विद्यासुन्दरका १०१ घोषणा : सय दिनका बाचा हजार दिनसम्म पनि अलपत्र
काठमाडौं, माघ १ : एक हजार दिन अघि (०७४ वैशाख) काठमाडौंको माहौल छुट्टै थियो। बसन्त ऋतुमा स्थानीय तहको
काठमाडौं, माघ १ : एक हजार दिन अघि (०७४ वैशाख) काठमाडौंको माहौल छुट्टै थियो। बसन्त ऋतुमा स्थानीय तहको निर्वाचनले उम्मेदवारहरूलाई चुनावी प्रचारमा व्यस्त बनाएकाे थियाे। निर्वाचन जित्ने ध्येयका साथ जनतामाझ बाचा गर्नु उनीहरूको दैनिकी थियो। कतिले पूरा गर्न सकिने बाचा गरेका थिए भने कतिले सपना बाँडिरहेका थिए। जनतामाझ प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारको सूचीको पहिलो नम्बर थिए, विद्यासुन्दर शाक्य।
चुनावको समयमा उनले प्रतिवद्धताको ठेली नै जनतासामु पेस गरे। निर्वाचन ताका उनले १०१ घोषणा मात्रै गरेका थिएनन्, ती घोषणा एक सय दिन मै पूरा गर्ने बाचा समेत गरेका थिए। उनले काठमाडौं महानगरको बागडोर सम्हालेको एक हजार दिन बितेको छ। तर, चुनावका बेला उनले गरेको सबै प्रतिवद्धता अलपत्र परेका छन्।
राजधानीवासीलाई ठूलो आशा देखाएर महानगर प्रमुख निर्वाचित भएका शाक्यको आधाभन्दा बढी कार्यकाल बितिसकेको छ। तर, १०१ कार्यक्रममध्ये अधिकांश अलपत्र अवस्थामै छन्।
याे पनि : ‘सपनाको महानगरमा पुग्न अझैं बाँकी छ’
धुलो–धुँवा नियन्त्रण गर्ने उनको प्रमुख एजेन्डा नै असफल साबित भएको छ। निर्वाचनभन्दा अघि र अहिले काठमाडौंमा प्रदूषणको अवस्था उस्तै छ । बरु महानगरको बागडोर सम्हालेपछि उनी एकपछि अर्को विवादमा फसेका छन्।
सबैभन्दा धेरै बजेट भएको काठमाडौं महानगरको मेयरको कुर्सीमा पुगेपछि विद्यासुन्दर आफ्ना बाचा पूरा गर्न नभई एकपछि अर्को विवादमा तानिदै आएका छन्। उनले मेयरको कुर्चीलाई जनताको सेवकको रुपमा नभई शाशकको रुपमा बुझ्दा समस्यामाथि समस्या थपिएको उनका सहकर्मी गुनासे गर्न थालेका छन्।
नगरवासीको गुनासो बढ्न थालेपछि महानगरको सेवा प्रवाह, विकास निर्माणको गतिविधि बुझ्न केही समययता शाक्यले वडा–वडाको अनुगमन थालेका छन्। अनुगमनका क्रममा उनलाई स्थानीयले गुनासो पोखिरहेका छन्।
सुरू नै भएन् ५४ वटा कार्यक्रम
निर्वाचनताका मतदाता रिझाउन शाक्यले काठमाडौंलाई सफा, सुन्दर र समृद्ध शहर बनाउने घोषणा गरेका थिए। सडकका खाल्डाखुल्डी पुर्ने, ट्राफिक जाम हटाउनेदेखि स्मार्ट सिटीका रूपमा विकास गर्न संरचना बनाउनेसम्मका उनका घोषणा अहिले अलपत्र अवस्थामा छन्।
१०१ घोषणामध्ये ५४ वटा कार्यक्रम सुरू नै भएका छैनन्। त्यस्तै, १८ वटा घोषणा आंशिक कार्यान्वयन भएका छन्। २७ वटा घोषणा कार्यान्वयनमा आएका छन्। तीमध्ये पनि आधा प्रभावहीनजस्तै छन्।
शाक्यले घोषणा गरेकामध्ये धरहरा निर्माण र रानीपोखरी पुनर्निर्माणको काम हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ।
सुरूआत नै नभएका ५४ बाचा
१) विभिन्न क्षेत्रमा लगानी गर्न महानगरपालिकाको आफ्नै लगानीमा कम्पनी स्थापना गर्ने।
२) समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचना केन्द्र सुरू गरिने
३) विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ सञ्चालनका लागि अध्ययन गर्ने।
४) धर्मपथमा रहेको पुरानो काठमाडौं महानगरपालिकाको जग्गामा पूर्वस्वीकृत नक्साअनुसार, भवन निर्माण सुरू गर्ने।
५) भित्री शहरको हरेक पाँच सय मिटरमा र बाहिरी शहरमा आवश्यकताअनुसार, सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने। त्यस्ता सेन्टरमा महिला, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाब संकलन डेस्क, तौल नाप्ने (वेटिङ) मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्री वाइफाइको व्यवस्था गर्ने।
६) महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने।
७) ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने।
८) घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेफ्टी–ट्यांकी जडानको अभियान सुरू गर्ने।
९) ‘भोकरहित जनता शोकरहित महानगर’का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने।
१०) राजस्व अध्ययन बोर्ड बनाएर अनुसन्धान अध्ययन थाल्ने।
११) महानगरका विशेष स्थानमा भेइकल फ्री जोन घोषणा गर्ने।
१२) ‘काठमाडौं महानगर झिलिक्क ः घरघर टिलिक्क’ अभियान थाल्ने। सरकारी सार्वजनिक भवनमा रङरोगन गर्ने।
१३) नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने।
१४) महानगर र गोकर्णेश्वरको समन्वय÷सहकार्यमा ‘तारेभिर परियोजना’को प्रक्रिया अगाडि बढाउने।
१५) काठमाडौंको भित्री शहरका दक्षिणी भेगको ‘क्वःने’को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने।
१६) इन्टरनेसनल आर्ट र कल्चरल हब बनाउन सुरू गर्ने।
१७) भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाका लागि सर्वेक्षण गर्ने।
१८) कार पार्किङ मलको नीति बनाएर काम सुरू गर्ने।
१९) भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनार हुँदै केवल बसको सम्भाव्यता अध्ययन सुरू गर्ने।
२०) पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारमा रहेको बालुवा खानीलाई व्यवस्थापन गरी ‘पाशुपत सरोवर’ निर्माणका लागि पहल गर्ने।
२१) शहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने।
२२) ज्येष्ठ नागरिकका लागि घरघरमा निःशुल्क सेवाका लागि महानगरपालिकाका स्वयंसेवक परिचालन गर्ने।
२३) सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र÷व्यायाम÷योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदिसहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने।
२४) ‘हेलो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने।
२५) महानगरका सरकारी र सार्वजनिक ठाउँलाई ‘बाउन्ड्रीलेस गार्डेन’का रूपमा विकास गर्ने।
२६) घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिनाभित्र प्रदान गर्ने।
२७) महानगरपालिका भवन निर्माणको काम सुरू गर्ने।
२८) नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने।
२९) प्रेम दिवसलगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न बिरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने।
३०) छाडा जीवजन्तु तथा फोहोरमैलालगायत समस्या तत्काल समाधान गर्ने।
३१) महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रदर्शकसहितको सुविधासम्पन्न टुरिस्ट बस सञ्चालन गर्ने।
३२) तीनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरू गर्ने।
३३) अपांगतामैत्री पार्क निर्माणको काम सुरू गर्ने।
३४). ‘कौसी खेती तथा गार्डेन : घरघरमा जैविक तरकारी खेती’का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने। न्यून शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने।
३५) अव्यवस्थित र असुरक्षित भविष्यका कारण जीवनदेखिको निराशाका कारण बढ्दो मानसिक समस्या, रोकथाम र उपचारका लागि उचित प्रबन्ध गर्ने।
३६) हिंसापीडित महिलाको तत्काल उद्धार र पुनस्र्थापन गर्ने।
३७) तरकारी, फलफूल र खाद्यान्नमा विषादी प्रयोग नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने।
३८) राजधानी महानगरलाई देशका सबै नेपालीको साझा ‘मैत्रीनगर’का रूपमा विकास गर्न सातवटै प्रदेशका लागि प्रदेश भवन निर्माणका लागि प्रक्रिया थाल्ने।
