यो सम्झिने मन छ, म बिर्सुँ कसोरी...
यो सम्झिने मन छ, म बिर्सुँ कसोरी?...
२०४७ साल मंसिर १९ गतेको त्यो शोकसन्तप्त क्षण पंक्तिका
यो सम्झिने मन छ, म बिर्सुँ कसोरी?...
२०४७ साल मंसिर १९ गतेको त्यो शोकसन्तप्त क्षण पंक्तिकार झल्झली सम्झिरहेको छ।
त्यो दिन अपराह्न ३ बजेतिर वीर अस्पताल पुग्दा स्वर सम्राट नारायण गोपाल मृत्युसँग संघर्ष गरिरहेका थिएँ। भूईंतलामै उनलाई राखिएको उपचार कक्षमा झ्यालबाहिरबाट नियाल्ने हरेक मानिस भाव विह्वल देखिन्थे। उनको मुखमा अक्सिजन मास्क र शरीरमा विभिन्न पाइप जोडिएको थियो, उनी अचेत थिए।
बाहिर गायिका लोचन भट्टराईलगायत त्योवेलाका ख्यातिप्राप्त गायक–गायिका रोइरहेका थिएँ। कलाकारहरू नीर शाह, शम्भुजित बाँसकोटा, सुक्मित गुरुङ, प्रकाश श्रेष्ठ, किरण खरेल हरेकका आँखा द्रवीभूत थिए।
अस्पतालका भित्ता र पर्खाल जताततै स्वर सम्राटका कालजयी गीतका शब्द कोरिएका थिए। ‘आजै र राति के देखेँ, सपना मै मरी गएको’देखि ‘श्रद्धाको फूल चढाई दिनु आएर लासमा’सम्मका ती हरेक पंक्तिले पूरै परिवेशलाई कारुणिक बनाएको थियो। र, त्यो उराठलाग्दो समयमा भर्खर एसएलसी दिएर काठमाडौं प्रवेश गरेको यो ठिटो झन भावुक थियो र मलीन अनुहार लिएर त्यहाँ उभिएको थियो।
लेटर प्रेस (ट्रेडल मेसिन)मा छापिने चारपाते ‘समालोचना दैनिक’मा प्रुफ रिडिङको काम सकेर साँझ साढे ९ बजे डेरामा फर्कदा पिताजीको नेसनल पानासोनिक रेडियोमा नारायण गोपालकै गीत बजिरहेको थियो, ‘मेरो बेहोसी आज मेरो लागि पर्दा भो।’
केहिबेरमै थाहा भयो, सोही रात नारायण गोपालको महाप्रस्थान भएछ। नेपाली सँगीतको एउटा स्वर्णिम युगको अन्त्य भएछ। लाखौं स्रोताको मुटु छियाछिया पार्र्दै ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ उनी ‘मुर्दा भएको’ त्यो शोकाकुल समयमा रातभरी निद्रा लागेनँ।
भोलिपल्ट उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरूको भीड प्रज्ञा प्रतिष्ठानमा उर्लियो। स्पिकरमा उनकै गीत घन्किरहेका थिए। त्यो भीडमा डाँको छाडेर रुनेहरूको कोलाहल थियो। पंक्तिकारले सानैदेखि चिनेका जनवादी गायक रामेश श्रेष्ठ एउटा कुनामा एक्लै भक्कानिएर रोइरहेका थिए। अनायासै म पनि भक्कानिएँ र आँसुका केही बुँद भूईमा खसे।
शवयात्राका क्रममा देखियो, हरेक घरको छत, बार्दली र आँखीझ्यालबाट चियाउनेहरू नरुने कोही थिएनन्। घरघरबाट पार्थिव शरीरमा पुष्प अर्पण गरिरहेका थिए।
जनताको छोरो मर्दा त्यो हदसम्मको आँसुले भिजेको शवयात्रा त्यसयता देखिएको छैन।
पशुपति आर्यघाटमा फ्यानहरूको भीड नियन्त्रणबाहिर थियो। प्रहरीले रोक्न खोज्दा खोज्दै पनि बागमती नदीमा हेलिँदै जलिरहेको चिता वरिपरी ठेलमठेल गर्दै ओइरिएका थिए।
छाति पिटेर रोइरहेका भर्खरका युवकयुवतीलाई सम्हाल्ने त्यहाँ कोही थिएनन्। एउटा गायकको अवसानमा त्यो हदसम्मको श्रद्धा र शोक प्रकट गरिएको दृश्य त्यसयता देखिएको छैन।
