‘सम्पदामा जसको कौशल झल्किरहेको छ’
कतिपयलाई लाग्दो हो, नेपालमा सम्पदा पुनःनिर्माणको काम २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पपछि मात्रै सुरु भयो। 
कतिपयलाई लाग्दो हो, नेपालमा सम्पदा पुनःनिर्माणको काम २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पपछि मात्रै सुरु भयो। त्यसपछि मात्रै सम्पदाप्रति जागरुकता छायो र मोह पलायो।
तर, त्यसो होइन। केही व्यक्ति सम्पदाप्रति सदा समर्पित भएर लागिरहेका थिए र छन्। त्यसैमध्येका एक हुन् रोहित रञ्जितकार।
रोहितले अध्ययन गर्ने समयमा नेपालमा उच्च तहसम्म आर्किटेकको पढाइ हुँदैन थियो। उनले ललितपुरको पुलचोक इन्जिनीयरिङ क्याम्पसबाट प्लस टुस सरहको सर्टिफिकेट लिएँ। आफूले रुचि भएको विषय नेपालमा पढ्ने वातावरण नभएपछि के गरौं गरौंको अवस्थामा रोहित थिए। त्यहीँ बेला उनलाई रसियाबाट छात्रवृत्तिको अवसर प्राप्त भयो।
‘मैले उतैबाट मास्टर गरेँ। पिएचडीको अध्ययनको शिलशिलामा म १० महिना नेपालमा बस्थेँ। दशैंतिहारको बिदामा रसिया जान्थेँ। आफ्ना गाइडलाई भेट्थेँ,’ उनले भने।उनी रसियामा अध्ययनका लागि रहँदा त्यहाँ आमूल परिवर्तन भयो। आर्थिक परिवर्तनसँगै संसारकै उच्च अपराधिक क्रियाकलाप पनि बढे ।
सन् १९९१ मा रोहित नेपाल फर्किएँ । ‘नेपाल आउने वित्तिकै आर्किटेकचरको रुपमा मैले सबैभन्दा पहिला पाटनको मन्दिरमा काम गरेँ,’ उनले आफ्ना सुरुवाती दिन सम्झिएँ, ‘त्यसबेला पाटनस्थित सोठ कृष्ण मन्दिर र क्वाल्फुको उमा महेश्वर मन्दिरको छाना भत्किइन आँटेको थियो। स्थानीय गुठीसँग मिलेर उक्त सम्पदा मर्मत गरेँ।’
२०७२ वैशाख १२ को भूकम्पले अधिकांश सम्पदामा क्षति पुग्यो। जताततै उदेग र उराठलाग्दो अवस्था भयो। पाटन पनि अछुतो रहेन। त्यसपछि रोहितको काँधमा थप जिम्मेवारी थपिएझैँ भयो। उनी पाटनमा भत्किएका सम्पदालाई दुरुस्तै स्वरुप दिने काममा तल्लिन भए। धेरै सम्पदाका आर्किटेकचर हुन् रोहित रञ्जितकार।
नेपालमा जति पनि पुनर्निर्माणका काम भए ती सबै भूकम्पपछि भने भएका होइनन्। आर्किटेकचर रोहित विदेशबाट पढेर फर्कनेवित्तिकैदेखि पुनर्निर्माणमा लागिसकेका थिए। भूकम्प आउनुअघि उनले सन २००९ देखि २०१४ मा पुनर्निमाण गरेर मल्लकालदेखि नखुलेको भण्डारखाल, कमल पोखरीको ढोका खोलिदिए।
पाटन दरबार स्क्वायरको लहरमा रहेको एउटा ढोकाको भित्रि भाग फोहोर थुपार्ने ढंगुरका रुपमा परिणत भएको थियो। रोहितको टिमले उक्त फोहोर सफा गरे। भित्र मुलचोक जाने ढोका पहिल्याए। यस चोकको तलेजु भगवति मन्दिरमा मल्लकालीन राजाहरुले दशैंको बेला पशु बली दिएर पूजाआजा गर्थे। आजसम्म पनि उक्त पूजा विधिवत् रुपमा गरिँदै आएको उनी बताउँछन्।
