पुर्पक्षका लागि महरालाई थुनामा राख्न अदालतको आदेश
काठमाडौं, कात्तिक १८ : संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयासको आरोपमा
काठमाडौं, कात्तिक १८ : संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
आइतबार थुनछेक बहस नसकिएपछि सोमबार पनि थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश पाण्डेको इजलासले महरालाई पुर्पक्षमा राख्न आदेश दिएको हो।
अदालतको आदेशपछि अब महरालाई डिल्लीबजार कारागारमा राखिने छ। जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएको बताए।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा सोमबार काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरेका थिए।
यसअघि बिहीबार सरकारी वकिलको कार्यालयले महरालाई जबरजस्ती करणी उद्योग गरेको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा दायर गरेको थियो।
पूर्वसभामुख महराले भने बयानका क्रममा आफू ती महिलाको डेरा नजिक पुगेपनि घरभित्र नछिरेरै फर्किएको बताएका थिए। ‘ती महिलाको डेरा नजिक पुगेको हुँ। तर, सम्पर्क नभएपछि डेराभित्र नछिरेर फर्केको हुँ,’ महराले बयानमा भनेका थिए।
महरा बलात्कारको प्रयास गरेको आरोपमा गत १९ असोज गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए।