नारायण गोपाललाई जिवितै हुँदा भेट्ने, उनले गाएको प्रत्यक्ष सुन्ने र पत्रकारका नाताले अन्तर्वार्ता लिने शौभाग्य प्राप्त भएन, एउटा खटकिएको कुरा। यो पुस्ताको युग प्रारम्भ हुनै लाग्दा उनी गइहाले, हाम्रा लागि कालजयी गीत र किंवदन्ती छाडेर।
सपना, जुन अधुरै रह्यो
अल्पायुमै नारायण गोपालको निधनले नेपाली संगीतमा जुन रिक्तता छायो, त्यसले स्रोतालाई मात्र हैन धेरै नयाँ सर्जक र कलाकारलाई स्तब्ध बनायो, जो उनको सानिध्यमा रहेर संगीतमा केही गर्न चाहन्थे। संगीतकार आलोकश्री आफ्नो सांगीतिक करिअरको एउटा रिक्तता नारायण गोपालसँग सहकार्य गर्न नपाउनुलाई ठान्छन्।
संगीतमा करिअर खोज्दै काठमाडौं आएका आलोकश्रीले २०४४–४५ सालतिर रेडियो नेपालको संगीत विभाग प्रमुखका रुपमा नारायण गोपाललाई पहिलो पटक देखेका थिए। ‘रेडियो नेपाल परिसरको गोलाकार सानो पोखरीनेर म सँधै उहाँको नजिक गएर बस्थेँ। एक दिन उहाँले चिया मगाउ भन्नुभयो, हामीले बात मार्दै सँगै चिया खायौं।
चियाको पैसा तिर्न खोज्दा उहाँले पहिल्यै तिरिसक्नुभएको रहेछ,’ आलोक सम्झन्छन्, ‘भाइको निधनका कारण म गोरखा गएको बेला उहाँले यहाँ सँधै आइरहने संगीत अनुरागी ठिटो कहाँ गयो भनेर सोध्नुभएको रहेछ।’
२०४६ सालको असारमा पहिलो गीत रेकर्ड गराएका आलोकश्रीको तीब्र रहर थियो, नारायण गोपालका लागि संगीत सिर्जना गर्ने। तर, स्वर सम्राटको बिग्रदो स्वास्थ्यका कारण आलोकको त्यो रहर अधुरै रह्यो।
‘अल्पायुमै उहाँको निधन होला भनेर हामीले सोचेका थिएनौं। उहाँ आठ–दश वर्ष अरु बाँचेको भए मेरो संगीत र उहाँको स्वरमा पक्कै केही गीतहरु नेपाली संगीतको आर्काइभमा संग्रहीत हुने थिए। मलाई अहिले त्यसकै थकीथकी लागिरहेको छ,’ उदीत नारायणदेखि जगजीत सिंहजस्ता गायकका लागि संगीत दिएका आलोकश्री भन्छन्।
गीतकार विजय शिवाकोटीका शब्दलाई पुरानो पुस्ताका दीपक खरेलदेखि दीप श्रेष्ठ र नयाँ पुस्ताका नवीन के. भट्टराईसम्मले गाएका छन्। नारायण गोपालसँग सहकार्य गर्ने उनको सपना भने अधुरै रह्यो।
डिल्लीबजारको सिद्धि पोलिक्लिनिकमा तन्नेरीवयमा पहिलो पटक नारायण गोपाललाई नजिकैबाट देखेका शिवाकोटी सम्झन्छन्, ‘म ज्वरो आएकाले सिद्धि पोलिक्लिनिक पुगेको थिएँ। नारायण गोपाल पनि जचाउँन त्यही आउनुभएको रहेछ। हामी दुवैलाई डा.सञ्जिव ढुँगेलले जाँच्नुभएको थियो। औषधि पनि हामीले फार्मेसीमा पालैपालो किनेका थियौँ। मलाई त्यतिबेलासम्म उहाँ नारायण गोपाल हो भन्ने थाहा थिएनँ। अग्रज दाजुहरूले नारायण गोपाल भन्दै खासखुस कुराकानी गरेको सुनेको थिएँ।’
नारायण गोपालसँग सहकार्य गर्न नपाउनु आफ्नो लागि खट्किएको कुरा ठान्छन्, शिवाकोटी। ‘उहाँसँग धेरै पटक उठबस हुँदाहुँदै पनि मलाई सहकार्यको शौभाग्य जुर्न सकेनँ। उहाँका लागि मैले एउटा गीत तयार गरेको थिएँ र दिव्य खालिङले संगीत पनि भरिसक्नु भएको थियो,’ शिवाकोटी भन्छन्, ‘स्वर सम्राटको स्वास्थ्यका कारण त्यो गीत उहाँको स्वरमा रेकर्ड हुन पाएन, यो कुरा सम्झदा मलाई अहिले पनि धेरै नरमाइलो लाग्छ।’
त्यो युगमा जन्मिएको भए हुन्थ्यो...
