अर्थमन्त्री खतिवडाको दिनगन्ती सुरू, नयाँ अर्थमन्त्री को ?
काठमाडौं, पुस १३ : अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्रियसभा सदस्यमा पुनः निर्वाचित हुने संभावना क्ष
काठमाडौं, पुस १३ : अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्रियसभा सदस्यमा पुनः निर्वाचित हुने संभावना क्षीण हुँदै गएको छ। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनित खतिवडाको पदावधि फागुन २० गते समाप्त हुनेछ।
नयाँ संविधानको प्रावधानअनुसार, संघीय सरकारमा मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनु अनिवार्य छ। सांसद् नरहेमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने संवैधानिक प्रावधान छ।
नेकपा स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडाको कार्यसम्पादनप्रति सन्तुष्ट छन्, तर पनि उनी खतिवडालाई राष्ट्रियसभामा दोहोर्याउने पक्षमा खुलेका छैनन्। फागुनमा सांसद् पद सकिए पनि नयाँ बजेट ल्याउँदासम्म उनैलाई पदमा कायम राख्ने कि भन्ने पनि एक पक्षको तर्क छ, तर हट्ने पक्का भएको अर्थमन्त्रीलाई काम गर्न सजिलो नहुने भएका कारण पनि नेकपाभित्र उनको विकल्पबारे चासो बढेको हो।
नेकपाभित्र नयाँ अर्थमन्त्रीका रुपमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हेर्न थालिएको छ। गत महिना भएको मन्त्रिमण्डल पुनर्गठनका वेला प्रधानमन्त्री ओलीले उनलाई उद्योगमन्त्री प्रस्ताव गरेको भए पनि उनले अर्थमन्त्री माग गर्दै मन्त्री बन्न अस्वीकार गरेका थिए।
अर्थमन्त्री खतिवडासहित राष्ट्रियसभाका १९ जनाको पदावधि फागुन २० गते समाप्त हुँदै छ। पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार, माघ ९ गते १८ जनाका लागि चुनाव तोकिसकिएको छ।
खतिवडा यसअघि मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनित भएकाले पुनः मनोनित हुनसक्ने अनुमान पनि नेकपाभित्र गरिँदै छ, तर तीन दशकभन्दा लामो समय राष्ट्र बैंकमा जागीर खाएर विशिष्ट श्रेणीबाट अवकाश पाएका उनी यसअघि एक कार्यकाल गभर्नर भइसकेका छन्।
राष्ट्र बैंकको गभर्नर हुनुअघि र पछि पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका उनी ‘राजनीति’मा नहोमिई पार्टीको केन्द्रीय सदस्यसहित सबैभन्दा बढी लाभको पद पाउनेमा पर्छन्। त्यसैले पनि उनलाई राष्ट्रियसभामा दोहोर्याउन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीका लागि सहज नहुने नेकपाका एक केन्द्रीय सदस्यले बताए।
अर्थमन्त्री खतिवडाले करिव २२ महिनाको कार्यकालमा दुई वटा बजेट ल्याइसकेका छन्। उनको कार्यसम्पादन क्षमतालाई विपक्षी दलका नेताहरूले समेत सराहना गरेका छन्। तर, उनी अर्थमन्त्ती भएदेखि शेयरबजार भने लगातार ओरालो लागेको छ। नेप्से परिसूचक झण्डै पाँच सय अंकले घटिसेकेको छ। शेयरबजारका खेलाडीहरू भने उनलाई अर्थमन्त्रीबाट हटाउन ‘लबिङ’ गरिरहेका छन्। प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रियसभा सदस्यमा दोहोर्याएर यो दबाब थेग्न नसक्ने पनि ती केन्द्रीय सदस्यको दाबी छ।
नेपालको संविधानको धारा ८६ को ३ अनुसार राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने उल्लेख छ। राष्ट्रियसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना भएको हो।
हाल ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाबाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी नेपालबाट एक र राष्ट्रिय जनता पार्टीबाट दुई सदस्यले प्रतिनिधित्व गर्छन्। नेकपाका नाै, कांग्रेसका ६, राजपाका दुई र समाजवादीका एक सदस्यको पदावधि सकिँन लागेको छ।
खुल्लातर्फ सात जना, महिलाबाट सात जना, दलितबाट दुई जना, अपाङ्गता भएका तथा अल्पसंख्यकबाट दुई जना सदस्यको पदावधि सकिदै छ। साथै सरकारको सिफारिशमा मनोनित भएका अर्थमन्त्री डा. खतिवडाको समेत फागुन २० मा पदावधि सकिने हुँदा त्यसपछिको अर्थमन्त्री काे बन्ने भन्नेबारेमा पनि बहस सुरु भएको छ।
राष्ट्रियसभाबाट बिदा हुने सदस्यहरु
डा.युवराज खतिवडा, सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित
कमलाकुमारी ओली, नेकपा
कालीबहादुर मल्ल, नेकपा
खेमराज नेपाली, नेकपा
बलराम बाँस्कोटा, नेकपा
मीना बुढा, नेकपा
युटोल तामाङ, नेकपा
राजकुमार कुवँर, नेकपा
हरिचरण शिवाकोटी, नेकपा
दुर्गाप्रसाद उपाध्याय, नेपाली कांग्रेस
धनकुमारी खतिवडा, नेपाली कांग्रेस
बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस
मुक्ताकुमारी यादव, नेपाली कांग्रेस
सरिता प्रसाईं, नेपाली कांग्रेस
सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस
रमेशप्रसाद यादव, राष्ट्रिय जनता पार्टी नेपाल
वृषेशचन्द्र लाल, राष्ट्रिय जनता पार्टी नेपाल
रामपृत पासवान, समाजवादी पार्टी




