बीआरआईले यसरी फेर्दैछ संसार
नयाँ चीनमा एकै परिवारभित्र पनि वर्ग विभेद सिर्जना भएको छ। मेरो आफ्नै भाइ बेरोजगार छ। केहीअघि उसले मलाई भन्यो, ‘
नयाँ चीनमा एकै परिवारभित्र पनि वर्ग विभेद सिर्जना भएको छ। मेरो आफ्नै भाइ बेरोजगार छ। केहीअघि उसले मलाई भन्यो, ‘दिदी, हाम्रो देशले बेल्ट एन्ड रोड इनिसिएटिभ भन्दै किन देशको पैसा अन्यत्र लैजाने? पैसा हाम्रै देशमा जरुरी छ। चीनभित्रै यत्रो गरिबी छ भने हाम्रो पैसा किन बाहिरका अरु देशमा लगानी गर्ने ?‘
मेरो भाइजस्तै धेरैले सोच्छन्– ‘वन बेल्ट, वन रोड इनिसिएटिभ’ (बीआरआई) भनेर चीन सरकारले सित्तैँमा पैसा दिन्छ तर त्यसो होइन। ‘वन बेल्ट, वन रोड इनिसिएटिभ’ त आर्थिक साझेदारी हो। यो चीनले अरु देशलाई सित्तैँमा पैसा दिने पनि हैन। अरु देशको पैसा चीनले चलाउने पनि होइन। यो केवल संसारका सबै देशको विकासमा चीनले गर्ने मद्दत मात्र हो।
कुनै देशका लागि बाटो, पुल वा कुनै भौतिक पूर्वाधार जरुरी छ भने चीनसँग इञ्जिनीयर छन्। निर्माण सामग्री र निर्माण गर्ने सामर्थ्य पनि छ। प्राविधिक जनशक्ति पनि छ भने उनीहरूसँग तत्काल पूँजी नभए पनि केही समयपछि तिरे पनि हुने गरी हामीले बनाइदिने मात्र हो। यो बनाउन सकिन्छ भनेर उत्प्रेरित गर्ने कार्य पनि हो। यसले चीनको हित हुन्छ। त्यो देशमा पनि हित हुन्छ।
सन् २०१३ मार्चमा सी चिनफिङ राष्ट्रपति भएपछि यो परियोजना सुरु भएको हो। यो २१औं शताब्दीको रेशम मार्ग हो। यो परियोजनाको परिकल्पना पुरानो रेशम मार्गबाटै गरिएको हो। चीन र कजकिस्तान जोड्ने सहमतिसँगै यो परियोजनाअन्तर्गत सडकमार्गको प्रादुर्भाव भएको हो। चीन र इन्डोनेसियाको राजधानी जकार्तालाई जोड्ने सहमतिसँगै यो परियोजनाअन्तर्गत सामुद्रिक मार्ग निर्माणको थालनी भएको हो।
चीनको पश्चिमी भाग भूपरिवेष्ठित छ। यो क्षेत्रमा तीव्र गरिबी पनि छ। त्यसैले चीनको सियानबाट पश्चिमतर्फ जानेगरी ‘वन बेल्ट, वन रोड इनिसिएटिभ’ परियोजनाको सडक मार्ग सुरु हुन्छ। यसलाई ‘२१औं शताब्दीको आर्थिक साझेदारी सडक’ नामाकरण गरिएको छ। यही नै ‘वान बेल्ट’ हो। बीआरआई परियोजनाको अर्को पाटो पनि छ। त्यो हो– सामुद्रिक मार्ग। यसलाई ‘२१औं शताब्दीको सामुद्रिक मार्ग’ नाम दिइएको छ। यही नै ‘वान रुट’ हो। यसमा संसारका जोसुकै देश सहभागी हुनसक्छन्। अहिले चीनसँग १२४ देश व्यावसायिक साझेदार भइसकेका छन्।
बीआरआईअन्तर्गत सुरुमा ६४ देश थिए। यो परियोजनामा अहिलेसम्म १३७ देश सहभागी भइसकेका छन्। सन् २०१७ मा चीनमा पहिलोपटक ‘वन बेल्ट, वन रोड’ सम्मेलन भएको थियो। सन् २०१९ मा यसको दोस्रो सम्मेलन पनि भइसकेको छ। अहिले यसलाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ भन्न थालिएको छ।
अहिले बीआरआईसँगको प्रमुख साझेदार अफ्रिकी महाद्वीप भएको छ। यसमा अफ्रिकाका ३६ देश जोडिएका छन्। वन बेल्ट, वन रोडको प्रारम्भिक नक्सा प्रस्तुत गरिएको भए पनि वास्तवमा बीआरआईको कुनै नक्सा छैन। नक्सा हुँदा पनि हुँदैन। किनभने, यसले सिङ्गो विश्वलाई समेट्छ। संयुक्त राष्ट्रसंघीय संस्थाहरु– युएनडिपी, डब्लुएचओलगायतले बीआरआईलाई अनुमोदन गरिसकेका छन्।
चीनलाई किन चाहियो बीआरआई?
