नारायणहिटी दरबारलाई ‘टुर प्याकेज’ बेच्ने गरी ५० वर्षका लागि निजी कम्पनीलाई दिने तयारी
काठमाडौं, कात्तिक १९ : ऐतिहासिक संग्रहालयको रुपमा रहेको नारायणहिटी दरबार संग्रहालय ५० वर्षका ल

काठमाडौं, कात्तिक १९ : ऐतिहासिक संग्रहालयको रुपमा रहेको नारायणहिटी दरबार संग्रहालय ५० वर्षका लागि निजी कम्पनीलाई सुम्पने तयारी भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी कम्पनीलाई ५० वर्षलाई भाडामा दिएर ‘टुर प्याकेज’ बिक्री गर्ने तयारी गरेको छ।
मन्त्रालयले भाडामा दिने उक्त प्रस्ताव तयार पारेर अर्थ मन्त्रालयमा समेत पठाइसकेको भेटिएको छ। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थको सहमतिपछि मन्त्रिपरिषद् बैठकमा पेश गेरर भाडामा लगाउने तयारी छ।
‘संग्रहालयको ऐतिहासिक महत्व र मर्मविपरित निजी कम्पनीलाई भाडामा दिने तयारी गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको कार्यकालमै नारायणहिटी भाडामा दिने केही प्रक्रिया सुरु गरिएपनि अहिले आएर पुनः उक्त प्रक्रिया ब्युताइएको हो।
तत्कालीन पर्यटनमन्त्री अधिकारीले प्रधानमन्त्री केपी ओली निकट व्यापारी आङछिरिङ शेर्पालाई संग्राहलय रिसोर्ट संचालन गर्नेगरी भाडामा लगाउने तयारी गरेका थिए। अधिकारी र शेर्पा दुवै हेलिकप्टर दुर्घटनामा दिवंगत भएपछि उक्त प्रस्ताव मन्त्रालयमै थन्किएको थियो।
दुई वर्ष अघि मात्रै नारायणहिटीको मुल गेट अगाडिको दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा शेर्पा परिवारलाई ५० वर्षका लागि भाडामा दिइएको छ। आङछिरिङ शेर्पाले लिएको उक्त जग्गामा अहिले उनका दाजु सोनाम शेर्पाले भवन ठडाइसकेका छन्।
स्रोतका अनुसार पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को बहाना बनाउँदै निजी कम्पनीको पोल्टामा नारायणहिटी दरबार सुम्पने तयारी गरेका छन्। संग्रहालयको लमजुङ हललाई डिनरसहितको रात्रिकालीन ‘टुर प्याकेज’मा दिने तयारी गरिएको पाइएको छ। ‘राजदरबार र नेपाली राजाहरुको इतिहास देखाउँदै रिसोर्ट चलाउने गरी निजी कम्पनीलाई भाडामा लागाउने तयारी छ’ मन्त्रालय स्रोतले भन्यो।
मन्त्रालयले उक्त क्षेत्रलाई साझ ६ बजेदेखि राति ९ बजेसम्म डिनर सञ्चालनका लागि प्रतिव्यक्ति एक सय डलर (११ हजार नेपाली रुपैयाँ)सम्मको प्याकेजमा बिक्री गर्ने प्रस्ताव समेत गरेको छ।
सरकारले संग्रहालयको मर्मलाई बिर्सिएर रात्रिकालीन ‘कक्टेल डिनर’ पार्टी सञ्चालन गर्ने तयारी गर्नु आफैमा लाजमर्दाे भएको भन्दै संरक्षणविद्हरुले आपत्ती जनाएका छन्।
एक सय ३५ वर्ष अघिदेखि शाहवंशीय राजाहरुको दरबार रहेको नारायणहिटी दरबारलाई २०६५ फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संग्रहालयको रुपमा औपचारिक उद्घाटन गरेका थिए।
२०२६ सालमा पुन:निर्माण गरिएको दरबार गणतन्त्र स्थापनासँगै तत्कालीन राजा ज्ञानेन्द्र शाह नारायणहिटी राजदरबारबाट बाहिरिएसँगै दरबार संग्रलयमा परिणत गरिएको हो।
अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा दरबारको पुन:निर्माण गरिएको थियो । उनी एसियाकै सबैभन्दा ठूलो वास्तु कम्पनी चटर्जी एन्ड पोल्कका संचालन समेत हुन्।
सात सय ५५ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा दरबारले मात्रै तीन सय १८ रोपनी क्षेत्रफल ओगटेको छ। दरबारमा रहेका ७४ कोठामध्येमा अहिले २६ काेठालाई संग्रहालयको रुपमा खुल्ला गरिएको छ।
संरक्षणविद् तेजरत्न ताम्राकारले यसलाई भाडामा लगाउनु नहुने बताए। ‘भन्ने बेलामा संग्रहालय भन्ने तर संग्रहालयको महिमा नै सकिने गरि प्याकेजमा लगाउनु हुदैन्,’ संरक्षणविद् ताम्राकारले भने।
शाहवंशीय राजाको दरबारलाई संरक्षण गरि पछिल्लो पुस्तालाई देखाउन सरक्षण गरिएको संग्रहालयलाई व्यापारिक प्रयोजनका लागि दिनु अनुचित भएको ताम्राकारको भनाइ छ। ‘संग्रालयलाई संग्रलायकै रुपमा राख्न सकिएन भने नामनै परिर्वतन गर्नुपर्दछ, होइन भने इतिहासमाथि खेलवाड गर्ने कसैलाई पनि अधिकार छैन,’ ताम्राकारले भने ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ नारायणहिटी संग्रहालय भाडामा लगाउने विषयमा मन्त्रालयले कुनै तयारी नगरेको बताए। ‘सबै हल्ला हो, संग्रहालयलाई कसरी व्यस्थित गर्ने भन्नेतिर हामी लागेका छौँ, टुर प्याकेजमा बिक्रि गर्न हैन,’ उनले भने। संग्रालयको संरक्षणमा सरकार लाग्ने समेत प्रवक्ता तामाङले बताए।
त्यस्तै पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल (ट्वीटर) मा नारायणहिटी दरबारको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर पर्ने कुनै पनि काम सरकारबाट हुनेछैन भनेर लेखेका छन्। यद्यपी भाडामा लगाउने वा टुर प्याकेज बेच्ने मन्त्रालयले तयारी गरेको होइन भनेर उनले पनि भनेका छैनन्।
नारायणहीटी दरबारको एेतिहासिकता तथा पुरातात्वीक महत्वलाई असर पर्ने कुनै पनि काम सरकारबाट हुनेछैन् । अपुस्ट तथा अपूर्ण समाचारको भ्रममा नपरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) November 3, 2019












-(7)-1765197040.jpg)