यती एयरलाइन्सका कर्मचारी नै नेपाल ट्रस्टका सञ्चालक
काठमाडौं, पुस ४ : राजा वीरेन्द्र शाहको नाममा रहेको सम्पति रेखदेख गरेर लगत राख्ने नेपाल ट्रस्टको सञ्च
काठमाडौं, पुस ४ : राजा वीरेन्द्र शाहको नाममा रहेको सम्पति रेखदेख गरेर लगत राख्ने नेपाल ट्रस्टको सञ्चालक समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले यती एयरलाइन्सका कर्मचारीलाई नियुक्त गरेकाे खुलेकाे छ।
नेपाल ट्रस्टको नाममा रहेका सरकारी जग्गाविना प्रतिस्पर्धा यती समूहलाई कौडीको भाउमा भाडामा दिने निर्णय गरिरहेकै वेला उक्त ट्रस्टमा प्रधानमन्त्री ओलीले यती एरलाइन्स र त्यसका अन्य कम्पनीमा कार्यरत कर्मचारीलाई सदस्य बनाएको खुलेको हाे।
यती समूहले गोकर्ण फरेस्ट रिसोर्टको २८ सय रोपनी जग्गा म्याद नसकिँदै २५ वर्षका लागि म्याद थप गरेको, नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउने अनुमति लिने तयारी गरेको छ भने दरबारमार्गमा ट्रस्टको नाममा रहेको जग्गा भाडामा लिएर व्यापारिक भवन निर्माण गरेको छ।
प्रतिस्पर्धाविना सरकारी सम्पति कौडीको भाउमा भाडामा लगाएको भनेर चौतर्फी विरोध भइरहेका वेला त्यसको निर्णयकर्ता नेपाल ट्रस्टकै सञ्चालक समितिमा यती समूहका कर्मचारी नियुक्त भएको खुलेको हो।
प्रधानमन्त्री ओलीले अघिल्लो महिना नेपाल ट्रस्टको ऐन संशोधन गरेर तीन जना सञ्चालक बाहिरबाट मनोनीत गर्न पाउने प्रावधान बनाएका थिए। सोही प्रावधानअनुसार तीन हप्ताअघि यती एयरलाइन्सकी पूर्वकर्मचारी योङजोम शेर्पा र यती समूहकै हेलिकप्टर कम्पनी अल्टिच्युट एयरमा कार्यरत सिताराम सापकोटा नेपाल ट्रस्टको सञ्चालक समिति सदस्य नियुक्त भएका हुन्।
अर्का सदस्य प्रविणराज दाहाल पनि यती समूहका अध्यक्ष सोनाम शेर्पाकै सिफारिसमा नियुक्त भएको स्रोतको दाबी छ। नेपाल ट्रस्ट ऐन २०६४ को दफा ७ मा ट्रस्टको सम्पति व्यवस्थापन र संरक्षण गरी ट्रस्ट सञ्चालन गर्न गृहमन्त्रीको अध्यक्षतामा समिति रहने उल्लेख थियो। तर प्रधानमन्त्री ओलीले ऐन संशोधन गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सञ्चालक समितिको अध्यक्षका रुपमा नियुक्त गरेका छन्।
त्यस्तै, समितिमा नेपाल सरकारको मुख्यसचिव मात्र होइन, गृह, कानून, अर्थ, महिला बालबालिका, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य हुने व्यवस्था थियो। तर सात जना सचिवलाई एकै पटक सदस्यबाट हटाएर प्रधानमन्त्रीले आफूखुसी बाहिरबाट सदस्य नियुक्त गर्न सक्ने गरी ऐन संशाेधन गरेर यती समूहका कर्मचारीलाई सञ्चालक सदस्यमा नियुक्त गरेका हुन्।
यसअघि प्रधानमन्त्री ओलीले यती समूहका अध्यक्ष सोनामकी छोरी दावाफुटी शेर्पालाई स्पेनको राजदूत नियुक्त गरेका छन्।






