विद्याको झोलामा के-के छ?
कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्तासीन दल नेकपाबाट उम्मेदवार बनेकी विद्या भट्टराईको झोला उनका देवरले बोकेको
कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्तासीन दल नेकपाबाट उम्मेदवार बनेकी विद्या भट्टराईको झोला उनका देवरले बोकेको तस्वीर यतिबेला चर्चा र विवादको विषय बनिरहेको छ। सामाजिक सञ्जालमा झोला बोक्ने व्यक्तिलाई ‘झोले कार्यकर्ता’को उपमा दिइएको छ।
जे होस्, विद्याको झोला यतिबेला चर्चामा छ। पंक्तिकारलाई लाग्छ, झोला आफैँमा विवादको विषय हैन। बरु, हामीले झोलामा के के छ? भन्नेतर्फ बहस केन्द्रित गर्नुपर्थ्यो। विद्याको त्यो झोला खोल्ने हो भने वाइडबडी घोटालाको रहस्य पर्दाफास हुनसक्छ कि? वाइडबडी घोटालाको छिनोफानो नहुँदै पतिको अवसान भएकाले विद्यालाई त्यसबारे केही न केही त थाहा होला। के त्यो झोलामा वाइडबडीको गुह्य छ?
नेकपाकी उम्मेदवार भएकाले विद्याको झोलामा पक्कै पनि नेकपाको दुई तिहाइ बहुमतको सरकारको कार्य मूल्यांकन पनि त होला। उनले जनतासँग भोट माग्ने आधारहरु त्यसमा होलान्। आखिर यो अढाइ वर्षमा नेकपा सरकार आफ्नो चुनावी घोषणापत्रमा खरो उत्रियो कि उत्रिएन भन्ने प्रश्नको जवाफ यदि विद्याको झोलामा छैन भने त्यो झोलाकै के औचित्य रह्यो र?
विद्या आफैँ महिला हुन्। भोट माग्न जाँदा महिलाहरुले सोध्नेछन्, ‘कमरेड निर्मला पन्तका हत्यारा र बलात्कारी कहिले पक्राउ पर्छन्?’ यदि यो प्रश्नको चित्तबुझ्दो जवाफ उनको झोलामा छैन भने झोला बोक्नुको के सार्थकता रह्यो? उनको झोलामा सुन काण्डका अभियुक्तहरुको नाम छ कि छैन? उनको झोलामा एनसेल कर किन मिनाहा गरियो भन्ने प्रश्नको जवाफ छ कि छैन?
देवरलाई नै बोकाउनुपर्ने त्यो भारी झोलामा जनतामाथि करमाथि कर किन थोपरियो? भन्ने गुनासाको हल छ कि छैन? त्यो चिटिक्क परेको झोलामा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी तथा शिक्षा, स्वास्थ्य र निर्माण सेवामा भइरहेको माफियातन्त्र अन्त्यको सुत्र छ कि छैन? र, उनको दामी झोलामा पर्यटन नगरी पोखराको समग्र विकासको प्याकेज छ कि छैन?
