ज्येष्ठ नागरिकप्रति ‘प्रचण्ड’ उपहास
अघिल्लो साता कास्की–२ को चुनावी चहलपहल बुझ्न यो पंक्तिकार पोखरा पुगेको थियो।
फेवातालको किनारै किनार प
अघिल्लो साता कास्की–२ को चुनावी चहलपहल बुझ्न यो पंक्तिकार पोखरा पुगेको थियो।
फेवातालको किनारै किनार पामेतिर जाँदै गर्दा बाटो छेउको एउटा चौतारीमा ढाका टोपी लगाएका वृृद्धहरुको सानो समूह चुरोटको चस्का लगाउँदै बात मारिरहेको देखियो। ति ज्येष्ठ नागरिकको मुहारमा मुस्कान त थियो, तर आँखाको गहिराईभित्र अतार्किक कष्ट लुकेको स्पष्ट झल्किन्थ्यो।
एकछिन त्यहाँ सुस्ताउँदा थाहा भो, अधिकांश धेरैका सन्तान विदेशीएका रहेछन्। कोही कतार, कोही दुबई, कोही कोरिया। सघन हुँदै गइरहेको हिउँदे यामको त्रास उनीहरुमा झल्किन्थ्यो। घर पनि छ, सम्पत्ति पनि छ, साथमा पैसा पनि छ। तर, उनीहरुलाई चाहिने एउटै चिज छैन, सहारा।
नेपालका अधिकांश ज्येष्ठ नागरिकको अवस्था यस्तै छ। स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्ने सरकारका कारण जसका सन्तान दिनहुँ विदेशीन बाध्य छन् र उनीहरुले पठाएको विप्रेषणको भरमा देशको अर्थतन्त्र चलिरहेको छ, ती जेष्ठ नागरिकप्रति राज्य उदासीन छ। विदेशीएका छोरा छोरीका कारण एक्लो परेका ज्येष्ठ नागरिकमध्ये अधिकांश आफ्ना सन्तानको उपेक्षा, अभद्र व्यवहारबाट दिक्क भएर वृद्धाश्रमसम्म पुग्न विवश छन्।
हुनेखाने सभ्रान्त घरानाका हजुरबा–हजुरआमासमेत वृद्धाश्रममा भेटिएका छन्, जसका सन्तान वैभवशाली जीवन बाँचिरहेका छन्। ति विवश ज्येष्ठ नागरिकप्रति सरकार निष्पृह, बेखबर, योजनाविहीन र अनुत्तरदायी छ।
उपेक्षासँगै उपहास
प्रचण्डले हालै पोखरामा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा मुलुकभरका ज्येष्ठ नागरिकको उपहास गरेका छन्, जुन उनको चिन्तनको दरिद्रता हो।
कास्की–२ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलप्रति लक्षित गर्दै उनले ‘देवघाट जानुपर्ने ७७ वर्षका बुढालाई चुनावमा खडा गराइएको’ भनेपछि यतिबेला पोखराका मात्र हैन, मुलुकभरका ज्येष्ठ नागरिक मुर्मुरिएका छन्।
प्रचण्डले आफ्नै जन्मथलो कास्की ढिकुरपोखरी गाउँका बुढाबुढीको पनि अपमान गरेका छन्, जुन गाउँमा उनले प्रारम्भीक शिक्षा हासिल गरेका थिए। उनले चितवनका बुढाबुढीको पनि अपमान गरेका छन्, जहाँ उनले उच्च शिक्षा हासिल गरेका थिए। उनका कतिपय गुरुहरु अझै जिवितै होलान्, अहिले तिनको मनमा पनि ठेस पुगेको होला।
हजुरबुबा भइसकेका प्रचण्ड आफैँ चाहिँ कुनै तन्नेरी जवान हैनन्। पर्यटन मन्त्री योगेश भट्टराईले नेकपा एकीकरण सम्पन्न हुनासाथ प्रचण्ड र अर्का अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएकै हुन्। योगेशको त्यहीँ आशयलाई कांग्रेस नेता गगन थापाले स्मरण गराएका मात्र थिए। प्रचण्ड उत्तेजित भइहाले र ज्येष्ठ नागरिकलाई निरीह र देवघाट जान योग्य पात्रका रुपमा चित्रित गरिदिए।
प्रचण्डको भाषणपछि पोखराका ज्येष्ठ नागरिकहरु क्रुद्ध हुँदै सडकमा उत्रिएका छन्। बिहीबार ज्येष्ठ नागरिकहरुले प्रचण्डको अभिव्यक्तिविरुद्ध पोखराको चिप्लेढुंगामा प्ले कार्डसहित प्रदर्शन गरे। उनीहरुले ‘वृद्धवृद्धाविरोधी प्रचण्ड मुर्दाबाद’को नारा लगाउँदै सोधे, ‘प्रचण्ड के तिमी कहिल्यै बुढो हुँदैनौं?’
