घान्द्रुक २० पटक घुमेर ‘द यूट्युब सिरिज’
काठमाडौं, पुस २१ : सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे । अझ सूर्योदयसँगै सूर्यास्तसम्म फेरि रहने हिमालक
काठमाडौं, पुस २१ : सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे । अझ सूर्योदयसँगै सूर्यास्तसम्म फेरि रहने हिमालका अनेक रुप। सुन्दर घान्द्रुक, कागबेनी, हिमाली जनजीवन, खच्चर, खेतिपातीसँगै गौतम बुद्धको ध्यानस्थ आकृति।
नेपाल कला परिषद्को ग्यालरीमा ‘द यूट्युब सिरिज’अन्तर्गत सजिएका यी कलाकृति अवलोकन गर्दा दर्शक जति मन्त्रमुग्ध देखिन्थे, त्यो भन्दा बढी मख्ख कलाकार बिके नरबहादुर थिए। दर्शकले कलाकृति अवलोकन गरिरहेका दृश्य नियाल्दै नरबहादुर मुस्कुराए, ‘मेरो सम्पत्ती भनेकै यहि खुशी हो।’
उनको एकल कला प्रदर्शनी ‘द यूट्युब सिरिज’लाई दर्शकले खुब मन पराए। हुन पनि उनले उतारेका प्रकृतिका सुन्दर आकृति मनै लोभ्याउने छन्। सगरमाथाको आकृति हेर्दा त्यही पुगेको जस्तो भान हुन्छ। हिमालको थरिथरि कलाकृतिले मन्त्रमुग्ध पार्छ। अझ सुन्दर घान्द्रुक गाउँले रोमाञ्चित बनाउँछ।
उनी कसरी कोर्दा हुन यस्तो रोमाञ्चित बनाउने आकृति? कलाकार नरबहादुर भन्छन, ‘जेको चित्र कोर्नुपर्ने हो, त्यसलाई प्रत्यक्ष अवलोकन गर्छु। हिमालको चित्र कोर्नु पर्यो भने हिमालमै पुग्छु। त्यसलाई महसुश गर्छु।’
त्यसको उदाहरण हो, घान्द्रुक। उनी घान्द्रुकलाई कलाकृतिमा उतार्न कयौं पटक त्यहाँ पुगेका छन्। ‘क्यानभास मिलाएर अब चित्र कोर्छु भनेर हे¥यो हुस्सुले छेकिहाल्छ। केहीबेर कु¥यो, फेरि अर्कै देखिन्छ,’ नरबहादुर भन्छन्, ‘हिमाल, पहाडको एउटा दृश्य कोर्न हप्तौ कुर्नु परेको छ। घान्द्रुक त २० पटक पुगेको छु।’
यो पटकको ‘द यूट्युब सिरिज’मा उनले १०५ वटा कलाकृति प्रदर्शनीमा राखेका थिए। जुन प्रकृतिसँगै सम्बन्धित थिए।
उनको कला देशभित्रका मात्रै होइन, बाहिरका दर्शकलाई पनि आकर्षित गरेको छ। उनले सन् २००६ मा कोरियामा नेपाली चित्रकला प्रदर्शनी गरेका थिए। त्यसयता थुप्रै देश घुमिसकेका छन्।
सन् २०१९ मा भारतमा भएको कला प्रदर्शनले भने उनका लागि अविस्मरणीय रह्यो। भारतमा एसियाली कलाकार सहभागी प्रदर्शनी थियो। एसियाका ५० कलाकारले सहभागी थिए। सबैले त्यही क्यानभास रंगाए।
उनले पनि क्यानभासमा काठमाडौंको दृश्य उतारे। यो उतार्न उनलाई ६ घण्टा लागेको थियो। त्यो कलाकृति उत्कृष्ट बन्यो। ‘यो कुरा थाहा थिएन्, जब मेरो कला उत्कृष्ट भयो, अचम्मित भएँ,’ उनले सुनाए।
उनका कलाप्रतिको लगाव सानैदेखि थियो। किताबका चित्रले उनलाई लोभ्याउथ्यो। त्यस्तै, बनाउन खोज्थे।
नवलपरासीको सरावलमा जन्मिएका नरबहादुरलाई सिनेमा हल बाहिर टाँसिएका ब्यानरमा कौतुहलता उब्जिन्थ्यो। यी चित्र कसरी बनाएको होला भन्ने सोच्थे। त्इहि चित्र बनाउन ठाउँ हेर्ने उद्देश्यले उनी २२ वर्ष अघि नवलपरासीबाट काठमाडौं आएका थिए।
काठमाडौं पुगेको दोस्रो दिनमा नै उनले चित्र बनाउने काम पाए। उनको अघि बलिउड अभिनेत्री माधुरी दीक्षितको फोटो राखियो र उनलाई चित्र कोर्न लगाइयो। उनले दुरुस्तै उतारे। त्यसपछि उनले कहिल्यै पछाडि फर्किनु परेको छैन।
उनी दिनमा ३६ वटासम्म क्यानभास रंग्याउँछन्। थरिथरि चित्र कोर्छन्। नरबहादुर भन्छन्, ‘धेरै सम्पन्न हुन्थे भने मेरो कुनै पनि सिर्जना बेच्ने थिइन्ँ। यति धेरै पनि बनाउदैन्थेँ।’
उनले गाह्रोसाह्रो झेले। आर्थिक अभावमा पनि हडबडाएनन्। चित्र कोर्न छोडेनन्। उनलाई नजिकबाट चिन्ने कलाकार सुदर्शन राणा भन्छन्, ‘नरबहादुलाई मान्नैपर्छ। काठमाडौं घरभाडामा बसेर गाह्रोसाह्रो दैनिकै चलाउंदै निरन्तर यहि पेशामा लागिरहनु भएको छ। यसरी लाग्नु भनेको चानचुने कुरा हैन।’
यतिवेला उनी नेपाल भम्रण वर्ष–२०२० मा आएका विदेशी पाहुनालाई उपहार दिने कोसेली हिमाल र बुद्वको चित्र कोर्न व्यस्थ छन्। उनलाई नेपाल भ्रमण वर्ष–१९९८ को याद छ। त्यतिवेला पनि विदेशी पर्यटक नेपालका कलाकृति हेर्न रुचाउथे। हिमाल र बुद्धका कलाकृति लगेर जान्थे।
भूकम्पछि केही कमि आएको छ। यो भ्रमण वर्षले पर्यटक र नेपाली कलाकारबीच बनेको दुरी घटाउने उनको विश्वास छ। ‘हिमाल र बुद्ध नेपाल भ्रमण वर्षको कोसेली हुन्छ,’ नरबहादुर भन्छन्।
उनीसँगै परिवारजन पनि चित्रमै रमाउन थालेका छन्। उनका पत्नी प्रमिला परियार र ५ वर्षीया छोरी आभा पनि चित्रकलामै लागेका छन्। उनी खुशी छन्। नरबहादुर भन्छन, ‘मन लागेको काम गर्नुपर्छ। आत्मसम्मानले बाच्नु नै ठूलो कुरा हो।’