Kathmandu Press

तेस्रो डायलासिस गर्न प्रधानमन्त्री ओली ग्रान्डीमा

काठमाडौं, कात्तिक १७ : मिर्गौलाको डायलासिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले धापासीस्थित ग्रान्डी

तेस्रो डायलासिस गर्न प्रधानमन्त्री ओली ग्रान्डीमा
फाइल फोटो

काठमाडौं, कात्तिक १७ : मिर्गौलाको डायलासिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले धापासीस्थित ग्रान्डी ईन्टरनेसलन अस्पताल हिँडेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली भरखरै ग्रान्डी अस्पताल हिडेका हुन्। आज तेस्रो पटक मिर्गौलाको डायलासिस गरिने जनाएको छ।

अस्पताल स्रोतका अनुसार, केहीवेरमै डायलासिस हुनेछ। प्रधानमन्त्रीको मिर्गौला डायलासिस गर्न चिकित्सकको टोली तयारी अवस्थामा राखिएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको तेस्रो पटक मिर्गौला डायलासिस गर्न शनिबार नै अस्पताललाई तयारी अवस्थामा रहन जानकारी दिइएको थियो। त्यही अनुसार, अस्पताल प्रशासनले चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको थियो।

यस अघि प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमै दुई पटक मिर्गौला डायलासिस गरिएको थियो। उनी दुई दिन अघि मात्रै असस्पतालबाट डिस्चार्ज भएर बालुवाटर फर्किएका थिए।

प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि ११ वजे राखिएको मन्त्रिपरिषद बैठक अपरान्ह ३ वजेलाई सरेको छ । 

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। केही महिना अघि फेरि समस्या देखिएको थियो।

मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि साउन र भदौमा सिंगापुर गएका थिए। सिंगापुरमा प्लाज्माफेरेसिस गरेर उनको शरीरमा भएको एन्टीबडी झिकिएको थियो।

तर, सिंगापुरमा उपचार गरेको दुई महिनामै फेरि समस्या देखिएको हो। अब उनको नियमित डायलासिस गर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकहरुका अनुसार, अब हप्तामा तीन पटक चार–चार घण्टा डायलासिस गर्नुपर्नेछ।

प्रधानमन्त्री ओलीले शनिबार नेकपा सचिवालय बैठकमा पनि नियमित डायलासिस गर्नु पर्ने अवस्था आएको जानकारी गराएका थिए।

प्रकाशित मिति: १०:१४ बजे, आइतबार, कात्तिक १७, २०७६