नेता हराएको नेविसंघ
काठमाडौं, माघ १४ : पार्टीको ‘नर्सरी’ मानिने कांग्रेसको सशक्त विद्यार्थी ‘विङ्स्&rs
काठमाडौं, माघ १४ : पार्टीको ‘नर्सरी’ मानिने कांग्रेसको सशक्त विद्यार्थी ‘विङ्स्’ नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आन्तरिक विवादका कारण दुई दशकदेखि नेतृत्व विकास सहज रुपमा हुन सकेको छैन।
प्रतिपक्षीमा हुँदा वा सत्तापक्षमा हुँदा जनजिविका र शैक्षिक क्षेत्र सुधारको आन्दोलनको नेतृत्व गर्दै आएको नेविसंघ राजनीतिक परिवर्तनका सबै आन्दोलनको पनि ‘फ्रन्ट लाईनर’ संस्था हो।
२०३६ को विद्यार्थी आन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनसम्म आईपुग्दा सशक्त र अग्रणी सस्था रह्यो, नेविसंघ।
तर, पछिल्लो समय नेविसंघभित्र देखिएको अतिगुटबन्दीले एकातिर संस्थाको महिमा घटाएको छ भने अर्कोतिर नेताको ‘आसेपासे’बाहेक संघमा अटाउन नसक्ने अवस्था सिर्जना भएको छ।
४९ वर्ष अघि तत्कालीन पञ्चायति व्यवस्थाविरुद्ध आन्दोलनको मोर्चा सम्हाल्न गठन भएको नेविसंघ पछिल्लो दुई दशकदेखि आन्तरिक विवाद, पार्टीको हस्तक्षेप र अति गुटबन्दीले घाइतेजस्तै भएको छ।
नेविसंघ कमजोर हुनुमा गुटगत स्वार्थ नै प्रमुख कारक रहेको संघका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको निष्कर्ष छ। ‘भाग नलिमेका कारण नेविसंघ यो हालतमा आइपुगेको हो,’ भट्टराई भन्छन्, ‘नेविसंघलाई नेताहरुले गुटगत स्वार्थका हिसाबले चलाउँदा समस्या भयो, अधिवेशन हुन सकेन र त्यसले नयाँ नेता जन्माउँन सकेन।’
पहिले १० हजार मान्छे उतारेर सभा गर्न नेविसंघले १२ घण्टामा सक्ने अवस्था भएपनि अहिले दुई हजार मास जुटाउन पनि मुस्किल हुर्दै गएको उनको ठम्याइ छ।
नेविसंघका अर्का पूर्वअध्यक्ष धनराज गुरूङ संघ कमजोर हुनुमा आफुहरु नै जिम्मेवार भएको स्वीकार्छन् । ‘अहिले जे स्थिति देखा परेको छ, त्यसको जिम्मवार हामी सबै नेताहरु हौं,’ संघभित्रको भद्रगोल स्विकार गर्दै उनी भन्छन्, ‘किनभने नेविसंघलाई विघटन गरेर पाँच सात दिनमा अर्को नेतृत्व प्रदान गर्नुपथ्र्यो। तर, त्यो हुन सकेन। नेविसंघका नेता कार्यकर्ता होइन की हामी नै गलत हौं।’
राजनीतिशास्त्रका प्राध्यापक डा.लोकराज बराल नेविसंघमा स्वतः अधिवेशन हुने बाध्यात्मक प्रावधान राखेर कडाईका साथ लागु गनुपर्ने बताउँछन्। ‘कांग्रेसले नेविसंघलाई की आफैं चुनाव गर्ने स्वतन्त्र वातावरण बनाइदिन पर्थ्याे, कि त आफ्नो नियन्त्रणमा राख्न सक्नुपर्थ्याे,’ बराल भन्छन्, ‘नेविसंघको आन्तरिक रडाकोले कांग्रेसलाई कमजोर पार्छ। मुलमुद्धामा ध्यान केन्द्रित हुन सक्दैन। आगामी चुनावमा बलियोरुपमा कांग्रेस उभिन नसक्ने अवस्था आउँन सक्छ। यसका लागि नियमित अधिवेशनको बाध्यात्मक व्यवस्था लागू गर्नुपर्छ।’
