स्टार खेलाडी साहुखलको कीर्तिमानी यात्रा
काठमाडौं, पुस १२ : कहिलेदेखि उनको जीवनमा फुटबल प्रवेश गर्यो ठ्याकै याद छैन, सन्तोष साहुखललाई। अर्था
काठमाडौं, पुस १२ : कहिलेदेखि उनको जीवनमा फुटबल प्रवेश गर्यो ठ्याकै याद छैन, सन्तोष साहुखललाई। अर्थात कहिलेदेखि फुटबल खेल्न थाले भन्ने कुराको त्यो बेलाको याद उनलाई छैन।
तर उनलाई एउटा क्षणको भने चाहिँ याद छ, त्यो हो– फुटबललाई जीवनको करिअर बनाएको। सानैमा दाजुको औंला समाएर खुट्टाले सकिनसकी बल प्रहार गरे।
तर ती निर्दोश बालकलाई के थाहा? फुटबल नै जीवन बन्छ भन्ने। तिनै सन्तोषले त्यसपछि भने फुटबललाई नै आफ्नो करियरकै रुपमा अघि बढाए। फुटबललाई नै आफ्नो जीवन ठानेका उनै साहुखल नेपाली फुटबलमा दुर्लभ रेकर्डको नजिक छन्।
साहुखल नेपाली फुटबल लिग इतिहासमा एउटा दुर्लभ रेकर्ड नजिक पुगिसकेका छन्। ९९ गोल गरिसकेका साहुखलले अब एक गोल गरे नेपाली लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेर कीर्तिमान बनाउनेछन्।
घरेलु लिग फुटबलमा सय गोल गर्ने सपना सन्तोषमा नभएको होइन। त्यसैले त उनी पछिल्लो १७ वर्षयता फुटबल खेलिरहेका छन्। सन्तोष भन्छन्,‘सायदै खेलाडीले सय गोल गर्छु भन्ने सपना देख्छन्। फुटबललाई प्यासन बनाउनेहरुका लागि यो एउटा सानो सपना हो।’
साहुखलले भनेजस्तै फुटबलमा १०० गोलको कीर्तिमानी खेलाडीका लागि निकै दुर्लभ हुन्छ। त्यसो त उतारचढावपूर्ण नेपालको ए डिभिजन लिगमा सय गोलको कोसेढुंगा पार गर्नु कुनै पनि खेलाडीका लागि कठिन यात्रा हो। दुर्लभ सपना हो।

फुटबलको करिअर कसरी सुरु गरें भन्ने ठ्याकै थाहा नभएपनि करिअरको अन्त्य गौरवपूर्ण हुनेमा साहुखल विश्वस्त छन्। ‘फुटबलमै कहिलेदेखि लागे भनेर भन्न सक्दिनँ। तर, व्यवसायिक फुटबलको १७ वर्षे इतिहासले जे दिएको छ। त्यो कहिल्यै बिर्सिने छैन,’साहुखल भन्छन्।
फुटबल करिअरमा झस्काइरहने केही खेलहरु छन्, जसले सन्तोषलाई ३४ वर्षको उमेरमा पनि युवा जोश बोकेर मैदानमा उत्रिन प्रेरित गरिरहेको छ। सानैमा राम्रो खेल कौशल भएका साहुखललाई ए डिभिजन लिग फुटबल खेल्न कलेजबाट रंगशाला आएको याद ताजै छ। ‘कलेज ड्रेसमा नै रंगशाला पुग्थें। ड्रेस चेन्ज गरेर हतार हतार मैदान जाँदाको क्षण जीवनमा स्वर्णिम बनेको छ,’ उनले भने।
१७ वर्षअघि व्यवसायिक फुटबल करिअर सुरु गर्दा उनले पहिलो मौका थ्रीस्टार क्लबबाट पाए। डेब्यूमै उनले निकै थोरै खेलाडीले मात्रै पाउने सफलता पाए। अर्थात डेब्यू खेलमै उनले संकताविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जिताए। जुन खेलमा उनी र उनको टोली थ्रीस्टार निराश हुनु परेन। त्यसपछि उनले करिअरमा पछि फर्कनु परेन। लिगमा सर्वाधिक सफल खेलाडी अब निर्विकल्प सन्तोष नै हुन्।
त्यसो त उनले परीक्षाकाबीच पनि फुटबलको साथ छोडेनन्। ब्रिटिस गोर्खा कपका दौरान परीक्षा दिएर सिधैं मैदान आउँदाको क्षणपनि साहुखलको दिमागमा ताजै छ।
