Kathmandu Press

गौरिकाले ६५ लाख रूपैयाँ पुरस्कार पाउने

काठमाडौं, मंसिर २५ : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई प्रोत्सा

गौरिकाले ६५ लाख रूपैयाँ पुरस्कार पाउने
रिवाज राई

काठमाडौं, मंसिर २५ : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कारको घोषणा गरेको छ। 

बुधबार पदक विजेता खेलाडीलाई बधाई दिन बालुवाटार निम्त्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले पदकधारी खेलाडीहरुकै माझ पुरस्कारको घोषणा पनि गरेका थिए।

प्रधानमन्त्री ओलीले सागमा स्वर्ण जित्नेलाई ९ लाख, रजत पदकधारीलाई ६ लाख रुपैयाँ र काश्य पदक जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। 

एकभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाख रूपैयाँका दरले पुरस्कार दिने प्रधानमन्त्री ओलीले बताए। समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही पाँच-पाँच लाख रुपैयाँ पुरस्कार दिइनेछ।

प्रधानमन्त्री ओलीको यो घोषणासँगै सागमा चार स्वर्णसहित ९ पदक जितेकी गौरिका सिंहले सबैभन्दा बढी पुरस्कार पाउने भएकी छिन्। सागमा चार स्वर्ण, दुई रजत र तीन काश्य पदक जितेकी गौरिकाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन्। 

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले प्रति पदकको ११ लाख रुपैयाँ पाउने बताए। ‘गाैरिकाले चार स्वर्ण, दुई रजत र तीन काश्य पदक जितेकी छिन्। याे सबै हिसाव गर्दा गौरिकाले मात्रै ६५ लाख पाउनेछिन्,’ थापाले भने।

गौरिकाले चार स्वर्णबाट ११ लाख रुपैयाँका दरले ४४ लाख रुपैयाँ, दुई रजत पदकबाट १२ लाख र तीन काश्यबाट ९ लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ पुरस्कार हात पर्नेछिन्। १३ औं सागमा सबैभन्दा बढी पदक हात पार्ने खेलाडी हुन् गौरिका।

यस्तै, व्यक्तिगत तथा टिमका तर्फबाट दुई स्वर्ण जितेका तेवान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले जनही २२–२२ लाख रुपैयाँ पाउने छन्। 

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजक र ९५ काश्य पदक जितेको थियो।
 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, मंसिर २५, २०७६