन्स लिने र दिने भन्ने विचारनै गलत भएको बताउँछन्। ‘पत्रकारिता विचार व्यक्त गर्ने पेशा हो’ गाउँले भन्छन्, ‘यसमा लाइसेन्स लिएर मात्रै आप्नो विचार व्यक्त गर्ने कुरा आफैमा विवादास्पद हो।’
नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य लाइसेन्स लिएर पत्रकारिता गरेको विश्वका कुनै पनि देश नरहेको बताउँदै सरकारले ल्याएको विधेयक अनुचित रहेको बताउँछन्। ‘विश्वका कुनै पनि देशमा परीक्षा दिएर लाइसेन्स लिएपछि मात्रै पत्रकार बनेको देखिएको छैन्’ आचार्य भन्छन्, ‘नेपालमा के हुन लागेको हो बुझ्नै सकिएको छैन।’
राजनीति, समाजसेवा, पत्रकारितालगायतको क्षेत्रमा अभिव्यक्त विचार स्वतन्त्र हुने भएकाले पनि लाइसेन्स बेतुकको तर्क भएको आचार्यको तर्क छ। ‘आम नागरिक तथा राष्ट्रको हितका लागि सूचना आदानप्रदान गर्ने गरिन्छ। हरेक नागरिकले आफूलाई आवश्यक भएको सूचना जुनसुकै माध्यमवाट दिन र लिन पाउँने अधिकार संविधानमै व्यवस्था गरिएको छ’ आचार्य भन्छन्, ‘लोकतान्तिक मुलुकमा पत्रकारिता गर्न लाइसेन्स लिनु अमान्य विषय हो ।’
महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्मा पत्रकारिता गर्न कुनै न कुनै मापदण्ड तोकिनु राम्रो हो तर परीक्षा दिएर लाइसेनस नै लिनुपर्ने कुरा अलि अपाच्य हुने बताउँछिन्। ‘पछिल्लो समय अनलाईन मिडिया दर्ता गर्ने फेसन नै चलेको छ। नयाँ दर्ता भएका अनलाईनले आफ्नो धर्म नै बिर्सिएको देखिन्छ’ शर्मा भन्छिन्, ‘पत्रकारको गरिमा जोगाइराख्न उनीहरुलाई कडाइ गर्न केही मापदण्ड तोकिनु राम्रो हो तर परीक्षानै लिने भन्ने अलि मिल्दैन।’












-(7)-1765197040.jpg)