Kathmandu Press

स्वर्ण पदक जित्दाको त्यो क्षण 

काठमाडौं, पुस १९ :  बाबुकाजी श्रेष्ठको भक्तपुरको ठिमीमा होटल व्यवसाय थियो।  शंखरधर चोकमा घ

स्वर्ण पदक जित्दाको त्यो क्षण 

काठमाडौं, पुस १९ :  बाबुकाजी श्रेष्ठको भक्तपुरको ठिमीमा होटल व्यवसाय थियो।  शंखरधर चोकमा घर भएपनि अलिक पर ठिमीमा रहेको बुवाको होटलमा छोरा मन्डेकाजी आइरहन्थे। बुवाले खुबै माया गर्थे मन्डेलाई। त्यही भएर बाबुकाजी प्राय मन्डेलाई औंला समाएर जहाँ गएपनि साथै लिएर जान्थे। 

बुवाको होटलभन्दा पारिपट्टी थियो ठिमी डोजो। जहाँ सिक्न आउने मान्छेहरुको अभ्यास देखेर मन्डेलाई पनि जाउँजाउँ लाग्थ्यो। एक दिन डोजो सिकिरहेको दृश्य नियालिरहेको देखेपछि बाबुकाजीले छोरा मन्डेलाई सोधे–‘तिमी पनि जान्छौं खेल्न?’ फुच्चे मण्डेकाजीले मुन्टो हल्लाए। भोलिपल्ट नै बाबुकाजीले छोरा मन्डेकाजीलाई डोजोमा भर्ना गरिदिए। मण्डेको कराँते करिअर त्यहीँबाट हो सुरु भएको।

ठिमी डोजोमा मन्डेलाई सजन महर्जनले कराँतेमा पाइला चाल्न सिकाए। विस्तारै उनले मन्डेलाई कराँतेमा अब्बल किशोरका रुपमा स्थापना गरे। मन्डेलाई अहिलेपनि ताजै लाग्छ ती बाल्यकालका दिन। ‘ठिमी डोजो हो मलाई हात समाएर कराँतेमा डोर्‍याउने त्यसका सारथी सजन महर्जन हुन्,’उनले भने।

साँच्चिकै अर्जुन जस्तो चेला मन्डेले कृष्ण जस्ता सारथीका रुपमा साजनलाई पाए। अनि होमिए कराँतेको महाभारतमा जहाँ उनले सफलता र असफलताका धेरै उकालीओराली पार गरे। ‘मैले कराँतेमा लागेर खुसीमात्रै पाएको छैन। कहिलेकाहिँ किन लागेछु भन्ने खालको वितृष्णाले पनि सताएको थियो,’ उनी भन्छन्। खेल जीवनको उतरार्धमा पाएको सफलताले भने उनमा उत्साह थपेको छ। भन्छन्–देशलाई खुसी दिलाउँदा जस्तो आत्मसन्तुष्टि अरु थोक केही गर्दा नपाइने रहेछ।

मन्डे तीनै खेलाडी हुन्, जसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। एकल कातामा पहिलो स्वर्ण दिलाएका मन्डेले टिम इभेन्टमा पनि स्वर्ण जिते। स्वर्ण जितेको क्षण सम्झिँदै मन्डे भन्छन्, ‘निशब्द थिएँ, स्वर्ण पदक जित्दा। ठूलो सफलता हात पारेपछि बोल्ने कुरा पनि नहुँदो रहेछ।’

त्यसो त उनले १३ औं सागको यो उपलब्धीका लागि कम मेहनत गरेका छैनन्। यो सफलतापछि अन्य धेरैको योगदान रहेको सम्झन्छन् मन्डे। राष्ट्रिय टिममा गंगाराम महर्जनले उनको हौसलामात्र बढाएनन्, स्वर्ण जिताउने गुरु मन्त्र नै दिए। नेपाल पुलिसमा आवद्ध भएपछि उनलाई साजन श्रेष्ठ, योगेन्द्र आचार्य, केदार सिम्खडा र राजेश श्रेष्ठले नियमित अभ्यास गराए। 

सागका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पमा बगाएको पसिनाको मूल्य उनलाई मात्रै थाहा छ। क्लोज क्याम्पमा परेदेखि नै निर्विकल्प पदक जित्ने लक्ष्यमात्रै थियो।
मन्डेलाई सर्वाधिक ठूलो विश्वास ११ औं सागमा थियो। उनी त्यतिबेला युवा स्टार थिए। ढाका सागमा बंगालादेशमा टिम काताका लागि छनोट भएका थिए।

तर खेल हुनु अन्तिम समयमा आयोजकले १० खेलाडीलाई मात्रै सहभागि गराउने निर्णय लियो। जो खेलाडी टिम इभेन्टमा सहभागिताका लागि छनोट भएका थिए उनीहरुले सहभागिता जनाउन पाएनन्।  व्यक्तिगत स्पर्धामा सहभागिता जनाउने खेलाडीले नै टिम कातामा पनि भाग लिए। २०१० को त्यो सागको पीडा उनले ९ वर्षपछि भुलाए।

मन्डे भन्छन्,‘११ औं सागमा छनोट भएर खेल्न नपाएको पीडा सम्झिँदा र १२ औं सागमा कराँते नै समावेश नगर्दा किन यो खेल रोजेछु भन्ने लागेको थियो। तर हिम्मत भने हारेको थिइनँ। लामो मेहनतको फल हात पार्दा निकै खुसी छु।’

दुई छोरीका पिता मन्डेलाई परिवारले कहिल्यै खेलबाट टाढा हुन दिएन। निरन्तर सहयोग गरिरह्यो। स्वर्ण जितेपछि अहिले मन्डेको व्यस्तता बढेको छ। उनलाई सबैभन्दा ठूलो खुसी कराँतेमा पाएको सफलताले आगामी पुस्तालाई कराँतेमा आउने बाटो खुलेको महसुस भएको छ।

‘नयाँ पुस्तालाई खेलमा आउने वातावरण बनेको छ। पहिले भन्दा धेरै कुरामा सुधार भएको छ। अझै पनि पर्याप्त त छैन तर पनि खेलेर केही हुने रहेछ भन्ने अवस्था चाहिँ बनेको छ,’उनी भन्छन्।

मन्डेले भने जस्तै १३ औं सागले नयाँ पुस्तालाई स्वभाविक आकर्षण गरेको छ। तर यो आकर्षण टिकाइ राख्न भने राज्यले थप अवसर सिर्जना गर्नु पर्छ। 
 

प्रकाशित मिति: ०४:१८ बजे, शनिबार, पुस १९, २०७६