Kathmandu Press

‘नो मोर साइलेन्स प्लिज’

काठमाडाैं, पुस ८ : शान्त पुस्तकालय। लहरै बसेका केटाकेटीसँगै एक युवती पुस्तक पढिरहेकी छन्। केही पर एक

‘नो मोर साइलेन्स प्लिज’
रिवाज राई

काठमाडाैं, पुस ८ : शान्त पुस्तकालय। लहरै बसेका केटाकेटीसँगै एक युवती पुस्तक पढिरहेकी छन्। केही पर एक युवक म्यागजिन पल्टाइरहेका छन्, कुर्सीमा बसेर।

उनी कुर्सी तान्दै युवती नजिक बस्छन्। च्यारच्यार आवाज निकाल्दै म्यागजिन पल्टाउने बहानामा कुहिनोले युवतीलाई छुन्छन्। युवती केही असहज मान्दै चुप बस्छिन्। युवक फेरि उनको शरीरतिर हात लैजान खोज्छन्। युवती केही बोल्न खोज्छिन तर, लाइब्रेरियन उनको आवाज निस्किन नपाउँदै हल्ला नगर्न इशारा गर्छन्। उनी त्यसै चुप लाग्छिन्।

तेस्रो पटक युवकले युवतीको पछाडिबाट टिसर्टभित्र हात छिराउन खोज्छन्। यतिवेला भने युवती जुरुक्क उठेर युवकको गालामा कसेर थप्पड लगाउँछिन्।

Hardik ivf

थप्पडको आवाजसँगै राष्ट्रिय सभा भवनको हलभरि ताली गुञ्जिन्छ। दर्शक कराउँदै युवतीलाई हौस्याउँछौं। यो स्याबासीमा सबैभन्दा धेरै खुशी कोही थिए त परीक्षित बिक्रम राणा। किनकि, उनको तीन वर्षदेखिको सपना ‘साइलेन्स प्लिज’ दर्शकबाट अनुमोदित भएको थियो।

१७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा फिल्म ‘साइलेन्स प्लिज’ले खुबै स्याबासी बटुल्यो । त्यसका पछाडि उनै परीक्षित थिए। उनले नै यसको कथा लेखेका थिए। अझ झट्का दिने त यो फिल्म केबल दुई मिनेट ५६ सेकेन्डको थियो।

यति छोटो समयमा यति धेरै महत्वपूर्ण सन्देश। कसरी सम्भव भयो? ‘कुनै पनि कथा लेख्दा आफू पात्र बनेर लेखिन्छ। जस्तो कुनै भिख माग्ने मान्छेको कथा लेख्नु पर्‍यो भने म भिखारीजस्तै बन्ने होइन, भिखारी नै बन्छु,’ यो फिल्मका निर्देशक परीक्षित भन्छन, ‘जहाँ कुनै अभिनय नभई जीवन व्यतित गरिएको हुन्छ।’

यो फिल्ममा महिलामाथि सार्वजनिक स्थानमा हुने यौन हिंसालाई प्रतिकात्मक रुप देखाइएको छ। पुरुषले जे गर्दा नि हुने, महिलाले आफूमाथि भएको हिंसाविरुद्ध बोल्न खोज्दा पनि दबाउने प्रवृतिलाई इंगित गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘पुस्ताकालयलाई समाजको बिम्ब रुपमा देखाइएका छौं। जहाँ आउने भनेको शिक्षित व्यक्तिहरु नै हुन्। तर, पुस्ताकालय प्रमुख अर्थात समाजमा अगुवाई गर्ने मान्छे नै हिसांविरुद्व बोल्न खोज्दा रोकिदिन्छ।’