न नेता न त संगठन
पञ्चायति व्यवस्थाविरुद्ध कांग्रेसका विद्यार्थी नेताहरू संगठित भएर २०२७ मा नेविसंघ स्थापना भएको थियो। शैक्षिक मुद्धा, जनजिविकामा मुद्धा उठाउने, गणतन्त्र प्राप्तिको आन्दोलनमा बिगुल फुक्ने मात्रै होइन, प्रभावशाली नेता उत्पादन गरेको नेविघसंघ अहिले सानेपामा रमिता देखाउनमै व्यस्त छ।
पार्टीभित्रका गुटउपगुटको सिकार बनेको नेविसंघ यतिबेला न संगठित छ, न त नेता नै। नेविसंघको इतिहास जति गर्विलो छ, त्यती नै मातृ पार्टीका लागि योगदान समेत गरेको छ। त्यसैको उदाहरण हो, कांग्रेसको अहिलेको नेतृत्व।
पार्टी सभापति शेरबहादुर देउवादेखि आधा केन्द्रिय सदस्य त्यही नेविसंघको नर्सरिमा हुर्किएका नेताहरु हुन्। उपसभापति विमलेन्द्र निधी पनि नेविसंघकै पूर्वअध्यक्ष हुन्। प्रभावशाली केन्द्रीय सदस्यहरु बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, विश्वप्रकाश शर्मा, गुरू घिमिरे, धनराज गुरूङ, प्रदीप पौडेललगायतले नेविसंघ हाकिसकेको अनुभव छ।
रामशरण महत, गगन थापालगायतका प्रवाशाली नेता नेविसंघको महामन्त्री हुँदै कांग्रेस राजनीतिमा उदाएका हुन्। अहिले पार्टी प्रवक्ताको जिम्मेवारी समेत नेविसंघका पूर्वअध्यक्षकै हातमा छ। संसदमा बलियो प्रतिपक्षीको आभास गराउने गगन थापादेखि सदनबाहिर बलियो प्रतिपक्षीजस्तो देखिने गुरूङ र पौडेलहरू नेविसंघबाटै आएका हुन्। तर, कांग्रेसको त्यो नर्सरी विरुवाबिनाको खेतजस्तो देखिन थालेको छ।
कांग्रेसभित्रका गुट उपगुटले आफु अनुकुल नेविसंघलाई प्रयोग गर्ने र भागबण्डा गर्ने प्रवृत्तिका कारण समस्या थप चुलिएको हो। त्यसैको उदाहरण हो, नेविसंघको पछिल्लो रडाको। २०७५ असोज २१ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लगायो। तर, उमेरहदको विषय नेताहरुले आ–आफ्नै हिसाबले व्याख्या गरे। जसका कारण नेविसंघका नेता कार्यकर्ता आफु–आफुबीच ढुंगा हानाहान गर्ने स्थितिमा पुग्यो।
पछिल्लो समय पार्टीको विवाद समेत नेविसंघको भागवण्डामा पुगेर सुरु हुने र समाधान पनि हुने.अवस्थामा पुगेको छ। चार दिन अघि नेविसंघको ६० प्रतिशत हिस्सा संयुक्तरुपमा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लिने सहमति पछि कांग्रेसमा देखिएको मिलापले त्यसैको पुष्टि गर्छ।
विधि/विधानको ‘ओठे’ तर्क गर्ने पौडेल पक्षले नेविसंघमा भाग पाएपछि विधानको ख्याल नै गरेन। गत वर्ष जारी भएको विधानमा नेविसंघमा एक निर्वाचित र एक मनोनित गरी दुई जनामात्रै महामन्त्री बनाउने व्यवस्था छ। तर, एक सय २७ सदस्यीय केन्द्रीय समिति र त्यसमा उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री विधानको व्यवस्था भन्दा धेरै बनाउने सहमति संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच भएको छ।
