उपसभामुख– नेकपाको ढोका बन्द, अब कांग्रेस की राजपा?
काठमाडौं, माघ ६ : सभामुख कस्लाई बनाउने भन्ने विवाद एक महिनापछि सुल्झाएसँगै उपसभामुख को हुने भन्ने रस
काठमाडौं, माघ ६ : सभामुख कस्लाई बनाउने भन्ने विवाद एक महिनापछि सुल्झाएसँगै उपसभामुख को हुने भन्ने रस्साकस्सी सुरु भएको छ।
संविधानमा सभामुख र उपसभामुख एकै दलको हुन नपाउने व्यवस्था गरेपछि नेकपाइतरबाट उपसभामुख हुने निश्चित छ । संविधानको धारा ९१ को २ मा भनिएको छ, ‘सभामुख र उपसभामुखको निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ।’
नेकपाले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेको भोलिपल्टै उपसभामुख शिवमाया तुम्वाहाम्फेले ‘राजिनामा नदिने’ अडान फेरेर राजिनामा गरिसकेकी छन्। उपसभामुखमा पनि तुम्वहाम्फेले मार्गप्रसस्त गरेसँगै नेकपाभित्र कुन दललाई उपसभामुख दिने भन्ने ‘कोठे बैठक’ सुरु हुन थालेका छन्।
यद्यपी उपसभामुख कुन दललाई दिने भन्ने औपचारिक छलफल भने भइनसकेको नेकपाका बरिष्ठ नेता झलनाथ खनाल बताउँछन् । ‘उपसभामुखको विषयमा औपचारिक छलफल हुन बाँकी छ । संविधान अनुसार सभामुख हामीले पाएपछि उपसभामुख अर्को दलले पाउँछ,’ उनले भने, ‘त्यसैले राजपाले उपसभामुख पाउने सम्भावना धेरै छ ।
तर संसदमा स्पष्ट बहुमत भएकाले नेकपाले आफ्नो दलबाट नभएपछि आफुले चाहेको र भोली हुन सक्ने संसदको अंकगणित हेरेर निर्णय गर्न सक्ने देखिन्छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सरकार गठनभएदेखिकै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको दुरी नघटेको, समाजवादी पार्टी भर्खरै सरकारबाट बाहिरिएको र राष्ट्रिय जनता पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेकाले कुन दलले उपसभामुख पाउँछन अस्पष्ट छ ।
यद्यपी प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा बहुमतमा नभएपछि सभामुखमा उम्मेदवार दिने तयारी गरेको छ। नेकपाले सभामुखको उम्मेदवार चयन गर्नै लामो समय लगाएको र तुम्बाहाम्फेले सोमबार मात्रै राजिनामा दिएकाले दलहरु यस विषयमा गम्भिर छलफल गरिसकेका छैनन्।
तर, पनि पछिल्लो समय समाजवादी पार्टीलाई सरकार बाहिर धकेलेर राजपासँग राष्ट्रिय सभा निर्वाचनमा नेकपाले समिकरण बनाएकाले उपभामुख उसैले पाउने हो की भन्ने बुझाई नेताहरुको देखिन्छ।
नेकपा र राजपाबीच २ पुसमा माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । उपसभामुख राजपाले लिने नेकपासँग गोप्य सहमति भएको हो भन्ने प्रश्नमा राजपाका अध्यक्षमण्डलका नेता अनिल झा भन्छन्, ‘हामीले त सभामुख नै चाहेका हौं । उपसभामुखमा हामीले दावी गरिसकेका छैनौं, छलफल पनि भएको छैन । नेकपाले कृपा गरेर दियो भने राम्रै हुन्छ।’
पर्ख र हेरको अवस्थामा कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अहिले पर्ख र हेरको अवस्थामा छ । कांग्रेसले सभामुख सत्तारुढ दलले पाउँदा उपसभामुख प्रतिपक्षीले पाउनुपर्ने ‘शक्ति सन्तुलनको सिद्धान्त’ नेकपालाई पटक पटक सम्झाउँदैआएको छ । तर प्रधानमन्त्री ओली लोकतन्त्रका सिद्धान्तभन्दा पनि व्यक्तिगत स्वार्थ र नाफाघाटामा विश्वास गरेर अघि बढेकाले उपसभामुख कांग्रेसले पाउँछ भन्नेमा प्रतिपक्षी आशावादी छैन।
‘सत्तारुढले सभामुख पाउँदा उपसभामुख प्रतिपक्षले पाउनुपर्छ । सोही अनुसार सहमति होस् भन्ने हाम्रो चाहाना हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो हुन सक्यौ भने संसद सत्ता र प्रतिपक्षीकै हुन्छ र त्यसले राम्रो सन्देश पनि जान्छ । तर, त्यसो नभए हामी उपयुक्त निर्णय लिन्छौं ।’
उनले उपसभामुख आफ्नो दलले नपाए सभामुखमा उम्मेदवारी दिने बताए । तर, उपसभामुख कांग्रेसले पाउने सहमति बने सभामुखमा उम्मेदवारी नदिने जनाएको छ । ‘एउटै दलबाट दुवै पदमा उम्मेदवारी दिन मिल्दैन,’ उनले भने, ‘त्यसैले हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछौं ।’ नेकपा र राजपाबीच चुनावी तालमेल भएपछि सरकार छोडेको समाजवादी पार्टीले उपसभामुख पाउने सम्भावना न्यून छ । पछिल्लो समय समाजवादीको नेकपासँगको सम्बन्ध चिसिएको छ । समाजवादी पार्टीले पुस ८ मा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छोडेको थियो।