यो उनको पछिल्लो चर्चित फिल्म भयो। यसअघि पनि परीक्षितले केही फिल्म निर्देशन गरेका छन्। उनले ‘अनुराग’ र ‘तुइन’ फिचरका सह-निर्देशक गरेका छन्।  त्यस्तै, अर्को उनको रुचाइएको छोटो फिल्म हो, ‘इभनिङ डेज’। जहाँ उनले लागूऔषधिमा फेसपछि कसरी मध्यम बर्गिय परिवारका किशोरकिशोरी गलत बाटोमा लाग्न बाध्य हुन्छन भन्ने देखाइएको छ। यसले वेश्यावृतिमा लाग्न बाध्य बनेकी किशोरीको कथा भन्छ।

परीक्षितको कलाकारितातर्फ मोडिनुको कथा पनि बेग्लै छ। उनी ट्राभल्समा काम गर्थे। राम्रै कमाइ पनि थियो। एक दिन उनको मन लाग्यो, ‘के म जिन्दगीभर यहीँ टिकट नै बेचेर बस्ने हो त?’

उनले त्यो काम छोडे। आखिर उनको अन्तरमन कलाकारिताप्रतिको अभिरुचि थियो। उसो त उनी सानो हुँदा ठूलोबुवा रवि शाहको अभियनबाट आकर्षित थिए। उनले शाहलाई फिल्ममा देखेका थिए। तर, भिन्न भूमिकामा। घरमा खुब माया गर्ने ठूलोबाबु फिल्ममा भने कुटपिट गरिरहेको देख्दा अचम्मित हुन्थे।

त्यो भन्दा अझ अचम्म पार्ने त उनको हजुरआमाको ब्यवहार थियो। जब रवि शाहको टेलिफिल्म सकिन्थ्यो, परीक्षितकी हजुरआमा रविलाई फोन गरिहाल्थिन्। उनी भन्ने गर्थिन्, ‘तैले किन बुहारी पिटिस?’ फोनमै रवि शाहलाई गाली गरेको सुन्थे।

उनका मनमा प्रश्न उठ्यो, एउटै मान्छे कसरी एक समयमा अनेक भूमिका देखिन्छ? उनलाई रमाइलो लाग्थ्यो। हजुरबुवा रविको अभिनय परीक्षितको बालमस्तिष्कमा गहिरो छाप छोड्न पुग्यो। उनको त्यो इच्छा देखेर ठूलोबुवा रवि भन्थे, ‘ल ल पहिले म्याट्रिक पास गर। अनि अभिनय गर्लास्।’

दुर्भाग्य, उनले प्रवेश परीक्षा दिइसक्दा उनको ठूलोबुवा रवि शाहको मृत्यु भयो। र, परीक्षितको कलाकारितातर्फको यात्रा पनि सुरू नहुँदै रोकियो।

त्यही बाल्यकालदेखिको सपना साकार पार्न उनले जागिर छोडे। एक जना चिनजानको मान्छेलाई आफ्नो इच्छा सुनाए। उनले भनेछन्, ‘१५ लाख लिएर आइजो, फिल्ममा अभिनय गर्ने व्यवस्था मिलाउँछु।’

त्यही समय उनले बुवा गुमाएका थिए। जागिर त छोडेकै थिए। अझ फिल्ममा खेल्न १५ लाख चाहिने भएपछि उनलाई झट्का लाग्यो। छटपटी हुन थाल्यो। के गर्ने, कहाँ जाने एकीन थिएन्। एक दिन आर्ट अफ लिभिङमा पुगे, मन छुने भनाइ सुने। त्यो थियो, ‘मानिस अरुलाई खुशी पारेर आफू कहिल्यै खुशी हुँदैन, आफ्नै अन्तर मनका भाव महसुस गरेपछि खुशी हुन्छ।’ उनलाई पनि लाग्यो, मेरो खुशी कलाकारितामै छ।

त्यसपछि उनले एक जना थिएटर आर्टिस्ट साथीमार्फत सर्वनाम थिएटरमा अभियन सिक्न थाले। उनले तीन महिनाको पाँच हजार तिरे। त्यसपछि उनको अभियन यात्रा सुरू भयो। त्यहि क्रममा फिल्म एन्ड टेलिभिजन ईन्स्टिच्यूट अफ ईन्डिया (एफटीआईआई)मा २० दिनकाे अभियन कोर्ष सिक्ने अवसर पाए। जसले आत्मबल बढायो। ‘सिक्दै गए, आफूलाई परिस्कृत गर्दै लगेँ,’ उनी भन्छन्।

