Kathmandu Press

सर्वोच्चको अन्तरिम आदेशकै भरमा पाँच वर्षदेखि १४ क्यासिनो निर्वाध सञ्चालन

काठमाडौं, पुस २३ : सर्वोच्च अदालतको अन्तरिम आदेशकै भरमा पाँच वर्षदेखि १४ क्यासिनो निर्वाध संचालन भइर

सर्वोच्चको अन्तरिम आदेशकै भरमा पाँच वर्षदेखि १४ क्यासिनो निर्वाध सञ्चालन

काठमाडौं, पुस २३ : सर्वोच्च अदालतको अन्तरिम आदेशकै भरमा पाँच वर्षदेखि १४ क्यासिनो निर्वाध संचालन भइरहेका छन्। उनीहरुले अदालतकै आदेशलाई देखाएर कर पनि तिर्न छाडेका छन्। सबै क्यासिनाको अहिलेसम्म ८४ करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको छ। 

देशभरका विभिन्न होटलमा चार जनाले १४ क्यासिनो चलाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ वैशाख ५ गते विभिन्न होटलमा सञ्चालन भइरहेका क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो। त्यहिअनुसार, सबै क्यासिनो बन्द गर्न निर्देशन दिएको थियो। तर, क्यासिनो सञ्चालक भने त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।

सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो। २०७२ फागुन १५ गते दिएको अन्तरिम आदेशमा निवेदकलाई यथावत पेशा, रोजगार र व्यवसाय सञ्चालन गर्न दिनु भनिएको थियो।

Hardik ivf

सर्वोच्च आदेशका भरमा क्यासिनो त संचालक गरेका छन् नै कर समेत तिर्न छाडेका छन्। सबै क्यासिनोले कर पनि नतिरेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे बताए। ‘क्यासिनो सञ्चालन भइरहेका छन्। सरकारलाई बुझाउनु पर्ने रोयल्टी रकम पनि बुझाएको छैन,’ महानिर्देशक घिमिरेले भने।

क्यासिनो सञ्चालकहरुले पाँच वर्षयता कर बुझाएका छैनन्। उनीहरुले बुझाउनु पर्ने कर बढ्दै गएको विभागले जनाएको छ। विभागका अनुसार, क्यासिनोहरुले तिर्नु पर्ने मंसिर मसान्तसम्म ८४ करोड ६४ लाख १९ हजार तीन सय ६३ रुपैयाँ पुगेको छ।

त्यसयता क्यासिनो संचालकहरु विभागको सम्पर्कमा समेत आएका छैनन्। रक इन्टरनेसनल प्रालिले र्‍याडिसन होटलमा सञ्चालन गरेको क्यासिनो र्‍याडका सञ्चालक किसोर सिलवाल र उषा सिलवाल तथा होटल एभरेष्टमा सञ्चालन गरिएको क्यासिनोका सञ्चालक मशकुर अहमद लारी सम्पर्क नआएको पर्यटन विभागका महानिर्देशक घिमिरेले बताए। भूकम्पपछि बन्द भएको होटल एभरेस्ट संचालन भएपछि क्यासिनो भने बन्द नै छ।

त्यस्तै, होटल याक एन्ड यतिमा गील्ट इन्भेस्टमेन्ट प्रालिले सञ्चालन गरेको क्यासिनो रोयल, रक इन्टरनेसनल प्रालिले सञ्चालन गरेको चार वटा मिनी क्यासिनो, ह्याप्पी आवर प्रालिले सञ्चालन गरेको चार वटा मिनी क्यासिनो र सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको चार वटा सीएमजी क्लब (मिनि क्यासिनो)ले पनि कर तिरेका छैनन्।

कुन क्यासिनाको कति बक्यौता ?

अहिले चार जनाले देशका विभिन्न होटलमा १४ वटा क्यासिनो संचालन गरिरहेका छन्। गिल्ट इन्भेस्टमेन्ट प्रालिले होटल याक एन्ड यतीमा सञ्चालन गरेको रोयल क्यासिनोले २०७२ देखि रोयल्टी रकम बुझाएको छैन।

रोयलको मंसिर मसान्तसम्म १९ करोड ३८ लाख ५८ हजार रुपैयाँ बक्यौता रहेको छ। गील्ट इन्भेस्टमेन्ट प्रालिलाई सुरेन्द्रबहादुर सिंहले सञ्चालन गर्दै आएका छन्।

भेनस रिक्रियसन प्रालिले र्‍याडिसन होलटमा सञ्चालन गरेको क्यासिनो ¥याड (भेनस)ले २०७३ देखि कर बुझाएको छैन। किसोर सिलवाल र उषा सिलवाल सञ्चालक रहेको क्यासिनोको मंसिर मसान्तसम्म १८ करोड २९ लाख ८२ हजार बक्यौता रहेको छ।

