Kathmandu Press

सेनामा फेल, गायनमा पास !

काठमाडौं, पुस १० : 

‘देख न चम्पा, सुन न चम्पा
हमरा त तमरा बा

सेनामा फेल, गायनमा पास !

काठमाडौं, पुस १० : 

‘देख न चम्पा, सुन न चम्पा
हमरा त तमरा बाहेक को छ र ?
तमरा नि हमरा बाहेक को छ र ?’  

भाषिक रुपमा गीतले न्याय गर्‍यो गरेन? त्यो बहसको विषय होला। नेपाली गायन क्षेत्रमा भने आञ्चलिक लवजलाई मुलधारमा जोड्ने काम यो गीतले गरेको छ। त्यसपछिका धेरै गीतमा सुदूरपश्चिम र कर्णाली प्रदेशको लवजलाई अटाउने कोसिस गरियो। 

गीतकै कारण पनि छक्का पञ्जा फिल्मको राम्रो व्यापार भयो। यो सिर्जना निकै चल्यो, धेरैले रुचाए। आज पनि यो गीतको डिमान्ड कम छैन। 

कतिपय सिर्जना यस्ता हुन्छन्, जसले छुट्टै तरंग त ल्याइदिन्छ, तर त्यसका सर्जक वा गायकलाई त्यति धेरैले चिन्दैनन्। शान्तिप्रियले रचना गरेको यो गीतमा आवाज दिएका थिए, गायक तथा संगीतकार कृष्ण काफ्लेले।

गीत सुन्ने लाखौं होलान्, पटक–पटक गरेर गीत करोडौंबारी सुनिएको होला तर यो गीतमा कृष्णको आवाज छ भन्ने हेक्का धेरैलाई नहुनसक्छ।   

फिल्म ‘मंगलम’ धेरैलाई याद होला नहोला तर–

‘पर्ख पर्ख मायालु म पनि त आमला,
 रेलको झ्याल समाएर सँगै भागम्ला’
गीत अधिकांशको मुखमा झुण्डियो।

पार्टी, सार्वजनिक कार्यक्रम, वनभोज, दोहोरी र डिस्कोसम्म यो गीत रुचाइयो। यस गीतमा पनि आवाज थियो स्याङ्जा रापाकोटमा ३१ वर्षअघि जन्मिएका कृष्ण काफ्लेकै। एकपछि अर्को गीत चर्चामा आउलान्। लाखौँले हेर्लान्। अनि करोड क्लबमा उक्लिएलान् भनेर उनी गायनमा आएका होइनन्। 

‘यो मेरो सानैदेखिको रुचिको क्षेत्र थियो,’ गायक काफ्लेले भने, ‘तर म गीतसंगीतमै होमिउँला भनेर सोचेको थिएन।’ 

आठ पटक आर्मीमा फेल

कृष्णको सपना थियो–सरकारी जागिर खाने।  कहाँ खाने? देश युद्धले गाँजिएको थियो। गाउँमा युवाहरु बस्नै सक्ने अवस्था थिएन। बेपत्ता पारिने वा मारिने डर गाउँभरि थियो। आमा फुलमाया र बुवा केशवप्रसाद काफ्लेले नाइनास्ती गरिरहे।

तर उनले सेना, पुलिसमा गरेर आठ पटक प्रतिस्पर्धा गरे । ‘अहँ ! मरे नाम निकाल्न सकिएन,’ कृष्णले आर्मीमा जागिर खान गरेको असफल प्रयास याद गरे, ‘शान्ति हुने नहुने ठेगान थिएन ०६२ अन्तिमतिर उनको नवौँ पटक सेनामा नाम निस्कियो।’ कृष्णले तालिमका लागि जाने निधो गरे। 

‘आमा, बुवाले मरे मान्नुभएन,’ उनले सम्झिए, ‘त्यसपछि म झोला बोकेर ०६४ मा काठमाडौं आएँ।’ काठमाडौंमा केही त गर्नुपर्‍यो! उनले राजधानीका लागि गाउँ छोड्दै सोचिसकेका थिए–‘म हिरो बन्छु।’ 

कलाकार बन्ने सपना साकार पार्न उनी  कलाकर्मीको आसपास पर्न थाले। सोही क्षेत्रमा काम गर्ने साथीसर्कल खोज्न कोसिस गरे। भनेजति सजिलो कहाँ थियो र ! गाउँमा सरस्वती पूजा, गाउँमा हुने कार्यक्रम आदिमा गाएर पाएको प्रशंसाले उनमा कलाप्रतिको मोह त थियो, तर यात्रा कसरी गर्ने भन्ने भेउ पाउन सकेनन्।

