‘सपनाको महानगरमा पुग्न अझैं बाँकी छ’
काठमाडाैं, माघ १ : काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले एक सय दिनमा पूरागर्ने वाचासहित १०
काठमाडाैं, माघ १ : काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले एक सय दिनमा पूरागर्ने वाचासहित १०१ कार्यक्रम घोषणा गरेका थिए। उनी मेयर निर्वाचन भएको एक हजार दिन पूरा भएको छ। त्यसमा आधाभन्दा बढी सुरुआत नै भएका छैनन्।
सुरु भएका केही कार्यक्रम पनि अलपत्र अवस्थामा छन्। यसै विषयमा केन्द्रीय भएर मेयर विद्यासुन्दर शाक्यसँग काठमाडौं प्रेसका तीर्थराज बस्नेतले कुराकानी गरेका छन्।
मेयर शाक्यसँग गरिएको कुराकानी उनकै शब्दमा :
निर्वाचनपछि सय दिनमै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थियौँ। सबै पूरा भएका छैनन्, तर थोरै भए पनि परिवर्तन भइसकेको छ। सपनाको महानगरमा पुग्न अझैं बाँकी छ। त्यहाँ पुग्न हामी मिहिनेत गरिरहेका छौँ।
फोहोर व्यवस्थापनको स्थायी समाधानतर्फ अघि बढेका छौँ। बन्चरेडाँडामा अब फोहोर जान्छ। ट्राफिक जाम कम गराउन साना सवारीलाई व्यवस्थापन गर्न लागेका छौँ। विद्युतीय सवारीका लागि १० करोड छुट्याएका थियौँ। प्रदेश सरकारले ३० करोड दिएको छ। ललितपुर महानगरले साढे दुई करोड र साझा यातायातले साढे दुई करोड गरी ४५ करोड जुटायौँ। संघीय सरकारले तीन अर्ब दिएको छ। खरिद प्रक्रिया अहिले अल्झिएकाे भएपनि अब अघि बढ्ला।
याे पनि : विद्यासुन्दरका १०१ घोषणा : सय दिनका बाचा हजार दिनसम्म पनि अलपत्र
अब महानगर क्षेत्रमा साना सवारी आवश्यक छैन। सुविधासम्पन्न एसीसहितको बस चाहिन्छ भनेका छौँ। पार्किङ व्यवस्थापन गर्न लागेका छौँ। पिक एन्ड ड्रप सुरु ग¥यौँ। अहिले देशैभर लागू हुँदै छ। सुरुआतमा विवाद भएको थियो। अहिले त्यसले जाम घटाउन सहयोग गरको छ। स्मार्ट पार्किङ सुरू गरेका छौँ।
सम्पदा पुनर्निर्माणका क्षेत्रमा पनि ध्यान केन्द्रित गरेका छौँ। काष्ठमण्डप बनाउने विषयमा सुरूआतमा विवाद भयो। अहिले नमुनाका रूपमा काष्ठमण्डप पुनर्निर्माण काम भइरहेको छ।
रानीपोखरीमा लामो विवाद भयो, तर अहिले हामीले जे भनेका थियौँ, त्यसरी नै काम भइरहेको छ। कमलपोखरी रानीपोखरीभन्दा आकर्षक ढंगले बन्छ। धरहरा पुनर्निर्माणका विषयमा पनि अवरोध नआएका होइनन्, धरहरा अब जसरी पनि बन्छ।
वर्षाले महानगरका धेरै सडक बिगारेको छ। मेलम्ची र सडक विभागसँग सहकार्य गरिरहेका छौँ। पानी पर्न रोकिएपछि खाल्डा पुर्ने अभियान चलाउँछौँ।
मोनोरेल डिपिआरको चरणमा छ। ब्रुमरमार्फत धुलो नियन्त्रण गर्न लागिपरेका छौँ। हरियाली प्रवद्र्धनका लागि पार्क निर्माण गरिरहेका छौँ। काम अघि बढाउन खरिद प्रक्रिया र कर्मचारी प्रशासनका कारण समस्या परिरहेको छ। झन्झटिलो प्रक्रियाका कारण भएको पैसा पनि खर्च गर्न सकिएको छैन।
देशकै राजधानी भएकाले जान्ने–बुझ्ने यहीँ बस्छन्। केही काम नपाउँदा पनि प्राक्टिस गर्छन्। चर्चामा आउन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मेयरसम्मलाई गाली गर्छन्। ती गाली सुन्न र हेर्नसमेत नसकिने खालका हुन्छन्। केही व्यक्तिले गर्दा धेरै व्यक्ति मुछिएका छन्।
म मेयरको जिम्मेवारीमा रहँदा बदमासी गरेँ भने सिंगो पार्टी बदनाम हुन्छ। यस्तोमा केही समस्या छन्। मेरो पनि प्रतिपक्ष छ। म अघि बढ्न खोज्छु, प्रतिपक्षले खुट्टा तान्न खोज्छ। त्यो नबुझीकन अघि बढेँ भने राम्रो हुँदैन। यसका बाबजुद पनि म लक्ष्यमा पुग्ने प्रयासमा छु।
फेक आइडी बनाएर फेसबुक चलाएकाहरूले भ्रम फैलाइरहेका छन्। प्रमाण नै नभएको विषयमा लेखेका छन्। यस्तो प्रवृत्तिले काम गर्न समस्या बनाइरहेको छ।
मेयर भनेको अस्थायी हो, केही समयपछि जान्छ, तर महानगर त रहन्छ नि। महानगर बन्यो भने त्यही ठूलो हो। मेयर त विद्यासुन्दरपछि राम, श्याम आउन सक्छन् नि, तर जोसुकै आओस्, महानगर बन्नुपर्छ।