चीन आफ्नो लगानीमा विविधता ल्याउन चाहन्छ। चिनियाँ कम्पनीहरुलाई देशबाहिर जानुपर्ने आवश्यकता पनि छ। चिनियाँ कम्पनीहरु आफूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित पनि गर्न चाहन्छन्। लगानीमा विविधता भनेको जोखिमको पनि विविधीकरण हो। बीआरआईसँगै चीनको आर्थिक स्तर सुधार भएको छ।
पहिलोपटक संसारले एसियाली प्रतिस्पर्धा सामना गरिरहेको छ। अमेरिका–चीनबीचको अहिलेको आर्थिक प्रतिस्पर्धा दुई फरक सभ्यताबीचको प्रतिस्पर्धा हो। वर्तमान विश्व अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनका हिसाबले अमेरिकाले २४.३२ प्रतिशत ओगट्छ। चीनले १४.८४ प्रतिशत ओगट्छ। चीनले नयाँ चीन स्थापनाको १०० वर्ष पुग्दा सन् २०४९ सम्ममा संसारको पहिलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ। यसका लागि राष्ट्रपति सीले दीर्घकालीन रणनीति बनाउनुभएको छ। अहिले चीन त्यसैअनुसार अघि बढेको छ। सन् २०२० भित्र चीनमा गरिबीको रेखामुनिको जनसंख्या रहने छैन।
बीआरआई चीनको व्यापारलाई बाहिरी विश्वसँग जोड्नका लागि पनि जरुरी थियो। चीनको औद्योगिक संरचनासँग अरु देशको साझेदारी आवश्यक थियो। बीआरआईसँगै चीनको व्यापार विस्तार भएको छ। अहिले १२४ देश चीनका ठूला व्यापारिक साझेदार छन् भने अमेरिकाका जम्मा ५४ मात्र छन्। पहिले अमेरिकाका शत्रु एलियन, अनि आतंकवाद थिए। अहिले उनीहरु चीनलाई चुनौतीका रुपमा लिन थालेका छन्।
सन् १९७८ मा देङ सिआओ पिङले चीनलाई खुलापनतर्फ लगे। त्यसपछि चीनको औद्योगिक उत्पादन बढ्यो। पहिले चीन गरिब थियो। सस्तोमा श्रम पाइन्थ्यो। त्यसैले औद्योगिकीकरण फस्टायो।
चीन औद्योगिक देश बन्न थालेपछि श्रम पनि महङ्गो हुन थाल्यो। चिनियाँ उद्योगले सस्तो श्रम पाउने नयाँ स्थानहरु खोज्न थाले। त्यसैले चिनियाँ उद्योगहरु अफ्रिकी मुलुकमा जान थाले। त्यसले अफ्रिकी देशलाई पनि फाइदा पुर्याइरहेको छ। पहिले अमेरिका र युरोपेली देशहरुले अफ्रिका महादेशलाई उपनिवेश मात्र बनाए तर चिनियाँ उद्योगहरु उपनिवेश बनाउन गएका होइनन्। उपनिवेश बनाएका छैनन्। बनाउँदैनन्। कृषिप्रधान देशबाट औद्योगिक देश बन्ने चिनियाँ यात्रा उपनिवेशवादी देशहरुको भन्दा फरक छ। बीआरआईको एउटै उद्देश्य संसारलाई साझा उन्नत भविष्यका लागि जोड्नु हो।