झोला कसले बोक्यो, त्यो बेग्लै कुरा हो। मुख्य कुरा हो, झोलामा के छ? यदि विद्याको झोलामा आफ्नो क्षेत्र र समग्र देशकै विकासको स्पष्ट खाका, भ्रष्टाचार नियन्त्रणको सूत्र, महिलाको हितका योजनाहरु छैनन् भने त्यसको केही काम छैन।
विद्या उम्मेदवार हुन्, उनको झोलामा जनताका लागि कोशेली हुनुपर्छ। उनको झोलामा जनताको हित गर्ने चिजहरु हुनुपर्छ। लिपस्टिक, पाउडर, काइयो, ऐना, पर्स, न्याप्किन, पर्फयूम र रुमाल मात्र भएको झोला त जोसँग पनि हुन्छ। स्वर्गीय रविन्द्र अधिकारीको लिगेसी बोकेर मैदानमा होमिएकी उम्मेदवारको झोला चानचुने हुनुहुँदैन।
झोला बोकाउने संस्कार
विद्याको झोला उनका देवरले बोके। झट्ट सुन्दा यो सामान्य विषयजस्तो लाग्छ। तर, यसको लहरो शीतल निवासकी विद्यासम्म तन्किन्छ।
कात्तिकको पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारी सप्तरीको छिन्नमस्ता भगवती शक्ति पिठमा पूजाआजा गर्न गएकी थिइन्। त्यसबेला एउटा दृश्य निकै उदेकलाग्दो थियो। राष्ट्रपति भण्डारी, उनका छोरीहरु उषाकिरण र निशा कुसुमका जुत्ता सेनाले बोकिरहेका थिए। सेनालाई आफ्ना जुत्ता बोकाउने त्यो हर्कतको सर्वत्र आलोचना भयो।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीकी पत्नी विद्या भण्डारी पहिलो पटक काठमाडौं क्षेत्र नम्बर एकको निर्वाचनमा खडा हुँदा ‘जनताकी छोरी’को उपमा दिइएको थियो। मदनको शोकको समबेदना भजाएर उनले चुनाव जितिन् र राजनीतिमा उनको उदय भयो। एमालेका अन्य नेताका निजी मोटर भइसक्दा पनि साइकल लिएर सामान्य चप्पलमा हिँड्ने मदनको आदर्शलाई भने अन्ततः उनका उत्तराधिकारीले दासढुँगामै बगाए।
राष्ट्रपति भएयता शीतल निवासले विद्यालाई ‘जनताकी छोरी’को साटो ‘महारानी’ सरह राजसी ठाँटको आवरण ओढाइरहेको छ। गत वर्ष दशैंमा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलगायतका व्यक्तिहरुले राष्ट्रपतिसामू घुँडा टेकेर टिका थाप्नु परेको थियो। दरबारिया संस्कारको त्यो निरन्तरता देखेर उनलाई जनताकी छोरी ठान्नेहरु खिस्रिक्क परेका थिए।
जनतालाई सास्ती दिने गरी ट्राफिक जाम गराएर हुने उनको राजसी सवारी, छिनछिनमा बदलिरहने उनको महँगो पोशाक, गाडीबाट ओर्लिँदा उनका पाउनेर पिर्का राख्नुपर्ने परिपाटी र करोडौंका गाडीहरुको ताँती आदि दृश्य राणाजीका पालामा त कुरै छाडौं, पञ्चायतकालमा पनि देखिएको थिएन।
सर्वहारा वर्गको मुक्तिको दुहाइ दिएर सत्तामा आएका कम्युनिष्टहरुको सामन्ती, निम्न पूँजीवादी र बुर्जुवा जीवनशैली र रवाफले के स्पष्ट गरेको छ भने भूमिगतकालमा उनीहरुले दिने गरेको निष्ठाको राजनीति र कम्युनिष्ट आचरणको नारा फजुल रहेछ। नारायणहिटीमा रहेका राजा त सहजै नागार्जुन या निर्मल निवासतिर गए, तर कम्युनिष्टका नाममा अहिले बालकोटदेखि भैँसेपाटीसम्म, शीतल निवासदेखि सिंहदरबारसम्म नयाँ राजारानीहरुको उदय भएको छ। र, त्यहीँ सामन्ती संस्कारकै सानो विम्ब थियो, कास्की–२ की नवउम्मेदवार विद्या भट्टराईको झोला प्रकरण।
