Kathmandu Press

प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस गर्ने ग्राण्डी अस्पतालमा तयारी

काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या देखिएपछि गाण्डी अस्पता

प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस गर्ने ग्राण्डी अस्पतालमा तयारी
फाइल

काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या देखिएपछि गाण्डी अस्पतालको टोलीलाई डायलासिसको लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।

ग्राण्डी अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो भए आज राति नभए भोलि (शनिबार) डायलासिस गर्नेगरी तयारी अवस्थामा बस्न अस्पतालका चिकित्सक लगायतको टिमलाई निर्देशन दिइएको छ। यसअघि प्रधानमन्त्री ओलीको डायलासिसमा सहभागी सबै टिमलाई आज राति तयारी अवस्थामा बस्न अस्पताल प्रशासनले निर्देशन गरेको स्रोतको दाबी छ।

यो पनि: प्रधानमन्त्री ओलीको नियमित डायलासिस गर्नुपर्ने चिकित्सकहरूको निष्कर्ष

स्रोतका अनुसार आज राति नै प्रधानमन्त्रीलाई डायलासिसका लागि ग्राण्डी अस्पताल लैजान पनि सकिन्छ। ‘चिकित्सकहरुले हेर्दै हुनुहुन्छ, आजै डायलासिसका लागि लैजान पनि सकिन्छ भनेर अस्पतालमा टिमलाई तयारी अवस्थामा राखिएको छ’ प्रधानमन्त्रीको उपचामार सहभागी एक चिकित्सकले काठमाडौंप्रेससँग भने, ‘भोलि (शनिबार) त ४ घण्टा डायलासिस गर्नै पर्छ।’

प्रधानमन्त्रीको बुधबार र बिहीबार दुई दिन मिर्गौलाको डायलासिस गरेपछि शुक्रबार (आज) पनि गर्नुपर्ने हुन्थ्यो। तर सचिवालयको दबाबमा बिहिबार राति नै डिस्चार्ज गरेपछि तेस्रो डायलासिस शनिबार गर्ने तयारी गरिएको थियो। तर प्रधानमन्त्री ओलीले अप्ठ्यारो अनुभव गरिरहेकाले आजै राति पनि डायलासिस हुन सक्ने उक्त स्रोतको दाबी छ।

प्रधानमन्त्रीको उपचारका क्रममा भएका विभिन्न परीक्षणको रिपोर्ट भने अझैसम्म पनि गोप्य राखिएको छ। उनका नीजि चिकित्सकहरुले परीक्षणको रिपोर्ट कस्तो आएको छ र अब के गर्नुपर्छ भनेर अझै बोलेका छैनन्। सुरुमा सामान्य बिरामी भन्दै आएका चिकित्सकहरुले सञ्चारमाध्यममा डायलासिस गरेको समाचार आउन थालेपछि बिहीबार साँझ मात्रै त्यसको पुष्टि गरेका थिए।

प्रधानमन्त्री अब नियमित डायलासिसमा जानुपर्ने भएकाले त्यसका लागि बालुवाटारमै मेसिन सेटअप गर्ने विषयमा पनि छलफल भइरहेको छ। र, अब नियमित डायलासिस गर्ने कि फेरि मिर्गौला प्रत्यारोपणमा गर्ने भन्ने विषय भने टुंगिएको छैन।
 

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, कात्तिक १५, २०७६