संविधानकै उल्लंघन
नेपालको संविधानमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नुपर्ने, उनीहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्नुपर्ने उल्लेख छ।
तर प्रचण्डको अभिव्यक्तिले संविधान, ऐन र नियमावलीको उल्लंघन गरेको छ। प्रचण्डको भनाइले ज्येष्ठ नागरिकको श्रद्धा, आदर र सद्भाव अभिवृद्धिको मर्ममै प्रहार गरेको छ। संविधानप्रदत्त अधिकार, सुरक्षा र सेवा पाउन नसकेकोमा पहिलेदेखि नै संघर्षमा उत्रिन बाध्य ज्येष्ठ नागरिकको घाउमा उनले नुनचुक छर्केका छन्।
संयुक्त राष्ट्र संघले सन् १९९१ डिसेम्बर १६ मा जारी गरेको ज्येष्ठ नागरिकसम्बन्धी घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको स्वतन्त्रता, सहभागिता, हेरविचार र सम्मान हुनुपर्ने भनिएको छ। प्रचण्डले यो विश्वव्यापी मान्यताको समेत खिल्ली उडाएका छन्। जसले गर्दा नेपालका २७ लाख ज्येष्ठ नागरिक (जन गणना २०६८ अनुसार) को मानमर्दन मात्रै भएको छैन, चित्तमै ठेस पुगेको छ।
नेकपाले हालै ज्येष्ठ कम्युनिष्ट मञ्च स्थापना गरेको छ, जसमा पुराना कम्युनिष्ट नेता कार्यकर्तालाई समेटिएको छ। प्रचण्डले अब यो मञ्च तत्काल भंग गरी ति सबै कम्युनिष्टलाई देवघाट गई ध्यान साधना, सत्सँग र ज्ञानको मार्गमा लाग्न निर्देशन दिनुपर्ने हो कि? आखिर उनको भनाइले ज्येष्ठ कम्युनिष्टको पनि त चित्त कुँडिएको होला।
प्रचण्डको यस्तो अभिव्यक्तिले उनी र उनको दलले ज्येष्ठ नागरिकको मर्म र भावनाको सम्मान गर्दैन भन्ने स्पष्ट हुन्छ।
कुरो सुन्नु बुढाको...
कास्की–२ मा कांग्रेसका उम्मेदवार ७५ वर्षीय खेमराज पौडेलको अनुभव त्यस्तो नौनीजस्तो हो, जुन राजनीतिको परिपक्व कराहीमा तताएर खारिएको छ।
जहानीया संस्कारको झल्को दिँदै स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी भएकै आधारमा चुनावी मैदानमा खडा गराइएकी विद्या भट्टराईको दाँजोमा अनुभवी, संघर्षशील र इमान्दार खेमराज पौडेलको विजय कास्कीबासीका लागि मात्र हैन, समग्र संघीय संसदकै शोभा हुनेछ।
पक्कै पनि, देश हाँक्ने भनेको युवा पाखुरा र काँधहरुले नै हो। तर, उनीहरुलाई सही मार्गदर्शन गर्ने, बरालिन नदिने र हप्काएर भए पनि सही दिशामा हिँडाउने भूमिका अग्रज पुस्ताको हो। खेमराज शारीरिक रुपमा तगडै छन्। अझै पनि युवा जोशका साथ राजनीतिमा सक्रिय खेमराजको तन र मन दुवै तन्दुरुस्त छ। अनि विचार परिपक्व र अनुभवी। यसअघि सुकुम्बासीको व्यवस्थापनका क्षेत्रमा उनले निश्कलंक भएर जुन भूमिका निर्वाह गरे, त्यसको उच्च मूल्यांकन गर्नैपर्छ।
‘आगो ताप्नु मुढाको, कुरो सुन्नु बुढाको’ भन्ने उक्ती हाम्रा पुर्खाले त्यसै बनाएका हैनन्। यो उक्ती लामो अनुभवबाट खारिएको हो। हिउँदे याममा मुढाको आगो ताप्दै गर्दा हामीले संघीय संसदमा बुढा खेमराजको कुरा पनि त सुन्नुपर्ला नी हैन? खेमराजको विजय मुलुकभरका लाखौं ज्येष्ठ नागरिकको सम्मान हो। हाम्रा हजुर बाको सम्मान हो। हाम्री हजुर आमाको सम्मान हो।