साहुखल भन्छन्,‘ थ्रीस्टार १–० ले पछि थियो। हतार हतार ड्रेस चेन्ज गरेर मैदान भित्र छिरेको थिएँ।’ उक्त खेल थ्रीस्टार २–१ ले जित्यो र निर्णायक गोल सन्तोषकै नाममा रह्यो। सर्वाधिक लामो समय थ्रीस्टारमा बिताएका सन्तोषका लागि बढी सम्झना पनि थ्रीस्टारसँग नै जोडिएर आउनु स्वभाविक हो।
हिमालयन शेर्पाविरुद्धको एउटा खेल उनको दिमागमा सधैँ ताजा भएर रहन्छ। उपाधि होडमा रहेको थ्रीस्टारका लागि हिमालयन शेर्पाविरुद्धको खेल महत्वपूर्ण थियो, जुन खेल हार्दा उपाधि यात्रामा असर पर्न सक्थ्यो। हिमालयन शेर्पा र थ्रीस्टारबीचको खेल २–२ गोलको बराबरीमा सकिनै लागेको थियो। तर, अन्तिम समयमा गोल गर्दै सन्तोषले थ्रीस्टारको संकटमात्रै टारेनन्, लिगको उपाधि पनि जिताए।

सन्तोषलाई पारिवारिक साथ गजबको थियो। बुवा बालकृष्ण साहुखल दुई छोरालाई साथै लिएर रंगशाला आउँथे। बुबाको भित्रि चाहाना दुई मध्ये एक छोराले फुटबल खेलोस् भन्ने थियो। तर दुवैले करिअरलाई फुटबलसँग जोडे। दाजु बालगोपाल साहुखल चोटका कारण लामो समय फटुबललाई निरन्तरता दिन सकेनन्। यद्यपि अहिले प्रशिक्षकका रुपमा च्यासलमा आवद्ध छन्।
क्लबमा चलेका साहुखल राष्ट्रिय टिममा भने क्लब जादु चलाउन असफल रहे। साहुखल राष्ट्रिय टिममा नियमित नहुनुमा आफ्नो प्रतिभा प्रशिक्षकले चिन्न नसकेको मान्छन्। उनी भन्छन्, ‘सबै कुरा आफूले चाहेर हुँदैन रहेछ। मेरो खेल्ने शैली फरक थियो, मैले त्यो कुरो सायद प्रशिक्षकलाई बुझाउन सकिन कि !’
उनले पहिला प्रशिक्षकले आफूलाई नबुझेको मान्थे। अहिले उनी प्रशिक्षकलाई आफूले बुझाउन नसकेको मान्छन्। ‘त्यो बेला शरीरमा तातो रगत थियो, जीवनको बुझाइ भन्दा पनि एक प्रकारको घमण्ड थियो सायद,’उनी भन्छन्। अहिले सन्तोषले फुटबल मात्र बुझेका छैनन् जीवन पनि बुझेका छन्।
‘मैले जापान गएर सबैभन्दा ठूलो कुरो जीवन बुझेँ। सबैभन्दा ठूलो कुरा आवेग त्याग्न सक्नु पर्ने रहेछ। मैले फुटबलमा पाएको सिकाइ जुनियरलाई सिकाउन चाहन्छु,’ उनले भने।
निकै शान्त स्वभावका सन्तोष अहिले ललितपुरे क्लब च्यासलबाट ए डिभिजन लिग खेलिरहेका छन्। लिग खेल्नै उनी जापानबाट समय मिलाएर नेपाल आएका हुन्।
च्यासल लिग च्याम्पियन बन्छ वा बन्दैन त्यो हेर्न लिगको अन्तिम समयसम्म कुर्नु पर्ला। तर, लिगमा सय गोल गरेर सन्तोषले बनाउने कीर्तिमानीका लागि अब मात्र एक गोलको कुरे पुग्छ।
जारी लिगमा तीन खेल खेलेको च्यासलबाट सन्तोषले तीन गोल गरिसकेका छन्। सन्तोष भन्छन्,‘मलाई सय गोलको दबाब छैन। मैले यो उपलब्धी मेहनत र लगाबले पाएको हो। जसलाई जारी राख्छु गोल त खेलाडी जीवनको यात्रा हो। जुन उमेरले साथ दिएसम्म चलिरहन्छ।’
लिगमा सन्तोषका ९९ गोल
२०६०– थ्रीस्टार (६ गोल)
२०६१– एपीएफ (६ गोल)
२०६२– थ्रीस्टार (६ गोल)
२०६३– थ्रीस्टार (११ गोल)
२०६६/६७– थ्रीस्टार (१९ गोल)
२०६८– मनाङ (१६ गोल)
२०६९– थ्रीस्टार (१७ गोल)
२०७०– थ्री स्टार (९ गोल)
२०७५– च्यासल (३ गोल)
२०७६– च्यासल (३ गोल खेल जारी)




