Kathmandu Press

थुनामा राख्न महरालाई डिल्लीबजार कारागारमा लगियो

काठमाडौं, कात्तिक १८ : संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्रा

थुनामा राख्न महरालाई डिल्लीबजार कारागारमा लगियो

काठमाडौं, कात्तिक १८ : संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएसँगै डिल्लीबजार कारागार लगिएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै महरालाई डिल्लीबजार कारागार लगिएको हो। महरालाई अब मुद्दाको अन्तिम फैसला नहुञ्जेल डिल्लीबजार कारागारमै राखिने छ। 

आइतबारबाट सुरु भएको थुनछेक बहस सकिएपछि न्यायाधीश पाण्डेको इजलासले महरालाई पुर्पक्षमा राख्न आदेश दिएको थियो।  जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएको बताए। 

यो पनि: पुर्पक्षका लागि महरालाई थुनामा राख्न अदालतको आदेश

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा सोमबार काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरेका थिए। 

यसअघि बिहीबार सरकारी वकिलको कार्यालयले महरालाई जबरजस्ती करणी उद्योग गरेको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा दायर गरेको थियो।

पूर्वसभामुख महराले भने बयानका क्रममा आफू ती महिलाको डेरा नजिक पुगेपनि घरभित्र नछिरेरै फर्किएको बताएका थिए। ‘ती महिलाको डेरा नजिक पुगेको हुँ। तर, सम्पर्क नभएपछि डेराभित्र नछिरेर फर्केको हुँ,’ महराले बयानमा भनेका थिए।

महरा बलात्कारको प्रयास गरेको आरोपमा गत १९ असोज गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए। 
 

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, कात्तिक १८, २०७६