कृष्ण नवलपरासी आइडल बनिसकेका थिए। त्यसैले पनि उनको कलाकार निर्मल शर्मासँग चिनजान थियो। उनैले त्यसबेलाको चर्चिट टेलिसिरियल ‘तितो सत्य’को सुटिङमा बोलाए। त्यहाँ उनको दिपकराज गिरी र दीपाश्री निरौलासँग चिनजान भयो। 

हुँदाहुँदै उनले सानो भूमिका पाए। ‘त्यति सानो रोल पनि गाउँमा त ठूलै कुरा भयो,’ कृष्णले सम्झिएँ, ‘मैले पाँच, ६ वर्ष टेलिसिरियल र फिल्महरुमा सानोतिनो रोल खेलेँ।’ कृष्णले हाम्रो माया जुनी जुनीलाई, अन्दाज, ब्रेक फेलजस्ता फिल्ममा सानोतिनो भूमिका पाए। 

२०६५ मा पहिलो गीत

यतिले हुँदैन भन्ने लागेर उनी गायन र संगीत सिक्न श्रीसंगीत पाठशालामा भर्ना भए। त्यसपछि सुरु भयो उनको गायन यात्रा।

आफ्नै संगीतमा उनले पहिलो गीत गाए २०६५ मा –‘आँशुमा डुबाउँदिन भन्थ्यौं...।’  गीतको राम्रै रेस्पोन्स आयो। उनी उत्साहित बने। त्यसपछि उनले अग्रज गीतकारका शब्दहरुमा स्वर दिए। मनोजराज शिवाकोटीको ‘चोट दिने माया तिमी’ निकै चर्चामा आयो।

हालसम्म कृष्णले फिल्म र अन्य एल्बममा गरेर एक सय जति गीतमा संगीत र दुई सय भन्दा बढी गीतमा आवाज दिइसकेका छन्। सुन न चम्मा यति चल्यो कि सायद उनलाई लाग्छ गीतकै कारण पनि फिल्म हलमा सय दिनभन्दा बढी टिक्यो। विदेशी फिल्मले गर्ने व्यापारको रेकर्ड तोड्यो। 

उनले चलचित्र क्षेत्रको बेष्ट प्ले ब्याक अवार्ड पाए। त्यसपछि गीतसंगीत क्षेत्रका दर्जनाैं पुरस्कार र सम्मान कृष्णको पोल्टामा परे। उनको गायनको आयतन फराकिलो बन्यो। त्यसपछि तिम्रो पिक्चर हिट, ताला चाँबी, लभ यू बाबा फिल्मको टाइटल गीत राम्रै चले।

हरेक प्याटनका गीत गाउन पोख्त कृष्णले एल्बमतिर पनि धेरै गाए, निकै रुचाइएका गायकमा पर्छन्। उनले माया बस्यो, फूलजस्तो यौवन तिम्रो, तिम्लाई आफ्नो बनाउने, लाइँदैन मायापिरती, यो मुटुको ढुकढुकीमाजस्ता गीत बजारमा ल्याएका छन्। 

गीत चलेसँगै उनले स्रोत, दर्शकको माया र सम्मान मात्रै पाएनन्। आम्दानी र व्यस्तता पनि बढ्यो । प्रस्तुतिकै लागि उनी संसारका २८ देशमा पुगिसके। फिल्म गायन, स्टेज कार्यक्रमले व्यस्तता बढे पनि उनले त्यसबीचमा पनि विशेष गीतको तयारी गरिरहेको बताए। ‘मेरा प्रशंसक, दर्शकको विश्वासलाई बरकरार राख्न विशेष गीतको तयारीमा छु,’ उनले भने। 

विचौलियाप्रति वितृष्णा

कला क्षेत्रमा लागेर आफूले पाएको नाम र दामले कृष्ण सन्तुष्ट छन्।

तर विभिन्न स्थानमा आयोजना हुने मेला, महोत्सव, स्टेज कार्यक्रममा फस्टाउँदै गएको विचौलिया प्रवृतिप्रति भने उनको आक्रोस छ। ‘कलाकारलाई हामी राष्ट्रको गहना भन्छौँ,’ उनले भने, ‘तरकारी बजारमा विचौलिया घुरेर किसानमारा काम गरेँ झै कला क्षेत्र पनि विचौलियाहरुको कब्जामा जान थालेको छ।’

विभिन्न मेला, महोत्सवमा आयोजक र कलाकारबीच ‘बार्गेनिङ’ गरेर कमिसन खानेहरुले कलाकारले असली पारिश्रमिक पाउन नसकेको उनले गुनासो पोखे। कला, सिर्जना स्वतस्फुर्त हुनुपर्ने उनको मान्यता छ। 
 

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, पुस १०, २०७६