चोकमा रहेको पूर्वपट्टीको दरबारको छाना १९९० को भूकम्पमा भत्किएको थियो। राणाकालमा सो छानामा चाइनिज टायल राखेर पुनर्निर्माण गरिएको थियो। रोहितले यो सम्पदाको पुरानो फोटो फेला पारे। पछि उनले चाइनिज टायल हटाएर परम्परागत शैलीको झिँगटी राखेर सम्पदालाई मूर्त र मौलिक रुप दिए। मानिसले आउजाउ गर्नै नमिल्ने माथिल्लो भागमा रहेको तलेजु मन्दिरसम्म आउजाउलाई सहज बनाए। जहाँ दशैंमा पूजाआजा गरेपछि अहिले पनि तलेजु भगवति राखिन्छ।
चोकको दक्षिण ढोकाभित्र प्रवेश गरेपछि पुगिन्छ सुन्दरी चोक। सन् १९९३ देखि बन्द अवस्थामा रहेका यहाँका पुरातात्विक सम्पदाको छानाहरू भत्किएका थिए। दयनीय, दुरुह र नाजुक अवस्थाका सम्पदालाई रोहित रञ्जितकारकै अगुवाइमा बलियो ढंगले पुनर्निर्माण गरियो। पाँच वर्षयता यो सम्पदामा आगन्तुकले आवतजावत गर्न पाएका छन्।
जीर्ण सम्पदाको पुनर्निर्माण मात्र होइन, लुप्त अवस्थामा रहेका सम्पदालाई जिवन्त स्वरूप दिएर सार्वजनिकरण गर्न सघाएर उनी पुरातात्विक कला काैशलको उच्चतम नमुना प्रस्तुत गरिरहेका छन्। ढुंगामा कुँदिएका अनेकौ देवीदेवता, नाग, कृष्ण मन्दिरको सानो स्वरुपसहित सुन झैं मूर्तिको धारा छ।
कुनै समय बाह्रै महिना पानी बग्ने यस धारामा अहिले वर्षायाममा मात्र पानी बग्ने गर्छ। यस चोकको पूर्वी ढोका मल्लकालदेखि बन्द थियो। रोहितको नेतृत्वमा खोलिएका ढोकाभित्र भण्डारखाल कमलपोखरी छ। जुन पोखरीबाट देखिने देगु तलेजुसहित तीन वटा मन्दिरको अग्र भागले दरबारभित्रको अर्को दरबार देखिएको भान गराउँछ। त्यसको पुनर्निर्माण र प्रवर्द्धनमा रोहितको भूमिका अहम रह्यो।
यो पोखरी कति ऐतिहासिक र महत्वको थियो भन्ने कुरा स्थानीय वृद्व भाइलाल महर्जन सुनाउँछन्। उनका अनुसार राजा सिद्धिनरसिंह मल्ल र उनकी रानी यस पोखरीमा स्नान गरेर कमलको फूल टिपेर ल्याउँथे। पोखरी वरिपरिको भागमा ध्यान जप गरी बस्ने गर्थे।
आर्किटेक्ट रोहितको नेतृत्वमा सयौं कलाकर्मीद्वारा पुनर्निर्माण गरिएका यहाँका सम्पदाभित्र लुकेको कलामा स्वदेशी र विदेशी पर्यटक निर्धक्कसँग रमाइरहेका देखिन्छन्। विक्रम सम्बत २०३० सालमा राजा वीरेन्द्र विरविक्रम शाहले राज्याभिषेक गर्ने समयमा काठमाडौं दरबार स्क्वायरमा आर्किटेकको काम गरेको थिए। त्यस क्रममा मन्दिर नढलोस् भनेर उनले कालभैरव पछाडिको लक्ष्मीनारायण, सरस्वती, महादेव, कागेश्वरी मन्दिरलाई बचाउन भूमिका खेले । इटुङबहालमा रहेको मन्दिरको पुनर्निर्माण पनि उनले नै गरेका हुन्।
