सरकार ! हामीले राम्रो वातावरणमा कहिले पढ्न पाउँछौं?
जिबी कार्की
नेश्नल मेडिकल कलेज, वीरगञ्ज
हामीले कानूनविपरीत शुल्क
जिबी कार्की
नेश्नल मेडिकल कलेज, वीरगञ्ज
हामीले कानूनविपरीत शुल्क फिर्ता गर्न माग गरेपछि कलेजले हामीलाई दुई किसिमको आश्वासन दिएको थियो। पहिलो, अरु कलेजले रकम फिर्ता गरेपछि आफूले पनि गरिदिने र त्यो गन नसके बाँकी शुल्कमा समायोजन गर्ने।
कलेजले लिएको बढी शुल्क समायोजन हुने भयो भनेर हामी ढुक्क थियाैं। तर महिनौ बित्दा पनि शुल्क फिर्ता वा समायोजनको कुनै काम भएन। त्यसपछि हामीले कलेजलाई विभिन्न बहानामा लिएको अबैध शुल्क फिर्ताका लागि लिखित र मौखिअक आग्रह गर्यौं। कलेज प्रशासनले हाम्रो यो आवाज सुन्नै चाहेन।
गत कात्तिक ७ गते हामीले अतिरिक्त शुल्क फिर्ता गर्न माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका थियौं। तर त्यसपछि त कलेज प्रशासन हामीविरुद्ध खनिन थाल्यो। हामी कोठा बसेर पढिरहेका थियौं। कोही कलेजकै सिनियर दाइहरु र कोही अपरिचित व्यक्तिहरु आएर हामीलाई धम्की दिन थाले।
ति व्यक्तिले हाम्रो मोबाइल बलजफ्ती खोसे। अर्को कोठामा लगे। अनि लात्तिने हान्न थाले। हामी महिला–पुरुष १० जनाले पिटाई खायौँ। कोठामा कुटपिट गरेपछि फेरि हामीलाई होस्टेलको कौशीमा लगे। शुल्कलाई लिएर आन्दोलन गरे कौशीबाट तल फाल्ने धम्की दिए। हामी कौशीमै थियौं, अरु साथीहरुले प्रहरीलाई खबर गरेछन्।
खबर गरेको १५ मिनेटपछि प्रहरीको टोली आयो। त्यसपछि विद्यार्थीमाथि हातपात गर्नेलाई कारवाही हुनुपर्छ भन्दै हामीले कलजेमै आधा घण्टा धर्ना दियौँ। लगत्तै कलेज सञ्चालक बसुरुद्दिन अन्सारी आउनु भयो। ‘तिमीहरु रुममा जाऊ’ अब डराउनु पर्दैन भन्नुभयो।
उहाँले धेरै करकाप गरेपछि हामी आआफ्नो कोठामा आयौँ। शान्तिपूर्ण आन्दोलन गर्दा त हामीलाई यातना दियो। कलेज प्रशासनले भने अब हामी फर्केर जान सक्ने वातवरण छैन। किनकि हामी केन्द्रमा आइसकेपछि अझै उनीहरुले हामीलाई ‘टारगेट’ गरेका छन्।
जबसम्म हाम्रो सुरक्षाको ग्यारेन्टी हुँदैन तबसम्म हामी कलेज फर्कन सक्दैनौं। हामीले अब कि त पढाइ नै छोड्नु पर्छ, कि यो आन्दोलनलाई जसरी पनि सफल बनाउनु पर्छ। यसप्रति सम्बन्धित निकायको ध्यान जाओस्। अहिले यसैका लागि हामी गृहमन्त्रालय, शिक्षा मन्त्रालय लगायत विभिन्न कार्यालयमा धाइरहेका छौँ।
कानूनबमोजिम शुल्क कायम होस्, अनावश्यक शुल्कको भारी नबोकाइयोस् भन्दा पनि हामीमाथि यस्तो हुन्छ भने अब हामी के गर्ने? सरकार ! विद्यार्थीलाई पढ्ने वातावरण त बनाइदे! पढ्नलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने कस्तो मुलुकमा छाैं हामी?
(सुरक्षाका कारणले नाम परिवर्तन गरिएको छ।)