कसै कसैलाई लाग्नसक्छ, विद्याको झोला उनका देवरले बोक्नु कुनै ठूलो मुद्दा हैन। तर कम्युनिष्ट हुँ भन्नेहरुका हकमा भने यो ठूलै मुद्दा हो। एउटी महिलाको निजी व्याग कुनै पुरुषले बोक्नु आफैमा अशोभनीय हो। व्याग हेर्दा त्यो निकै हल्का भएको स्पष्ट हुन्छ। आफ्नो हल्का अनि निजी व्याग देवरलाई बोकाउनै पर्ने बाध्यता विद्यामा थिएन। उनले कोखिलामा ब्याग भिरेर पनि माला पहिरिन र नमस्ते फर्काउन सक्थिन्। अतः यो व्यवहाकिर भन्दा पनि सोच र संस्कारमा आएको बुर्जुवापनको सवाल हो।
माननीय हुनुअघि नै अरुलाई भरिया बनाउने कार्यशैली विद्यामा देखियो। म सामान्य महिला मात्र रहिन्, अब म सांसद हुँदैछु र विशिष्ठ मानव हुँ भन्ने दम्भले सामान्य काममा पनि सहयोगी खोज्ने र कज्याउने प्रवृत्तिको भ्रुण उनको चेतनामा उत्पन्न भएको हो। शीतल निवासकी विद्याले अपनाएको राजसी शैली र संस्कार पोखराकी विद्यामा सल्किँदैछ भन्ने संकेत पनि हो।
पक्कै, परेमा देवरले भाउजुको ब्याग मात्र हैन, भाउजुलाई नै बोक्नुपर्ने पनि हुनसक्छ, तर विशेष अवस्थामा। भाउजु बिरामी भएकी छन् भने बोकेर उनलाई अस्पताल या एम्बुलेन्ससम्म लैजानु देवरको कर्तव्य पनि हो। तर, उम्मेदवारी मनोनयन गर्न गएकी विद्या ठमठमी हिँडिरहेकी थिइन् र उनी तन्दुरुस्त थिइन्।
स्खलित आदर्श
भूमिगत कालका कम्युनिष्टहरुको नाटकै बेग्लै हुन्थ्यो। उनीहरु बढीभन्दा बढी जनताका प्यारा बन्ने कोशिश गर्थे। भरियाका भारी बोकिदिन्थे र तिनलाई प्रभावमा पारी संगठनमा आवद्ध गर्थे। गाउँका किसानका खेत आफैँ जोतिदिन्थे र त्यो क्षेत्रमा कम्युनिष्टको भूमिगत संगठन खडा गर्थे।
भूमिगत कालमा गाउँ–गाउँका सेल्टरहरुमा जाँदा कम्युनिष्ट नेता कार्यकर्ताहरु आफूले खाएको भाँडा आफैँ माझ्थे। समानताको कम्युनिष्ट आदर्श बमोजिम मालिक र नोकरबीचको वर्ग विभेदको अन्त्य गर्नुपर्छ भन्दै उनीहरु गरिब मजदुर तथा किसानहरुसँग हिमचिम बढाउँथे। पँधेराबाट पानी ल्याइदिन्थे र घर आँगनसमेत बढारिदिन्थे।
जातीय विभेदमा पारिएका दलितहरुको घरमा गई उनीहरुले पकाएको खाइदिन्थे र प्रभावमा पार्थे। नेपालका कम्युनिष्टहरुको संगठनको जग यस्तै क्रियाकलापहरुबाट तयार भएको हो। जनजाति, दलित, मजदुर, किसानहरुमा कम्युनिष्टहरुको प्रभाव बढ्नुको एउटा कारण उनीहरुको यसखालको आचरण पनि थियो।
हाइब्रिड प्याज या लसुन झैं अचेलका कम्युनिष्टहरुमा पनि हाइब्रिड जात देखा परेको छ। निष्ठाको राजनीति, नैतिक आचरण र जनपक्षीय व्यवहारको लेसमात्र पनि अचेलका कम्युनिष्टमा देख्न पाइँदैन। २०४६ सालको परिवर्तनपछि जसै उनीहरु भूमिगत जीवन त्यागेर खुला राजनीतिमा आए, त्यसपछि उनीहरुको आचरण, चरित्र र सिद्धान्तमै १८० डिग्रीको परिवर्तन आएको छ।