रक इन्टरनेसनल प्रालिले चार वटा मिनी क्यासिनो सञ्चालन गरेको छ। चारै मिनी क्यासिनोले २०७१ देखि रोयल्टी रकम भुक्तानी गरेको छैन। चारै क्यासिनोको मंसिर मसान्तसम्म ११ करोड २६ लाख रुपैयाँ तिर्न बाँकी छ।

किशोर सिलवाल र उषा सिलवालले धनगढीको होटल साथी, वीरगञ्जको होटल सूरज, भैरहवाको होटल नान्स र काकडभिट्टाको होटल रियाजमा मिनी क्यासिनो सञ्चलन गरिरहेका छन्। उनीहरुले सञ्चालन गरेको एक क्यासिनो र चार मिनी क्यासिनोको २९ करोड ५५ लाख रुपैयाँ तिरेको छैन।

ह्याप्पी आवर प्रालिले संचालन गरेको चारवटा क्यासिनोले २०७१ देखि रोयल्टी रकम बुझाएको छैन। मंसिर मसान्तसम्म ह्याप्पी आवरले २६ करोड ३४ लाख रकम बुझाउन बाँकी छ।

ह्याप्पी आवर प्रालिलाई गोकर्ण लामिछाने, सुरेन्द्रवहादर सिह, भोजबहादुर बम, शारदा देवी सिंहले महेन्द्रनगरको होटल स्वीट ड्रिम, भैरहवाको होटल लाकौल, नेपालगञ्जको होटल स्नेहा र काकडभिट्टाको होटल ढाकामा चार वटा क्यासिनो संचालन गरेका छन्।

त्यस्तै, सेन्ट्रल मिडिया प्रालिले महेन्द्रनगरको होटल ओपेरा, वीरगञ्जको होटल भिस्वा, विराटनगरको होटल रत्ना, र काठमाडौंको होटल प्लाटिनियममा  सीएमजी क्लब (मिनि क्यासिनो) चलाइरहेको छ। तिनले पनि पाँच वर्षदेखि कर नतिरेको विभागले जनाएको छ।

यसैगरि, एभरेस्ट होटलमा रहेको क्यासिनाले पनि २०७१ देखि कर बुझाएको छैन। यस क्यासिनोले १० करोड ३५ लाख ६२ हजार पाँच सय रुपैयाँ कर तिरेको छैन। अहिले होटल संचालनमा रहेपनि क्यासिनो भने बन्द रहेको छ।

वार्षिक चार करोड कर

विभागका अनुसार, क्यासिनो संचालनका गर्नका लागि वार्षिक कर तिर्नुपर्छ। ठूला क्यासिनोका लागि चार करोड र मिनी क्यासिनोका लागि एक करोड कर तोकिएको छ।

यस अघि ठूलालाई तीन करोड र सानो क्यासिनोलाई ७५ लाख रुपैयाँ कर तोकिएको थियो। आर्थिक वर्ष २०७५र७६ देखि क्यासिनो कर बढाएको हो।

त्यस्तै, क्यासिनो संचालनका लागि पूँजि पनि तोकिएको छ। ठूलो क्यासिनो संचालन गर्न २५ करोड र सानो क्यासिनो सञ्चालन गर्न १५ करोड पूँजी हुनुपर्छ।

अहिले सानो र ठूलो गरि १४ क्यासिनो संचालनमा छन्। जसमा नौ वटा ठूलो र पाँच वटा मिनी रहेका छन्।

काठमाडौंमा लाजिम्पाटको होटल सांग्रिलामा एसएचएल म्यानेजमेन्ट सर्भिसेज, सोल्टी होटलमा माजोङ क्यासिनो, तारागाउँ रिजेन्सी (ह्यात होटल)मा क्यासिनो प्राइड नेपाल, दरबारमार्गमो होटल डेला अन्नपूर्णमा एट्लान्टिक रिक्रिएसन र लैनचौरको दि मल्ल होटलमा बेल्जीज नेपाल प्रालि संचालनमा छन्।

त्यस्तै, भैरहवाको टाइगर वन प्रालिमा टाइगर प्यालेस क्यासिनो, नेपालगञ्जको सोल्टी शिवक्रिम होटलमा इम्पेरियल इन्टरटेनमेन्ट, सिमराको होटल इच्छामा फोर क्वीन क्यासिनो र नेपालगञ्जको भ्यू होटल सिद्धार्थमा न्याकपोट ग्यामिङ सेन्टर प्रालि संचालन भइरहेका छन्।

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्