३९) पुरानो बसपार्कमा प्रस्तावित काठमाडौं टावर निर्माणका सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरू गर्ने।
४०) महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने।
४१) स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरूको लगत संकलन गरी कार्ययोजना अगाडि बढाउने।
४२) परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने।
४३) मझौला तथा साना व्यवसाय सुरू गर्नेलाई लगानीमैत्री विनियमहरू बनाउन सुरू गर्ने।
४४) बागबजारमा रहेको भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने।
४५) डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापन सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने।
४६) भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने।
४७) ‘काठमाडौं स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशिघ्र काम सुरू गर्ने।
४८) हाइड्रोजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने।
४९) स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्यांकको स्थापना गरी काम थाल्ने।
५०) पत्रकारका लागि सम्पूर्ण व्यावसायिक सुविधासहितको सञ्चार केन्द्रको कार्ययोजना सुरू गर्ने।
५१) चौबिस घन्टे ‘जीवन्त शहर’को योजना बनाउने।
५२) महानगरमातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री कार्यालयका रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने।
५३) महानगरपालिकाको आफ्नै काठमाडौं महानगरपालिका विकास समिति स्थापना गर्ने।
५४) चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासंघका सहकार्यमा बृहत् प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने।
कार्यान्वयनमा आएका प्रमुख घोषणा
१) घोषणा : हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा तीन हजारलाई बढाएर पाँच हजार बनाउने। ८४ वर्ष पुगिसकेका व्यक्तिलाई १० हजारमा दुई हजार थपेर १२ हजार बनाउने (मेयरले गर्ने पहिलो निर्णय)। यसैगरी, सुविधाहरू क्रमशः बढाउन अध्ययन कार्यदल बनाउने। भत्ताको रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत सीधै पठाउने व्यवस्था गर्ने ।
काम : शाक्यले महानगरको पहिलो निर्णयबाटै ८४ वर्ष पुगेका व्यक्तिलाई महानगरले दिँदै आएको वार्षिक १० हजार भत्तालाई बढाएर १२ हजार रुपैयाँ पु¥याइदिए। अहिले घरघरमै पुगेर भत्ता वितरण हुने गरेको छ।
२) घोषणा : महानगर योजना आयोग गठन गरेर काम सुरू गर्ने।
काम : काठमाडौं महानगरपालिका शहरी योजना आयोग ऐन नै निर्माण गरेर अहिले आयोग बनिसकेको छ। आयोगले अहिले विभिन्न पार्क निर्माण, वसन्तपुर–स्वयम्भू सम्पदा मार्ग, सडक इन्भेन्ट्रीलगायत काम गरिरहेको छ। आयोगले ४४ आयोजनाको विस्तृत अध्ययन गरेर डिजाइन तयार गरिसकेको छ।
३) घोषणा : नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महानगरका संवेदनशील स्थलमा सिसिटिभी जडान गर्ने काम सुरू गर्ने।
काम : सिसिक्यामेरा जडानका लागि महानगरले प्रहरीलाई साढे पाँच करोडभन्दा बढी रकम दिइसकेको छ। प्रहरीले अहिले १६५ स्थानमा सिसिटिभी जडानको गरेको छ। संवेदनशील स्थान, प्रमुख चोक र भित्री गल्लीमा सिसिटिभी जडान गरिएको प्रहरीको भनाइ छ।
४) घोषणा: महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्ने।
काम : काष्ठमाण्डपको पुनर्निर्माण अहिले धमाधम भइरहेको छ। पहिलो तलाको काम सकिएको महानगरले जनाएको छ।
५) घोषणा : टोखा नगरपालिकासँग समन्वय÷सहकार्य गरेर टोखाका सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित वाणेश्वर ‘वाटर फल पार्क’ बनाउन प्रक्रिया अगाडि बढाउने।
