Kathmandu Press

‘नेकपा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख’

काठमाडौं, कात्तिक २८ : समाजवादी पार्टीका संघीय अध्यक्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले

‘नेकपा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख’
फाइल फोटो

काठमाडौं, कात्तिक २८ : समाजवादी पार्टीका संघीय अध्यक्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी फेरि कहिल्यै उठ्न नसक्ने गरी पतनको दिशातर्फ अभिमुख भइरहेको विश्लेषण गरेका छन् । 

समाजवादी पार्टीको बिहीबार सुरु पार्टीको संघीय परिषद् बैठकमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पूर्व कम्युनिष्ट भट्टराईले यस्तो मूल्यांकन गरेका हुन् ।
दश वर्षेसशस्त्र द्वन्द्व सञ्चालन गर्ने तत्कालीन नेकपा माओवादीका एक जना प्रमुख नेता भट्टराईले चार वर्षअघि कम्युनिष्ट सिद्धान्त र पार्टी परित्याग गरी बेग्लै पार्टी गठन गरेका थिए । 

नेकपा बलियो पार्टीका रुपमा रहिरहन नसक्ने तर्क गर्दै उनले भनेका छन्, ‘दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’  

राजनीतिक प्रतिवेदनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबारे उल्लेख गरेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको छ।

पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद– माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हीनताभाष छ । यही वैचारिक संकटबीच उनीहरुले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र कम्युनिष्ट’ भएको बुुझिदिन आग्रह गर्दै आएका छन् ।’  

नेकपाबारे विश्लेषण गर्दै उनले भनेका छन्, ‘ एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन अर्कोतिर ‘कम्युनिष्ट– कम्युनिष्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनिछोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने वित्तिकै गौरवीकरण गर्दछन् । यसरी नेकपाको राजनीतिक व्यवहार र नेकपाले संचालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ ।’

डा भट्टराईले नेकपाका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा लज्जास्पद ढंगले उदांगिदै गएको र  आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको आरोप पनि लगाएका छन् । उनको विश्लेषण छ, ‘शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन। एनसेलको पुँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण भएका छन्। सम्पति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसंगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।’ 

डा. भट्टराईको प्रतिवेदनमा कांग्रेसले आफ्नो दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि समाजवादी दल नभएको बताएका छन् । उनले भनेका छन्, ‘वैचारिक दृष्टिकोणले नेपाली काँग्रेस ‘उदार–लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने दल हो ।’

‘२०४६ साल यताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन’ भन्दै भट्टराईले भनेका छन्, ‘२०४६ साल पछि कंग्रेस नेतृत्वमा सरकार बन्यो र उसले आफ्ना नीतिहरु पूँजीवादी बजार अर्थतन्त्र को पक्षमा लक्षित गर्दै गयो । सन् १९९० को नवउदारवादको विश्वव्यापी लहर ले कांग्रेसलाई ‘प्रजातान्त्रिक–समाजवाद’ को आवरणबाट बाहिरिन सहज बनाइदियो । यो धारसँग हाम्रो पार्टीको मिल्ने विषय भनेको दलीय स्वतन्त्रता र बहुदलीय व्यवस्था मात्र हो ।’

कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भएको उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘तर कहिल्लै विश्वासनीय छानबीन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ ।’

उनले राप्रपालाई पुरातन सम्बद्र्धनवादी धारको प्रतिनिधि भएको उल्ल्लेख गरेका छन् । ‘पुराना शासक वर्ग र परिवार राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ताहरुको राजनीतिक रक्षाकवचका रुपमा यो दलको उदय भयो । जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको छ’, उनले भनेका छन् ।  

राप्रपाबारे उनले लेखेका छन्, ‘यो दल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको विरुद्धमा छ । ‘महेन्द्रीय राष्ट्रवाद’ को पैरवी गर्ने राप्रपा धारले वेलावेला कांग्रेस–कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ । राजतन्त्र फर्किने हल्ला गर्दछ । नेपाली जनताले लामो संघर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरेका हुन । त्यो फर्किने कुनै संभावना छैन । तथापि यो दलले छर्ने अनावश्यक भ्रम चिर्न हाम्रो पार्टीले निरन्तर चनाखो रहनु पर्दछ।’ 

हेर्नुस् राजनीतिक प्रतिवेदनको पूर्णपाठ: 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, कात्तिक २८, २०७६