१८ अध्यक्षमा एक जना मात्रै नियमति अधिवेशनबाट
नेविसंघ स्थापना भएको ४९ वर्ष पुगेको छ। यो अवधिमा विपिन कोइरालादेखि नैनसिंह महरसम्मका १८ जनाले नेविसंघको नेतृत्व गरे। ती १८ जना अध्यक्षमध्ये सबैभन्दा बढि सात जनाले पार्टीको हस्तक्षेपबाट नियुक्ति पाएका छन्।
अधिवेशन गरेर निर्वाचित भएर आएका ६ जना मात्रै नेविसंघले अध्यक्ष पाएको छ। पाँच जना भने अधिवेशनबाट नेताहरुको भागवण्डामा सर्वसम्मत अध्यक्ष भएका छन्।
ति १८ नेविसंघका अध्यक्षमध्ये एक जनाले मात्र आफ्नो कार्यकालभित्रै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेका छन्। २०५७ मा भएको आठौँ महाधिवेशनबाट सभापतिमा चुनिएका विश्वप्रकाश शर्माले २०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्ने एक्ला नेविसंघका अध्यक्ष हुन्।
शर्माबाहेक सबै अध्यक्षले आफनो कार्यकाल नेताहरुको राजनीतिक दाउपेचमा घुसाएर बढाएका छन्।
सडकमा हुनुपर्ने नेविसंघ सानेपामा
वर्तमान सरकारले जनअपेक्षाअनुसार, काम गर्न सकिरहेको छैन। यति, ललिता निवास, ३३ किलो सुन प्रक्ररणलगायतका थुप्रै काण्ड यही सरकारका पालामा घटेका छन्।
यो अवस्थामा प्रमुख प्रतिपक्षी खरो उत्रन पर्ने हो। उसका भातृ संगठनको भूमिका समेत प्रभावकारी देखिनु पर्ने हो। तर, सडक छोडेर नेविसंघ सानेपामा झगडा गर्न मै व्यस्त देखिएको छ।
प्रतिपक्षीको भूमिका कांग्रेस कमजोर देखिएको टिप्पणी भरहेका बेला नेविसंघ राष्ट्रिय मुद्धा छाडेर आन्तरिक लफडामा लाग्नु कुबाटोको यात्रा रहेको पूर्वअध्यक्षहरुकै टिप्पणी छ। ‘सरकार एकपछि अर्को काण्डमा फसेको छ। यस्तो बेला कांग्रेसले सदन र सडक दुवैमा बलियो उपस्थिती देखाउनुपर्ने हो,’ पूर्वअध्यक्ष धनराज गुरूङ भन्छन्, ‘तर सडकमा उत्रनुपर्ने नेविसंघलाई सानेपामा एकआपसमा भिडाएर हामीले कुन बाटो हिढाउँदै छौ?’
कांग्रेस भन्छ– नेविसंघले चाँडै नेतृत्व पाउँछ
पार्टीले भने नेविसंघको किचलो अब लामो समय नरहने दाबी गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नेविसंघले नेतृत्व पाउने बताए। ‘नेताहरुबीच भएको एकखालको सहमति बाहिरै आइसकेको छ,’ उनले भने, ‘अब को–के हुने भन्ने विषयको टुंगो लागेपछि नेविसंघले नेतृत्व पाउँछ।’
नेविसंघभित्र देखिएको विग्रहलाई कसरी समधान गर्ने त? भन्ने प्रश्नमा पूर्वअध्यक्ष समेत रहेका शर्माले गम्भिरतापूर्वक छलफल गरेर सबै समस्या समधान हुने बताए। ‘अहिले जे–जस्ता समस्या देखिएका छन्। त्यसमा गम्भिरतापूर्वक छलफल गरेर समस्या समधान गरेर हार्दिकतापूर्ण सम्बन्ध स्थापित गर्ने छौं,’ शर्माले भने।