आशाले रचेको इतिहास : पहिलाे मधेसी महिला एआईजी
काठमाडौं : मधेसकी छोरी आशा सिंहको बाल्यकाल भने काठमाडौैंमा बित्यो । उनले सानो गौचरनमा रहेको एउट
काठमाडौं : मधेसकी छोरी आशा सिंहको बाल्यकाल भने काठमाडौैंमा बित्यो । उनले सानो गौचरनमा रहेको एउटा सामान्य सरकारी विद्यालयमा कखरा सिक्न थालिन्।
बसाइँ काठमाडौं, तर आधा परिवार मधेशतिरै थियो । उनी पनि मीनपचासको विदा हुनासाथ सर्लाही जान्थिन् । साथीहरूसँग देहात डुल्थिन् । आँपका रुखहरूमुनि छिचिमिरा र पुतलीहरू समाउँथिन् । कागजको डुंगा बनाएर भैंसी नुहाउने पैनीमा तैराउँदै रमाउँथिन्।
सानो छँदा मधेसमा बिताएका ती उन्मुक्त पलहरू सम्झिँदा अहिले पनि उनी नोष्टाल्जिक हुन्छिन् । उनी ती निश्छल सखाहरू सम्झिन्छन्, जसको मायाले हरेक हिउँदमा उनलाई डोर्याउँदै मधेसका खेत–खलयानहरूसम्म पुर्याउँथ्यो।
कक्षा ९ मा पढ्दा सर्लाहीकी एक किशोरी उनकी सबैभन्दा मिल्ने साथी भएकी थिइन् । तर, ती सखाले स्कुल सिध्याउन पाइनन् । परिवारले छिट्टै उनको विहे गरिदियो ।
एसएलसी परीक्षा दिएपछि आशा ती सखा भेट्न सर्लाही पुगिन् । तर, उनको मृत्यु भइसकेको रहेछ, बच्चा पाउन नसकेर । सायद उनका प्रजनन् अङ्गहरू विकसित भइसकेका थिएनन्।
भिडियाे
त्यो घटनाले आशालाई धेरै दिनसम्म भावुकमात्रै बनाएन, नेपाली समाजमा छोरी–महिलाको स्थान र महत्वबारे सोच्नसमेत बाध्य पा¥यो । उनले सोचिन् – महिलाहरू अझै आफ्नो जीवन र भविष्यबारे निर्णय लिन स्वतन्त्र छैनन्, मधेसी महिलाहरू त अझ बढी अरुको चाहनाद्वारा निर्देशित छन्, आफ्नो खुट्टामा आफैं उभिने हो भने हामीले उच्च शिक्षा हासिल गर्नैपर्छ।
पढाईमा मेधावी आशाले चिकित्साशास्त्र पढिन् । बच्चा जन्माउन नसकेर ज्यान गुमाएकी सर्लाहीकी ती अबोध बालसखाजस्ता महिलालाई जोगाउन उनी स्त्री रोग विशेषज्ञ भइन्।
उनले निजी अस्पतालमा जागिर खाएर धेरै पैसा कमाउन सक्थिन्, तर नेपाल प्रहरीमा भर्ना भई महिला प्रहरी र प्रहरी–परिवारका महिला सदस्यहरूको सेवा गर्ने अप्ठेरो तर आत्मसन्तुष्टि हुने बाटो रोजिन्।
माओवादीले राज्यविरुद्ध युद्ध सुरू गरेकै वर्ष अर्थात् विक्रम सम्वत् २०५२ मा नेपाल प्रहरीमा इन्सपेक्टर पदमा भर्ना भएकी आशा सिंह झण्डै अढाई दशकको अथक परिश्रमपछि एआईजी बन्न सफल भएकी छिन् । उनी नेपाल प्रहरीको यति उच्च ओहोदामा पुग्ने पहिलो मधेसी महिला हुन्।
गृह मन्त्रालय, लोक सेवा आयोग र नेपाल प्रहरीका प्रतिनिधिहरू सम्मिलित बढुवा समितले आशा सिंहलाई पुस १६ गते एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा समितिको त्यो सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि बुधबार आशाले एआईजीको फुली लगाएकी छन् र नयाँ इतिहास रचेकी छन्, पहिलो मधेसी महिला एआईजी।
नेपालको आधा जनसंख्या महिला भए पनि नेपाल प्रहरीमा महिलाको संख्या अत्यन्तै न्यून छ । सन् २०१५ मा नेपाल प्रहरी आफैंले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल प्रहरीमा सेवारतमध्ये ७ प्रतिशतमात्रै महिला छन् । तीमध्ये अधिकांश तल्लो दर्जाका छन् । अहिलेसम्म कुनै महिला नेपाल प्रहरी प्रमुख भएका छैनन् ।
प्राविधिकतर्फको एआईजी पदसम्म पनि यसअघि एक मात्रै महिला पुगेकी छिन्, डा. दुर्गा थापा । उनीपछि एआईजी हुने महिला नै डा. आशा सिंह हुन्।
हाल ५३ वर्ष पुगेकी डा.आशा सिंहले कुनै दिन नेपाल प्रहरीको दोस्रो उच्च ओहोदामा पुग्छु भन्ने सपना देखेकी थिइन् त ? उनी भन्छिन्, ‘त्यो त धेरै टाढाको कुरा भयो, मैले त प्रहरीमा जागिर खान्छु भन्ने पनि सोचेकी थिइनँ । मलाई प्रहरीहरू अर्कै ग्रहबाट आएका प्राणी हुन् जस्तो लाग्थ्यो।’