सहकार्य, अवसर र संयन्त्रका बीआरआई
बीआरआईका पाँच वटा मूल खम्बाहरु छन्। ती हुन्– नीतिगत संयोजन, कनेक्टिभिटी, अवरोधरहित व्यापार, वित्तीय समन्वय र जनस्तरको सम्बन्ध। बीआरआईमा सहभागी हुनु भनेको उक्त पाँच वटै आयामलाई सम्बोधन गर्नु हो।
नीतिगत संयोजनले योजनाहरु निर्माण गर्न सघाउँछ। सडक मार्ग, रेल मार्ग, जल मार्ग र सञ्चारलगायतको विकासले कनेक्टिभिटी बढाउँछ। अवरोधरहित व्यापारले हरेक देशलाई तुलनात्मक लाभ लिन सघाउँछ। वित्तीय समन्वयले औद्योगिक क्षेत्रमा लगानी बढाउँछ। जनसम्बन्धको विस्तारले देशहरुबीच साझा भविष्यको निर्माणमा जोड दिन्छ।
बीआरआईले निम्न अवसर सिर्जना गर्छ– व्यापार, लगानी, औद्योगिक साझेदारी, वित्तीय साझेदारी। बीआरआई परियोजना सफल बनाउन केही संयन्त्रहरु निर्माण गरिएका छन्। यी संयन्त्रहरु दुईपक्षीय र बहुपक्षीय साझेदारीमा निर्माण भएका छन्। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ), एसियान प्लस चाइना, एपेकलगायतका बहुपक्षीय संगठनहरु स्थापना गरिएका छन्।
त्यस्तै केही वित्तीय संस्थाहरु स्थापना गरिएका छन्। सन् २०१६ मा स्थापना भएको एसियाली पूर्वाधार विकास बैंक (एआइआईबी) का ५७ सदस्य राष्ट्र थिए। अहिले यसका एक सय सदस्य छन्। एक सय बिलियन डलर पूँजी भएको यो बैंकको मुख्य लक्ष्य पूर्वाधार निर्माण हो। एआइआईबी गेम चेन्जर हो।
जुलाई २०१५ मा स्थापना भएको ब्रिक्स बैंक (अहिले द न्यू डिभलपमेन्ट बैंक, एनडीबी) फेब्रुअरी २०१६ देखि सञ्चालनमा आएको हो। ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित यो बैंकले विभिन्न क्षेत्रमा लगानी गर्छ। ४० बिलियन अमेरिकी डलर चिनियाँ अनुदानबाट सुरु भएको सिल्क रोड फन्डले बीआरआईअन्तर्गतका विभिन्न परियोजनामा लगानी गर्छ।
बीआरआई चीनकाे आफु र विश्वलाई समुन्नत बनाउने योजना हो। यो गरिबी उन्मुलन र समुन्नत भविष्यका लागि साझा प्रयास हो। त्यसैले यो केवल चीनको अग्रसरता मात्र होइन, सबैको साझेदारी प्रयास हो। बीआरआई असमानताको अन्त्यको निम्ति गरिएको ठोस प्रयास हो।
(हि इन्स्टिच्यूट अफ एसियन एन्ड अफ्रिकन स्टडिज, चाइनिज एकेडेमी अफ सोसल साइन्सकी प्राध्यापक हुन्। उनले चीनको राजधानी बेइजिङमा आयोजित एक सेमिनारमा व्यक्त विचारमा आधारित।)
प्रस्तुति : माधव ढुङ्गेल/बेइजिङ