नारायण गोपालका प्रायः सबै गीत कालजयी छन्। नेपाल आइडलबाट संगीतमा छाएकी र सारेगमपबाट ख्याती कमाएकी गायिका मेनुका पौडेल हरेक दिन नारायण गोपालका कालजयी गीतबाटै रियाज गर्छिन्। ‘मलाई छोडी मेरो छायाँ कतै झरेछ’, ‘तिम्रोजस्तो मुटु मेरो पनि’, ‘कसरी म भुलेँ’, ‘पोखिएर घामको झुल्का’जस्ता गीतहरु बच्चैदेखि गाउँदै आएकी मेनुकाले पूर्वाञ्चलमा हरेक वर्ष नारायण गोपाल स्मृति साँझमा गाउँदै आएकी छन्।
‘नारायण गोपालका गीतहरू अबको दु्ई सय वर्षपछि पनि उत्तिकै कालजयी हुनेछन्। मेरो नेपाल आइडलको यात्रा पनि नारायण गोपालकै गीतबाट सुरू भएको थियो। अडिसन राउन्डदेखि थियटर राउन्डसम्म मैले उहाँकै गीत गाएकी थिएँ,’ मेनुका भन्छिन्, ‘नयाँ पुस्ताका प्रतिभा उहाँकै गीतबाट रियाज गर्छन्।’
मेनुकाको ठम्याइमा अचेलका गीतहरु कि बच्चालाई मनपर्ने खालका हुन्छन् कि बृद्ध कि युवालाई मनपर्ने खालका। नारायण गोपालका गीतहरू बच्चादेखि बृद्धसम्म सबैलाई मनपर्ने खालका छन्। जस्तै ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ।’
‘म उहाँकै युगमा जन्मिन पाएको भए उहाँसँग डोयट गाउन पाउँथे होला, हामीले गाएका गीतहरु पनि कालजयी हुन्थे होलान्, मलाई यसकै थकथकी लागिरहेको छ,’ हाल मुम्बईमा रहेकी मेनुका भ्वाइस च्याटमा भन्छिन्, ‘हाम्रो शौभाग्य हो कि हामी अग्रज सर्जक र श्रष्टाहरुको गीत गाएर अगाडि बढ्न पाएका छौं।’
नेपाल रहेसम्म नारायण गोपाल
वरिष्ठ गायक एवं संगीत प्रशिक्षक गुरुदेव कामत पनि आफ्ना चेलाहरूलाई नारायण गोपालका गीतहरूबाट अभ्यास गराउँन्। नारायण गोपालको जस्तो मुच्र्छना निकालेर स्वरमा माधुर्य भर्न हौस्याउँछन्। उनको शब्दमा नारायण गोपालको स्वरमा माधुर्य तथा दीव्य आकर्षण छ।
‘नारायण गोपालले आफ्नो सुमधुर स्वर र गायकीबाट सबैलाई मन्त्रमुग्ध पार्नुभयो। उहाँका हरेक कृति अजर अमर छन्,’ कामत भन्छन, ‘अल्पायुमै संसार त्यागे पनि नेपाल रहेसम्म नारायण गोपालको नाम अमर रहनेछ।’
हरेक कलाकारको आ–आफ्नो विशिष्ठ शैली, प्रतिभा र कला हुने भएकाले नारायण गोपालसँग अरुलाई दाँज्न नमिल्ने कामतको तर्क छ। ‘नारायण गोपाल अद्वितीय कलाकार हुन्। उहाँको कपि गर्नु, एउटा कुरा तर उहाँकै हाराहारीमा पुग्नु बेग्लै कुरा हो। हरेक कलाकार आ–आफ्नो विशिष्ठ स्वरले चिनिने हो। नारायण गोपाल नेपाली संगीतको एउटा भिन्न, विशिष्ठ र अग्लो खम्बा हो।’