अमृत साइन्स क्याम्पसबाट आईएस्सी पास गरेपछि उनी एमबीबीएस पढ्न भारतको नयाँ दिल्ली पुगिन् । एमबीबीएस पढ्दा–पढ्दै उनको विहे एक डाक्टरसँगै भयो । पढाई सकेपछि उनी श्रीमान्सँग काठमाडौं आइन् र टिचिङ हस्पिटलमा स्त्री रोग विशेषज्ञको रूपमा काम गर्न थालिन्।
काठमाडौंमा घर थिएन, उनी डेरामा बस्थिन् । डेराको जिन्दगीले वाक्क भएकी थिइन् । त्यस बेला एक साथीले उनलाई सल्लाह दिइन् – वीरेन्द्र प्रहरी अस्पतालमा जागिर खायो भने बहालमा बस्नु पर्दैन, त्यहीँ क्वार्टर पाइन्छ।
त्यो साथीको सल्लाह मानेर उनले नेपाल प्रहरीमा इन्सपेक्टर पदमा आवेदन दिएकी थिइन् । नाम पनि निकालिन् । त्यसबेला प्रहरी अस्पतालमा गाइनोकोलोजी विभाग थिएन । त्यसको दुई वर्षपछि मात्रै यो विभाग स्थापना भयो।
सुरूमा क्वार्टर पाइन्छ भनेर प्रहरी अस्पतालमा जागिर खान थालेकी डा. आशा सिंहले विस्तारै आफ्नो कामको महत्व र मर्यादा बुझ्न थालिन् । उनी भन्छिन्, ‘बर्दीमा विरामीको सेवा गर्दा मन गर्वले फुल्दो रहेछ ! त्यसैले, मैले दायाँ–बायाँ नहेरी आफ्नो काममात्रै गरिरहेँ।’
इन्सपेक्टरको तलब त्यो बेला कति नै हुन्थ्यो र ! कतिपयले उनलाई प्रहरीको जागिर छाडेर निजी अस्पतालमा काम गर्ने सल्लाह नदिएका होइनन्, तर उनी भन्थिन्, ‘प्रहरीमा जागिर खाँदा तलब कम हुन्छ भन्ने त मलाई पहिले नै थाहा थियो नि ! म पैसाका लागि नभई सेवा गर्न यहाँ आएकी हुँ।’
एआईजीमा बढुवाका लागि सिफारिस भएपछि काठमाडौंप्रेसले उनलाई सोधेको थियो – तपाईंको शक्ति के हो ? उनको जवाफ थियो – ‘कसैको दबाबबिना आफैंले कोरेको घेरात्रि रहेर निश्चिन्त भई काम गर्नु नै मेरो शक्ति हो।’
प्रहरी अस्पतालमा गाइनोकोलोजी विभाग स्थापना हुँदा माओवादी युद्ध देशको सबैभन्दा ठूलो त्रासदीमा परिणत भइसकेको थियो । दिनदिनै बमहरू पड्किन्थे, भीडन्तहरू हुन्थे र नेपाली दाजुभाइहरू एक–अर्काको हातबाट मारिन्थे । त्यो बेला उनको आफ्नै मिशन थियो – देशभरि छरिएका प्रहरी परिवारका महिला सदस्यहरूलाई प्रहरी अस्पतालबाट गाइनोकोलोजी सेवा पनि पाइन्छ भन्ने जानकारी दिनु !
यो सूचना प्रवाह गर्न उनी युद्धका बाछिटाहरू बीच देशका कुना–कुनासम्म शिविर सञ्चालन गर्न पुगिन् । त्यो बेला उनलाई हरेक दिन ७०–८० जनासम्म महिलाको शल्यक्रिया गर्ने जाँगर थियो । एकै दिन त्यति धेरै शल्यक्रिया गर्दा पनि उनले कहिल्यै थकान महसुस गरिनन् । भन्छिन्, ‘जब कसैले भरोसा गरेर आफ्नो जीउ काट भनी मलाई अनुमति दिन्छ, तब त्यो भरोसाले मलाई जतिसुकै थकानमा पनि काम गर्ने उर्जा दिन्छ।’
नौ वर्ष अनवरत काम गरेपछि डा. आशा सिंहले अध्ययन विदा लिइन् र एमडी गर्न थालिन् । त्यस बेला एमडी गर्ने सहपाठीहरू उमेरले उनीभन्दा निकै जुनियर थिए, ती सबैलाई पछि पार्दै उनले एमडीमा गोल्ड मेडल ल्याइन् । र, फेरि प्रहरी सेवामा फर्किइन्, उनी लगन तर अझ बढी योग्यतासहित।
एआईजीमा बढुवाका लागि सिफारिस भएपछि डा. आशा सिंहले भावुक हुँदै मधेसका ती सबै सहेलीहरूको सम्झना गरिन्, जसले पढ्न पाएनन्, जसको सानैमा विवाह भयो । ती सहेलीको त झन् बढी याद आयो, जो बच्चा पाउन नसकेर मरिन्।
उनी आफैंसँग गम्न थाल्छिन्, ‘पढ्न नपाएको भए म आज कहाँ हुन्थे होला !’
डा. आशा सिंह सधैं एकपछि अर्को लक्ष्य प्राप्तिमा अघि बढिन् – एमबीबीएस गर्ने, प्रहरी अस्पतालमा गाइनोकोलोजी विभाग बनाउने, एमडी गर्ने । अब भने उनको लक्ष्य छ – प्रहरी अस्पताललाई देशकै नमूनामा अस्पतालमा रुपान्तरण गर्ने !
उनको संघर्षलाई सलाम ! उनको नयाँ मिशनलाई शुभकामना !