टुँडिखेलको त्यो खरिबोट, त्यहीँ रोपिँदै नयाँ बोट
काठमाडौं, कात्तिक २९ : शहरीकरणको चेपाइमा पर्दैगएको टुँडिखेलको ऐतिहासिकतासँग खरिबोटको सम्बन्ध प्रगाढ
काठमाडौं, कात्तिक २९ : शहरीकरणको चेपाइमा पर्दैगएको टुँडिखेलको ऐतिहासिकतासँग खरिबोटको सम्बन्ध प्रगाढ छ।
अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने, ‘मैले बुझेअनुसार मध्यकालका मल्ल राजाको पालादेखि प्रयोगमा आएको थियो– टुडिखेल। राणाकालमा सरकारको उर्दी जारी गर्ने थलो थियो– टुँडिखेलको खरिबोट।’
राणा प्रधानमन्त्री चन्द्रशमशेरले दासप्रथा मुक्त भएको घोषणा पनि टुँडिखेलको यसै खरीबोटमा बनाइएको मञ्चबाट गरेका थिए। त्यसबेला कुनै पनि महत्वपूर्ण कामको घोषणा खरिबोट वरिपरि मञ्च बनाएर गर्ने चलन थियो।
अकुपाई टुँडिखेल अभियानमा संलग्न रहेका अशोकसिद्धि तुलाधर उक्त ऐतिहासिक खरिबोटलाई यसरी सम्झन्छन्, ‘चार जना शहीदमध्ये शुक्रराज शस्त्रीलाई जुद्ध शमशेर राणाले मृत्युदण्ड सजाय सुनाएको ठाउँ पनि त्यही खरीको बोट थियो। ’
तुलाधरका अनुसार, सन् १९२४ मा टुँडिखेलभित्र ६२ हजार रुखहरु थिए । २००७ साल फागुन ७ गते राजा त्रिभुवनले त्यही ठाउँबाट राणाशासन अन्त्य भएको घोषणा गरेका थिए।
पहिलो र दोस्रो विश्व युद्वमा नेपाली सैनिकहरु युद्व लड्न जाँदा टुँडिखेलमै भेला भएर रासनपानीको व्यवस्था गरी जान्थे। शाह राजाहरुले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्नुपर्यो भने पनि टुँडिखेलबाटै गर्थे ।
प्रजातन्त्र अपहरण गरी सत्ताको बागडोर आफ्नो हातमा लिएका राजा महेन्द्रले पनि टँुडिखेलमा कार्यक्रमहरुको आयोजना गर्थे। ती ऐतिहासिक तस्विर अहिले पनि देख्न सकिन्छ। बेलायती महारानी नेपाल आउँदा पनि त्यसबेला राजकीय कार्यक्रमसेत टुँडिखेलमै गरिएका पुराना तस्विरहरुमा देख्न सकिन्छ।
ब्रिटिश शासनबाट स्वतन्त्र भएपछि भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल आएका थिए। २०१९ मा राजा त्रिभूवनसँग उनको भेटवार्ता पनि टुँडिखेलमै भएको फोटो देख्न सकिन्छ।