काम : नगर साझेदारी कार्यक्रमअन्र्तगत महानगरले आसपासका १० नगरपालिकालाई पार्क निर्माण तथा हरियाली प्रवद्र्धनका लागि एक–एक करोड दिइसकेको छ। अहिले वाटरफल पार्कसँगै अन्य १० नगरले पनि पार्क निर्माण थालिसकेका छन्।
६) घोषणाः सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने।
कामः अहिले काठमाडौंमा जडित ट्राफिक लाइट मर्मत भइरहेका छन्। केही ठाँउका लाइट प्रयोगमा आएका छन्। केही दिन अघि मात्रै मेयर शाक्यले यथाशिघ्र ट्राफिक लाइट मर्मत गरी सञ्चालमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका थिए।
कार्यान्वयनमा नआएका प्रमुख घोषणा
१. भित्री शहरको हरेक पाँच सय मिटरमा र बाहिरी शहरमा आवश्यकताअनुसार, सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने। त्यस्ता सेन्टरमा महिला, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाब संकलन डेस्क, तौल नाप्ने (वेटिङ) मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्री वाइफाइको व्यवस्था गरिनेछ।
२. घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेफ्टी ट्यांकी जडानको अभियान सुरू गर्ने।
३. ‘हेलो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने।
४. ‘भोकरहित जनता शोकरहित महानगर’का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने।
अलमलमा पाँच घोषणा
घोषणा : ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुवाँधुलो न्यून गरेर ‘नो माक्स सिटी’को अभियानबाट सञ्चालन गर्ने।
अलमल : महानगरपालिकाले धुलो नियन्त्रणका लागि पाँच इटालियन ब्रुमर खरिद गरेको छ। चीनले दुईवटा ब्रुमर दिएको छ। थप दुई ब्रुमर किन्ने प्रक्रिया अघि बढेको छ। तर, महानगरमा धुलो र धुवाँ घट्न सकेको छैन।
घोषणा : ‘सही समय सही ठाम, नो ट्राफिक जाम’ अभियान सुरू गर्ने।
अलमल : रत्नपार्कआसपासमा महानगरले ‘पिक एन्ड ड्रप’ प्रणाली कार्यान्वयन गरेको छ। तर, त्यसबाहेक अन्य ठाउँमा ट्राफिक जाम हटाउन उल्लेखनीय कुनै काम हुन सकेको छैन। कोटेश्वर, थापाथली, चाबहिललगायत स्थानको ट्राफिक थप बढिरहेको छ।
घोषणा : काठमाडौंलाई प्लास्टिकमुक्त बनाउन प्लास्टिकका सामग्री व्यवस्थित रूपमा जम्मा गरेर राखेबापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने। कुहिने फोहोरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने र किन्ने व्यवस्थासमेत गर्ने।
अलमल : प्लास्टिकमुक्त बनाउन ठोस कदम महागनरले चालेको छैन। हाल महानगरका तीनवटा वडामा कुहिने र नकुहिने फोहोर छुट्टाएर फरक–फरक दिन संकलन गर्नेबाहेक अन्य काम अघि बढेको छैन।
घोषणा : ‘साइकल सिटी महानगर’को कार्ययोजना प्रारम्भ गर्ने।
अलमल : माइतीघर–तीनकुने रूटमा साइकल लेन बनाउने भन्दै अध्ययन गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन।
घोषणा : मेलम्ची आयोजनालगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधि प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माण गर्ने। केही समय अघि प्रधामन्त्री केपी शर्मा ओलीले दुई महिनाभित्र काठमाडौंका सडक खाल्डारहित बनाउन निर्देशन दिएका थिए। अहिले सडकका खाल्डा पुर्ने अभियान नै चलेको छ।
अलमल : मेलम्ची खानेपानी आयोजनाले अहिले पनि पाइप बिच्छाइरहेको छ। मेलम्चीले खनेको ठाउँबाहेकका सडकमा समेत खाल्डाखुल्डी छन्। सडक विभागसँग सहकार्य गरेर खाल्डामुक्त सडक बनाउने काममा महानगर चुकेको छ।
(काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको अन्तर्वार्ता केहीवेरमा प्रकाशित हुनेछ)