‘सम्पदा पुनर्निर्माणका क्रममा यसप्रति जारण ल्याउने काम पनि गरियो,’ रञ्जितकारले भने। ५४ औं वसन्तमा हिँडिरहेका रोहितले आज पनि १६ औं शताब्दीका कलाकौशललाई २१ औं शताब्दीमा पनि दुरूस्तै उतार्ने प्रयास जारी राखेका छन्।
पाटनको पटुको गणेश मन्दिर, इखालखुको नारायण मन्दिर, बलिमाको नारायण मन्दिरका आर्किटेकमा उनको कला झल्किरहेको हुन्छ। देशका ऐतिहासिक सम्पदादेखि निजी क्षेत्रमा पनि उनको योगदान कम छैन। जसको प्रशंसा अन्तर्राष्ट्रिय स्तरमा हुने गरेको छ।
‘आफूले जानेको र सकेको काम गर्नुपर्छ, त्यहीँ हो देशका लागि गर्ने भनेको,’ रञ्जितकार भन्छन्, ‘मरेर लानु के छ र? सम्झना छोड्ने प्रयास गर्ने हो।’ हाल उनी पाटनस्थित भिमसेन मन्दिर जिर्णोद्वारको काममा तल्लीन छन्। फुर्सदको समयमा सम्पदा पुनर्निर्माणकै बारेमा सोच्छन्। पुनर्निर्माण भएका सम्पदा हेरेर दंग पर्छन्।
‘आजसम्म कुनै पनि टेन्डरको काम गरेको छैन, त्यसो गर्दा गुणस्तर कम हुन्छ,’ उनले भने, ‘काम ढिला होस् तर परम्परागत नै हुनुपर्छ।’ भिमसेन मन्दिरमा भएको चुन देखाउँदै उनले भने, ‘राणाकालमा पुनर्निर्माण गर्दा चुन प्रयोग गरेकाले यसलाई परम्परागत मानिन्छ तर त्यो सत्य होइन।’ विभिन्न स्थानमा भत्किँदै गएका सम्पदा मर्मतदेखि निजी नयाँ सम्पदाको निर्माण गरेर उनी आफ्नो कलाको कौशल पस्किरहेका छन्।
सम्पदाकै क्षेत्रमा २९ वर्ष काम गरेका उनले सांस्कृतिक सम्पदा पुनर्निर्माणमा समयसँगै चुनौति पनि थपिएको देखेका छन्। ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्न विशेष प्रकारको माटो र इँटा चाहिन्छ। डेबलपमेन्ट प्रेसर (विकासको चाप) का कारण अहिले ती प्राकृतिक वस्तुहरु पाउन मुस्किल भएको छ। ‘त्यसैले आयातित वस्तुको मिसावट हुने खतरा छ, सचेत हुन जरुरी छ’, उनी सुझाउँछन्।
‘उहिले पाटन, थिमि, भक्तपुरतिरका बासिन्दा हिउँदमा धान काटेपछि माथिल्लो भागको माटो पन्छाएर तल्लो भागको माटोबाट इँटा बनाउँथे। वर्षामा पुनः उक्त माटो खेतमा फिजाएर खेति गर्थे,’ उनले भने, ‘त्यतिबेला हरेक कुरा व्यवस्थित र शुद्ध हुन्थ्यो। अहिले सबैतिर हतार र मिसावटको खतरा पनि छ।’
सम्पदाहरु साँघुरिँदै गएकोप्रति पनि रोहितको चिन्ता छ। पहिला सार्वजनिक सम्पदा, मन्दिरको आयस्रोत हुन्थ्यो। मन्दिरको वरिपरि खाली जमिन हुन्थ्यो। त्यहीँ जमिनमा सामाजिक संस्कार गरिन्थ्यो, भोज, भत्तेर खाइन्थ्यो। त्यसवापत आयस्ता उठाएर मन्दिर संरक्षण, पुनर्निर्माण गरिन्थ्यो। उनले भने, ‘अब त्यस्तो चलन पनि हराउँदै गएको छ, सम्पदा जोखिममा पर्दै गएका छन्।’