सडक नाटक, थिएटरको अभिनयसँगै म्युजिक भिडियो, छोटो फिल्म, फिचर फिल्म निर्देशन गर्न थालिसकेका छन्, परीक्षितले। उनी भने अझै प्रयासरत रहेको बताउँछन्।

उनी अभिनयसँग सामाजिक काममा पनि संलग्न भइरहन्छ। २०७१ मा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ‘वल्र्ड ह्युमन फ्लाग’को कार्यक्रमको सह–संयोजक भएर काम गरेका थिए।

यसँसगै बालबालिकालाई प्रशिक्षण दिइरहेका हुन्छन्। विद्यालय र प्रशिक्षण कक्षामा पुगेर किशोरकिशोरीलाई ‘एक्प्रेरिङ सेरिङ’ गर्न सिकाउँछन्। यसले बालबालिकाको मनोभावलाई बुझ्न सजिलो हुने गरेको उनी बताउँछन्। अर्को, किशोरकिशोरीले समाजलाई लिइएर कस्तो धारण बनाइरहेका छन् भन्ने बुझ्न बल पुगेको उनको अनुभव छ।

उनको मुख्य कर्म त कालकारिता नै हो। जुन उनलाई लत जस्तै लाग्छ। परीक्षित भन्छन्, ‘अभिनय एउटा लत हो। लागेपछि छोड्न सकिंदैन।’ उनका आफन्त अझै पनि जागिरका प्रस्ताव लिएर आउँछन्। ‘तलाई यो काम ठीक हुन्छ’ भन्छन्। उनको मनले मान्दैन्।

उनलाई पनि थाहा छ, थिएयरबाट राम्रो आम्दानी हुँदैन। अन्य देशमा थिएटर कलाकारलाई सरकारले हेर्छ, जसले गर्दा थिएरटबाट राम्रो कमाइ नभएपनि खासै फरक पर्दैन्। यहाँ त उल्टो छ। एकतिार थिएटरको संख्या नै कम छ, पारिश्रमिकविना पनि काम गर्नुपर्छ।

अभियनको त्यो गाह्रोसाह्रो भन्दा पनि उनलाई सामाजिक घटनाले पिरोल्छ। जस्तो, हत्या, बलात्कार, हिंसाका घटना दैनिक समाचार बनिरहेका छन्। किशोरीहरुलाई जलाएको, बलात्कार गरेर हत्या गरेको, अनुहारमा एसिड फालेको समाचारले घचघच्याउछ। हिंसाविरद्ध, सामाजिक न्यायका पक्षमा बोल्नुपर्छ भन्ने सोच्छन्। त्यसका लागि उनी कलालाई माध्यम बनाउँछन्, जस्तो ‘साइलेन्स प्लिज’।

परीक्षित हिंसा सहनुहुँदैन भन्छन्। ‘हिंसाविरुद्ध बोल्नुपर्छ, चुपचाप लाग्नु हुन्न,’ उनी भन्छन्।

उनले करिब तीन मिनेटको ‘साइलेन्स प्लिज’मा पनि त्यही देखाएका छन्। जब युवतीले युवकको गालामा कसेर थप्पड लगाउँछिन्, अनि युवक पुस्तकालयबाट केही नबोली बाहिरिन्छ।

केहीबेरमा उनी पनि बाहिर निस्किन्छिन्। पुस्तकालयको भित्तामा टाँसिएको कागजमा लेखिएको हुन्छ, ‘साइलेन्स प्लिज’। उनी बाहिरिँदै गर्दा त्यसको माथि ‘नो मोर’ थप्छिन्। उनी निस्केपछि पुस्तकालयको भित्ताले भनिरहेको हुन्छ, ‘नो मोर साइलेन्स प्लिज।’

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, पुस ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्