कम्युनिष्ट महिलाहरु चुरा, पोते, गहनालाई नारीका नेल हत्कडी भन्थे। अचेल कम्युनिष्टहरु बेलायत र अमेरिकाबाट मगाएका गहना र साडी ढल्काउँछन्। लाल सलाम गरेर प्रगतिशील विवाह गर्नेहरु अचेल पार्टी प्यालेसमा हिन्दी गीत घन्काउँदै गहनै गहनाले सजिएर विवाह गर्छन्। लामो कपाल पाल्न हुन्न भन्दै ब्वाइज कट कपाल पाल्ने अनेमसंघका महिलाहरु अचेल दरबारमार्गका ब्युटीपार्लर धाउँछन् र आँखी भाैं र कपाल मिलाउँछन्।
काठमाडौं प्रवेश गर्दा बफ मःम खान अरुसँग सापटी माग्नेहरु अचेल पाँच तारे होटलमा चिकन सिजलर र अमेरिकन चप्सी खान्छन्। स्पामा गएर होलबडी मसाज, साउना र स्टिम बाथ नलिई उनीहरुको ज्यानको बोसो पग्लिँदैन। भ्रष्टाचार गरेर रातारात अकुत सम्पत्ति कमाएपछि भोग विलासको जीवनप्रति आशक्त भइसकेका कम्युनिष्टहरुमा नैतिक पतन, आचरणको अवसान र सिद्धान्तको स्खलन चरमोत्कर्षमा पुगेको छ।
यसकै उत्कर्ष हो, कृष्णबहादुर महराको बलात्कार काण्ड र उनको खोर यात्रा। विलासी जीवनले नेपालका कम्युनिष्टहरुमा चारित्रिक पतन बढ्दै गइरहेको छ। भूमिगत कालका दुःख, लामो जेल जीवन, भोकै प्यासै जंगलमा भौंतारिँदाको पल अनि कुन बेला मारिने हो भन्ने भयमा बाँचेका कम्युनिष्टहरुका लागि यो खुला परिवेश र गणतान्त्रिक सत्ताभोग स्वर्गीय आनन्दमा परिणत भएको छ।
दुई तिहाइको शक्ति, भ्रष्टाचार र मस्ती। अदालत आफ्नै चँगुलमा। अख्तियार आफ्नै अधिनमा। सेना र प्रहरीमाथि आफ्नै लगाम। राज्यको ढुकुटीमा ब्रम्हलुट, नेपालमै हो छुट। लुट्न सके लुट कान्छा लुट्न सके लुट। लुटेको पैसाले सारा सांसारिक मजा लुट। सांसारिक मजाका साधन भनेका सुर, सुरा, सुन्दर अनि सुन्दरी। मास, मदिरा, मत्स्य, मुद्रा र मैथुन। तन्त्र साधकहरुले अपनाउने पञ्च मकारका यी साधनहरु अचेल कम्युनिष्टहरुले भोग गरिरहेका छन्। तन्त्र साधकले त रित पुर्याएर यी साधनको भोग गर्छन् र सिद्धी प्राप्त गर्छन्, कम्युनिष्टहरु चाहिँ आदर्श च्यूत भएर यसको भोग गर्ने भएकाले महरा झैं जेलमा जाकिन्छन्।
विद्याको ब्याग प्रकरण त एउटा विम्ब मात्र हो। दोस्रो, तेस्रो र चौथो पुस्तासम्मका कम्युनिष्ट युवाहरु अचेल राजसी र रवाफिलो जीवन बाँचिरहेका छन्। ठेक्का पट्टा, जग्गा दलाली, सरुवा बढुवा, हप्ता असुली, अपराधी छुटाएर नजराना लिने, डनगिरी गर्ने, खोलाका गिट्टी बालुवामा रजाईं गर्ने, चन्दा आतंक मच्चाउने, कमिसन खाने आदि होडमा लागेका युवा कम्युनिष्टहरु आफ्ना शीर्ष नेताहरुलाई थर्काउँछन् र गलत काम गर्न बाध्य पार्छन्। शीर्ष नेतालाई चुनाव जित्न ति नभई हुन्न। यसरी कम्युनिष्टहरुको राजनीतिको आधार मनी, मसल र माफिया भएको छ।
यो माफियाको अधिनमा रहेका कम्युनिष्टहरुको जीवनशैली पनि ब्ल्याक लेबल, ब्युटीफूल र ब्यभिचारमै लिप्त भइरहेको छ भन्ने ज्वलन्त उदाहरण महरादेखि आरआर क्याम्पसका अखिलका सहसचिव राईसम्मका बलात्कारका प्रकरणले स्पष्ट पारेको छ। सेनालाई जुत्ता बोकाउने, देवरलाई झोला बोकाउने र कुनै अबलाको पेट बोकाउने आदि सबै हर्कतहरु नैतिक आचरणभित्र पर्दैनन्। नैतिक पतन अन्ततः कम्युनिष्टहरुकै पतनको कारण बन्नेछ।