Kathmandu Press

प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, पाँच वर्षलाई ओली नै प्रधानमन्त्री 

काठमाडौं, मंसिर ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल

प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, पाँच वर्षलाई ओली नै प्रधानमन्त्री 

काठमाडौं, मंसिर ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। 

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको बताए। ‘दुई अध्यक्षमध्ये ओलीले सरकार सञ्चालन गर्नु हुनेछ भने प्रचण्डले पार्टी सञ्चालनको काम अब गर्नु हुनेछ,’ उनले भने।  

प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षसम्मै सरकार चलाउने भएका छन्। योसँगै अब यो संसद रहेसम्म ओली नै प्रधानमन्त्री रहने छन्।

बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ। पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्ने उनले बताए। 

अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ। प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने  जानकारी दिए।
 

 

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, मंसिर ४, २०७६