सांसद आलम पुर्पक्षका लागि थुनामा
काठमाडौं, कात्तिक २९ : नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत राैतहटले
काठमाडौं, कात्तिक २९ : नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत राैतहटले पुर्पक्षका लागि थुनामा पठाइएको छ।
पहिलो संविधानसभाको निर्वाचनका समयमा रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका आलमलाई शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाउन आदेश दिएसँगै गाैरस्थित कारागारमा राखिएको हो। आलम पक्षका २८ र बादीतर्फका १२ जना कानून व्यवसायीले बहस गरेका थिए।
आलमका पक्षमा बहस गर्ने कानून व्यवसायी धेरै भएपछि बहस ८ दिन लम्बिएको थियो। सरकारी वकिलको कार्यालय, रौतहटले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।
आलममाथि त्रिलोकप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते बनाएकोमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने दाबीसहित अभियोग पत्र दर्ता गरिएको थियो।
प्रहरीले आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो। आलम पक्राउ परेपनि अन्य भने फरार छन्।






