भाग्यले टिममा परेर स्वर्ण जिताउने किरणसिंह
काठमाडौं, मंसिर २१ : सन् १९९५ मा नेपाललाई पुरुषतर्फ व्यक्तिगत स्पर्धामा टिका बोगटीले स्वर्ण दि
काठमाडौं, मंसिर २१ : सन् १९९५ मा नेपाललाई पुरुषतर्फ व्यक्तिगत स्पर्धामा टिका बोगटीले स्वर्ण दिलाएको पनि २४ वर्ष पूरा भइसकेको थियो।
योबीचमा नेपालले पाँच दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएपनि म्याराथनमा निरन्तर स्वर्णविहीन बन्दै आयो।
अन्तत २४ वर्षको लामो प्रतिक्षा शनिबार पूरा सफल भयो। कीर्तिमानी धावक बैकुन्ठ मानन्धर र टिका बोगटी पछि नेपाललाई एथलेटिक्स अन्तर्गत म्याराथनमा स्वर्ण जिताउने खेलाडी बने– किरणसिंह बोगटी।
बोगटी भाग्यमानी खेलाडी हुन् जो वैकल्पिक रुपमा टिममा स्थान बनाएका थिए। आमाको निधनपछि कृष्ण बस्नेतले प्रतियोगिता छोड्न बाध्य भएपछि उनको स्थानमा टिममा परेका हुन् बोगटी। वैकल्पिक रुपमा टिममा परेका तिनै बोगटीले शनिबार इतिहास रचे।
पारिवारिक कारणले साग गुमाएका कृष्ण बस्नेतले कसैले स्वर्ण जितोस् भनेर आफ्नो ठाउँ उपलब्ध गराएका थिए। कृष्णको सपनालाई पनि बोगटीले पूरा गरिदिए।
जितपछि कुराकानी गर्दै बोगटीले इतिहास रच्न पाएकोमा आफू खुसी भएको बताए। ‘स्वर्ण जित्ने कुरा सबैका लागि नौलो थियो। अझ कल्पना बाहिर थियो,’ जितपछि बोगटीले भने,‘म प्रतियोगीहरुका लागि नयाँ नै हो। मभन्दा सिनियर दाइहरु हुनुहुन्थ्यो। अझ कृष्ण बस्नेत दाइ पहिलो नम्बरमा नै हुनुहुन्थ्यो। उहाँ सहभागी हुन पाउनु भएन। त्यसपछि होमलाल दाइको पनि खेलका दौरान प्रदर्शन राम्रो हुन सकेन तर म निरास भइन्। मैले निरन्तर प्रयास गरेँ।’
बोगटीले प्रतियोगिता अवधिभर अथक प्रयास गरेर स्वर्ण जित्न सफल भए। उनले दौडिदै गर्दा आफ्नो एक मात्र लक्ष्य नै स्वर्णमा बनाए। अनि आफ्ना पछि दौडिरहेका खेलाडीसँगको दूरी निरन्तर कायम राखे।
यो पनि पढ्नुस् : म्याराथनमा नेपालका किरणसिंह बोगटीले जिते स्वर्ण
बोगटी भन्छन्,‘मैले निरन्तर दूरी कायम राखे। कसरी दौडिरहेको छ। पछिको खेलाडी भनेर आफ्नो ध्यानपनि केन्द्रीत गर्दै निरन्तर दौडिएँ।’ म्याराथनमा स्वर्ण जितेपछि उनका आँखा रसाए। खुसीको आँशु र पाएको मेडल उनले जन्मदिने आमाप्रति समर्पण गरे। ‘मलाई जन्माएर यो ठाउँमा ल्याउने मेरी आमाप्रति यो स्वर्ण सर्मपण गर्छु,’उनले भने।
एपीएफका जागिरे बोगटीले तीन वर्षमा जे गरे त्यो कमाल नै गरेका छन्। उनले स्वर्ण जित्दै गर्दा अबको लक्ष्य कीर्तिमान निरन्तरताको हो। जहाँ उनले हरेक पटक इतिहासका लागि प्रतिस्पर्धा गर्नेछन्।
त्यसो त उनको राष्ट्रिय रेकर्ड राम्रो छैन। उनी सधैं तेस्रो–चौथो नम्बरमा नै थिए। तर जब क्लोज क्याम्पमा बसेर देशलाई स्वर्ण जिताउने कसम खाए। त्यसपछि भने उनले निरन्तर टाइमिङ सुधारे। अघिल्ला प्रतिस्पर्धाबारे बोगटीले भने,‘म्याराथनमा मेरो यो पहिलो जित हो। अहिलेसम्म राष्ट्रियस्तरमा पनि मैले उपाधि जित्न सकेको थिएन। तर मैले क्लोज क्याम्पमा गरेको मेहनतले सार्थकता पाएको छ।’
म्याराथनमा प्रेरित गरिरहेका साथी गोपिचन्द्र पार्कीलाई पनि उनले भुलेनन्। ‘मलाई एथलेटिक्समा छिराएकै गोपिचन्द्रले हो। उसले सायद मलाई यो क्षेत्रबारे नबुझाएको भए म अहिले यहाँ हुने थिइनँ,’उनले भने।
किरणको पहिलो जितले नेपालको इतिहासमा उनको नाम अमर बनाएको छ। भलै राष्ट्रिय खेलकुदमा तेस्रो भए। तर देशका लागि जतिबेला उनको आवश्यकता थियो–त्यो समयमा आफूलाई खरो उतार्न सफल भए।
अबका केही वर्ष उननी म्याराथनमा थप कीर्तिमान बनाउनमा केन्द्रीत हुनेछन्। अझै केही वर्ष खेल्छु भन्ने आत्मविश्वास किरणमा छ।
‘म अझै केही वर्ष आफ्नो रेकर्ड सुधार्नमा केन्द्रीत हुन्छु। जीवनले साथ दिएसम्म लामो रेसको यो दौड अब मेरा लागि झनै अर्थपूर्ण भएको छ,’ भावुक हुँदै उनले भने।





