Kathmandu Press

अग्नि सापकोटा : हेड सरदेखि सभामुखसम्म 

काठमाडौं, माघ १२ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा प्रतिनिधि

अग्नि सापकोटा : हेड सरदेखि सभामुखसम्म 

काठमाडौं, माघ १२ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। 

आइतबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सभामुखमा निर्वाचित भएको घोषणा गरेको हो। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने गरेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मतीले पारित गरेको थियो। 

प्रस्तावको समर्थकको रुपमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले रहेका थिए। जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभा बैठकको अध्यक्षता ग्रहण गरेका राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए।

Hardik ivf

संविधान जारी भएपश्चात् भएको निर्वाचनपछि उनी दोस्रो सभामुखकारूपमा प्रतिनिधिसभा छिरेका हुन्। यौन दुव्र्यवहारको मुद्दा खेपिरहेका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोज १५ यता सो पद रिक्त थियो। 

सभामुख पदका लागि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। गत सोमबार नेकपाका तर्फबाट सापकोटाले सभामुखमा उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएको थिएन।

को हुन् सापकोटा ?

२०१४ फागुन २४ को कुभिन्डेमा जन्मिएका सापकोटा हाल नेकपाको स्थायी समिति सदस्य हुन्। शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका सापकोटाले शिक्षक रहँदा सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १४ वर्ष पढाएका थिए भने सात वर्ष सोही विद्यालयको प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेका थिए। 

सिन्धुपाल्चोककै बाघभैरव माविका पूर्वशिक्षक समेत रहेका सापकोटा शिक्षण पेशामा रहँदै  नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए। २०२९ साल ताका नै उनी राजनीतिमा लागेका थिए। तर, २०३५ सालमा भने उनले नेकपा चौथो महाधिवेशनका बेला सदस्यता लिएका थिए।

०४८ सालमा शिक्षण पेशा छोडेर राजनीतिमा सक्रिय भएका सापकोटा सोही वर्ष संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बने तर, पराजित भए।  उनी पटक–पटक गरी दुई वर्ष जेल बसेका छन्।

प्रचण्डका खास सहयोगी

सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खास सहयोगी मानिन्छन्। प्रचण्डलाई संकट पर्दा प्रचण्ड अग्निको गृहजिल्ला सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्ट पुग्ने गरेका छन्। त्यो बेला प्रचण्डसँगै हुने एक्ला नेता उनै सापकोटा हुन्छन्।

सुकुटे रिसोर्टमा प्रचण्डलाई रिफ्रेसमेन्टको चाँजोपाँजो समेत सापकोटाले नै मिलाउँदै आएका छन्। ०४८ सालमा प्रचण्ड नेकपा एकता केन्द्र महामन्त्री बनेपछि प्रचण्ड र सापकोटाको सम्बन्ध सुरु भएको हो। प्रचण्डले ०५१ सालमा नेकपा माओवादी गठन गरे। त्यही बेला सापकोटा माओवादीको केन्द्रीय सदस्य बनेका थिए। 

०५२ फागुन १ गतेदेखि सुरु भएको १० वर्षे सशस्त्र युद्धका बेला उनी प्रचण्डको  दाहिने हात भएर काम गरेका थिए। खासगरी प्रचण्डलाई अप्ठ्यारो परेका बेला सापकोटाले साथ दिँदै आएका छन्। 

यस्तो छ सापकोटाको संक्षिप्त जीवनी

व्यक्तिगत विवरण

जन्म मिति र थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न.पा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यताः स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभवः
१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र पार्टीको नामः
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः

वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याएर निर्वाचित। देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार। संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशील।
वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री
वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एक मात्र सांसद।
वि.सं. २०७२ –नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
वि.सं. २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीन पटक संसद सदस्यमा विजयी 
संक्षिप्त राजनीतिक जीवन
वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन),
वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
वि.सं. २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,  
वि.सं. २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित 
वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी
वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते
वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य
वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१ – विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
वि.सं. २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्