प्रदेश प्रमुख : मेयरमा पराजितदेखि पूर्वउपप्रधानमन्त्रीसम्म
काठमाडौं, कात्तिक १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको
काठमाडौं, कात्तिक १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको सिफारिश गरेको छ । सिफारिश गरिएकामध्ये चार जना साविक एमाले र तीन जना माओवादी केन्द्रका छन्। यसमा साविक एमालेकाे माधव नेपाल पक्षका भने काेही पनि परेका छैनन्।
प्रदेश प्रमुखमा सिफारिश गरिएका विष्णु प्रसाईं मेचीनगरको मेयरमा पराजित हुन् भने अमिक शेरचन प्रधानमन्त्री केपी ओली उपप्रधानमन्त्री छँदा उनी पनि उपप्रधानमन्त्री थिए- त्यही सरकारमा।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रदेश प्रमुखमा विष्णु प्रसाईंको नाम सिफारिश भएको छ। उनी झापानिवासी हुन्।
त्यसैगरी कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’, बाँकेका तिलक परियार छन् भने सिराहाका धर्मनाथप्रसाद यादव सिफारिश भएका छन्।
त्यसैगरी अमिक शेरचन, डडेल्धुराका गोविन्दप्रसाद कलौनी र चितवनकी सर्मिला त्रिपाठी पनि प्रदेश प्रमुखमा सिफारिश भएका छन्।
सिफारिश गरिएका सातै जना सक्रिय राजनीतिक कार्यकर्ता हुन्। सबै नेकपा आवद्ध हुन्। चार जना साविक एमालेका तीन जना प्रधानमन्त्री केपी ओली र एक जना वामदेव गाैतमनिकट छन् । तीन जना साविक माओवादी केन्द्रका मध्ये एक जना पूर्व जनमाेर्चा हुन् भने एक जना बादल खेमाका हुन्।
प्रसाईं साविक एमालेका पुराना कार्यकर्ता हुन्। गत स्थानीय निर्वाचनमा मेची नगर नगरपालिकाको प्रमुखमा कांग्रेसका विमल आचार्यसँग मेयरमा पराजित भएका थिए। रोचक त के भने उनी चुनाव प्रचारको 'क्याम्पेनिङ' गर्दा राँगोगाडामा चढी भाेट मागेर चर्चित भएका थिए।
२०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति, झापाको उपसभापति निर्वाचित उनी ०५६ सालको संसदीय निर्वाचनमा झापा-१ मा तत्कालीन एमालेबाट उम्मेद्वार थिए। कांग्रेस उम्मेद्वार नरेन्द्रविक्रम नेम्वाङले जितेको उक्त चुनावमा मालेका पुष्प पोखरेल निकटतम प्रतिद्वन्द्वी भए। प्रसाईं तेस्राे भएका थिए।
सोमनाथ अधिकारी ‘प्यासी’ कास्कीका हुन्। उनी कास्की-२ को आगामी मंसीर १४ मा हुने उपचुनावको उम्मेद्वारका लागि तीन जनामा नाम सिफारिश भएकामध्ये हुन्। स्व.रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई टिकट दिएपछि उनलाई प्रदेश प्रमुखमा सिफारिश गरिएको हो।
‘प्यासी’ पञ्चायतकालमै तत्कालीन भूमिगत नेकपा (माले)का तर्फबाट जनपक्षीय उम्मेद्वार भई ०४३ सालमा राष्ट्रिय पञ्चायत उम्मेद्वार भएका थिए। बहुदलपछि पनि दुई पटक सांसद् भएका उनी दोस्रो संविधानसभा सदस्य थिए। एमालेको नवौँ महाधिवेशनमा उनी निर्वाचन आयोगका प्रमुख र स्थायी कमिटीका पदेन सदस्य भएका थिए। उनी प्रधानमन्त्री केपी ओली खेमाका हुन्।
बाँकेका तिलक परियार सिफारिश गरिएका छन्। साविक माओवादीका पाका नेता परियार ०६४ सालमा बाँकेबाट संविधानसभा सदस्य चुनिएका थिए।
संविधानसभा विघटनसँगै माओवादी फुट्दा उनी मोहन बैद्यले नेतृत्व गरेको नेकपा माओवादीतर्फ लागेका थिए। रामबहादुर थापा बादलसँगै पुनः माओवादी केन्द्रमा फर्केका हुन्।
त्यस्तै सिराहाका पुराना नेता धर्मनाथप्रसाद यादव पनि प्रदेश प्रमुखमा सिफारिश भएका छन्। उनी साविक एमालेका नेता हुन्।
अमिक शेरचन पूर्वउपप्रधानमन्त्री हुन्। ०६३ पछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरचन र वर्तमान प्रधानमन्त्री केपी ओली उपप्रधानमन्त्री थिए। उनी ०६४ सालमा चितवनबाट संविधानसभा सदस्य चुनिएका थिए। उनी जनमोर्चा नेपालका पूर्वअध्यक्षसमेत हुन्।
त्यस्तै गोविन्द कलौनी डडेल्धुराका साविक एमाले नेता हुन्। उनी ०४८ सालमा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेर पराजित भएका थिए। उनी ०५५ सालमा एमाले विभाजित हुँदा वामदेव गौतमलाई साथ दिई मालेमा लागेका थिए। गौतमसँगै पुनः एमाले फर्केका थिए।
शर्मिला त्रिपाठी माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका अखिल क्रान्तिकारीका उपाध्यक्ष ज्ञानेन्द्र त्रिपाठीकी धर्मपत्नी हुन्। उनी बेपत्ता परिवार समाजकी अध्यक्ष छन्।






