गौरिकासँग जोडेर किन हुँदैछ सन्दीपको आलोचना?
काठमाडौं, पुस १ : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कीर्तिमान कायम
काठमाडौं, पुस १ : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कीर्तिमान कायम गर्न सफल खेलाडी हुन्, गौरिका सिंह।
पौडीमा चार स्वर्ण, दुई रजत र टिमतर्फ चार कास्य पदक हात पारेर गौरिकाले आफूलाई चर्चाको शिखरमा राख्न सफल भएकी छिन्। त्यतिमात्रै होइन, दक्षिण एसियाली खेलकुदमा नेपालको नाम उचो राख्न पनि सफल भइन्।
साग समापनपछि अहिले गौरिकाको चर्चा सर्वत्र भइरहँदा क्रिकेटर सन्दीप लामिछानेको भने आलोचना सुरु भएको छ। आँखाको शल्यक्रिया गराएका सन्दीपले साग गुमाए। बेलायत बसेर पनि देशका लागि १३ औं सागमा सहभागी भएर कीर्तिमानी स्वर्ण जितेकी गौरिकासँग तुलना गरेर सन्दीपको आलोचना गर्न सुरु गरिएको हो।
पछिल्लो समय सन्दीपले देशको इज्जतभन्दा आफ्नो आम्दानीलाई महत्व दिन थालेको भन्दै आलोचना भइरहेको छ। सागमा यो पटक पुरुष क्रिकेट टिमको पनि सहभागिता थियो। बंगलादेश, श्रीलंका लगायत टेष्ट राष्ट्रको सहभागिता निश्चित भएपछि नेपालले आफ्नो राष्ट्रिय टिम मैदानमा उतारेको थियो। तर राष्ट्रिय टिम घोषणा हुनुअघि नै सन्दीपले आफूले साग नखेल्ने जानकारी गराए।
धेरै नेपाली समर्थकले उनको यो निर्णयको त्यतिबेला खुलेर विरोध गरेका थिए। विदेशी लिगमा पैसा कमाउनका लागि देशको महत्वपूर्ण प्रतियोगिता नखेलेको भनेर उनको आलोचना गरियो। सन्दीप आफैँले भने यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा लिएनन्। सागका बेला नेपालमै रहेका सन्दीपले त्यो समय आफ्नो आँखाको लेजर शल्यक्रियाका लागि छुट्याए। धेरैले उनको यही कुरामा आपत्ति जनाएका थिए।
सन्दीपले २०१६ मा काउलोन क्यान्टोन्समा अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको सहयोगमा पहिलोपल्ट विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सहभागिता जनाएपछि करिअरमा पछि फर्केर हेर्नु परेको छैन। सन्दीपले अहिले नेपालमा सर्वाधिक बढी कमाउने नेपाली खेलाडीको पहिचान बनाइसकेका छन्।
तर विवादमुक्त भने हुन सकेका छैनन्। यो पटक पनि सन्दीप विवादमै परे। सागको पुरुष क्रिकेट टिममा सहभागी हुन नसक्ने जानकारी गराउँदा सन्दीपको सुरुमा आलोचना भएको थियो। पछि सन्दीपलाई खेल सकिएपछि गौरिका सिंहसँग जोडेर विवादमा तानियो।
सन्दीपलाई किन जोडियो सिंहसँग ?
गौरिका सिंह सानैबाट लण्डनमा बसोबास गर्दै आएकी छिन्। बुबाआमासँगै लण्डनमा बस्दै आएकी गौरिकाले पौडीको अभ्यास र पढाइलाई सँगसँगै अघि बढाइरहेकी छिन्। गौरिकाले पौडीको अभ्यासमा मात्रै मासिक ५ देखि १० लाखसम्म खर्च गर्ने गरेकी छिन्।
धेरैले विदेशमा अवसर हुँदाहुँदै गौरिका नेपालमै आएर देश चिनाएको तर सन्दीपले देशबाटै अवसर पाएर विदेशी लिगमा खेल्नकै महत्व नदिएको भन्दै आलोचना भइरहेको छ। गौरिका र उनका आमाबुबाले चाहेमा लण्डनमै बस्न र त्यहाँको नागरिक बन्न कुनै समस्या छैन।
अझ ब्रिटेनबाटै पनि उनले सहभागिताको मौका पाउने सम्भावना हुँदाहुँदै पनि उनीहरुले बेलायती नागरिकता लिएका छैनन्। नेपालकै नामबाट खेलेको भन्दै गौरिकाको प्रशंसा भइरहेका बेला सन्दीपलाई भने सागमा राष्ट्रिय क्रिकेट टिमबाट नाम झिकेको र विदेशी लिगमा पैसाका लागि मात्रै दौडिरहेको भनेर आलोचना भइरहेको छ।
त्यसो त उनले एसिसी इमर्जिङ टिम्स कपका लागि पनि राष्ट्रिय टिममा सहभागिता जनाएनन्। युएईमा भएको टी–१० लिगका लागि उनले इमर्जिङ कप छोडेका थिए। क्यान महासचिव अशोकनाथ प्याकुरेलका अनुसार इमर्जिङ कप सुरु हुनु एक साताअघि मात्रै सन्दीपले टी–१० का लागि आबद्ध भएको जानकारी दिएका थिए।
सन्दीप अहिले विग बास लिगका लागि अस्ट्रेलियामा छन्। विदशी फ्रेन्चाइजमा सन्दीप अब नछुटिने नामका रुपमा रहँदा नेपालमा भने उनको आलोचना निरन्तर भइरहेको छ। केही समयअघि पारस खड्कालाई ट्वीटर र इन्स्टाग्राममा अनफलो गरेपछि उनी समर्थकको तारो बनेका थिए।
सिपिएलमा व्यस्त रहेका बेला नेपाली टोलीका तत्कालीन कप्तान पारसले उनलाई राष्ट्रिय टिममा कल गरेको विषयको विवाद सतहमा आउँदा सामाजिक सञ्जालमा नै देखिने गरेर असन्तुष्टि सिर्जना भएको थियो। सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजका लागि सन्दीपलाई बोलाइएको थियो। उनी त्यतिबेला क्यारेवियन प्रिमियर लिगमा व्यस्त थिए।
अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा व्यस्त सन्दीपका लागि घरेलु भूमिमा हुने प्रतियोगिताको अर्थ महत्वपूर्ण हुन्छ। त्यसैले उनले आफ्नो स्टारडम कायम राख्न पनि देशले प्रतिनिधित्व गर्ने प्रतियोगितामा सहभागी हुनु नै उपयुक्त हुन्छ।






