देउसी भैलोको नभनिएको कथा
आज काग तिहार, अर्थात् तिहारको पहिलो दिन। लक्ष्मी पूजाको साँझदेखि भाइ टीकाको दिनसम्म नेपालका प्रायः सबै गाउँ–सहर

आज काग तिहार, अर्थात् तिहारको पहिलो दिन। लक्ष्मी पूजाको साँझदेखि भाइ टीकाको दिनसम्म नेपालका प्रायः सबै गाउँ–सहरमा देउसी–भैलो गुञ्जिन्छन्।
लोक लयमा गीत गाउँदै र देउसी–रे भट्याउँदै दान–दक्षिणा माग्ने परम्परालाई देउसी भैलो भनिन्छ।
नेपालमा तिहार मनाइँदा भारतमा दिपावली मनाइन्छ। तिहार र दिपावली मूलतः एउटै पर्व हो। तर, नेपालमा तिहारको बेला जसरी देउसी भैलो खेलिन्छ, त्यो भारतमा हुन्न। देउसी भैलोले नेपालको तिहारलाई दिपावलीभन्दा भिन्न र मौलिक उत्सव बनाएको छ।
देउसी भैलोको कथा
सबैलाई थाहा भएकै कुरा हो – आधुनिक नेपालको निर्माण पृथ्वी नारायण शाहको नेतृत्वमा भएको हो । नेपाल एकीकरणअघि नेपालमा बाइसे, चौबीसे राज्यहरू थिए।
तर, नेपाल एकीकरणअघि, अझ भनौं बाइसे–चौबीसे राज्यहरू अस्तित्वमा आउनुअघिको नेपाल कस्तो थियो? यो अर्कै विस्तृत अध्ययनको विषय हो। तर, देउसी–भैलोको उत्पत्ति–कथा पहिल्याउन पनि त्यो बेलाको नेपालमा पुग्नुपर्ने हुन्छ।
त्यो बेला नेपालको पश्चिमी भागमा बली राजाको शासन थियो। बली राजा निकै बलशाली थिए। उनको ठूलो साम्राज्य थियो। नागराज बंशीको पालामा मल्ल राजाहरू थिए।उनीहरू निकै शक्तिशाली थिए। चीनको केरुङदेखि अहिले भारतमा रहेको कुमाउ गढवालसम्म तिनैको प्रभाव थियो।
पश्चिमको मस्टो, भोटतिरका मान्छेको सभ्यता, किरात सभ्यता र दूर–दराजका अनकन्टार पर्वतमा भएका सभ्यतालाई समेटेर राज गरेका राजाहरू निकै शक्तिशाली थिए।
राज्य निर्माणमा जुम्लाका राजाको ठूलो हात थियो। मठ–मन्दिर र गुम्बा–घरहरू कर उठाएर राज्य निर्माणमा लगानी गर्नुपर्ने अवस्था थियो।
तर, धर्मरक्षक, पूजारी, देवकीलगायत सबैलाई खानबस्नदेखि लालनपोषणसम्म राज्यले नै गर्ने गथ्र्यो। यसका लागि पैसा चाहिन्थ्यो।
राजनीतिक अस्थिरता अहिले पनि नेपालमा निकै चल्तीको शब्द हो। तर, त्यो बेलाको अस्थिरता अहिलेको भन्दै ज्यादै गम्भीर प्रकारको थियो। कुन बेला कुन राज्यमा कसले आक्रमण गथ्र्यो भन्ने थाहै नहुने! देशमा जतिबेला पनि बैरीको आक्रमण हुन सक्थ्यो र हरदम प्रतिकारका लागि तयार रहनु पथ्र्यो। युद्ध खर्च अचाक्ली उच्च थियो।
अर्कोतिर धर्मरक्षकहरूको पालनपोषणको अभिभारा पनि राज्यको काँधमा थियो। यसैले, यो खर्च कसरी जुटाउने भन्ने विषयमा छलफल चल्न थाल्यो। र, त्यो छलफलको निष्कर्ष रह्यो – देउकी, देवदास र देवदासी जस्ता धर्मरक्षकहरू सबैलाई पूर्जी दिएर दान–दक्षिण संकलन गर्न पठाउने ! त्यो नै नेपालमा देउसीभैलोको प्रादुर्भाव थियो।
त्यसपछि देवदासीहरू हातमा पूर्जी लिएर ‘बली राजाको हुकुम हुँदा’ भन्दै घर–घर गई दान–दक्षिणा माग्न थाले। यसैले, तिहारमा ‘हामी त्यसै आएनौँ, बली राजाले पठायो’ भन्ने गरिन्छ । उनीहरूले देवदासी–रे भनेको शब्दलाई पछि देउसी रे भन्न सुरु गरिएको हो।
यो मुलुकभित्रैको कहानी हो भने यसमा अर्को कथा पनि जोडिन्छ।
अर्को कथा
देउसी र भैलो किन खेलिन्छ भन्ने कुरा अर्को इतिहाससँग पनि जोडिएको छ। पौराणिक कथन अनुसार, त्यो बेला यो भूखण्डमा एक चक्रवर्ती राजा थिए। उनी भन्थे – संसार मेरै हो, ममात्रै सर्वेसर्वा हुँ।
राज्यमा भएका प्रजालाई उनी भन्थे – तिमीलाई केको कमी छ, आऊ, म दान दिन्छु। उनले एक दिन सारा संसारभरिका प्राणीका लागि यज्ञ लगाएका थिए। ती राजाले पृथ्वीमा देवताको भन्दा बढी राज गर्न थालेपछि देउताको खोजी भयो।
त्यसपछि वामन अवतार लिएर विष्णु भगवान राजाले यज्ञ गरेको ठाउँमा पुगे। यज्ञमा बसेका राजालाई वामन रुपी विष्णुले बिन्ती गरे – मलाई तीन पाइला जमिन देऊ।
त्यसपछि राजाले घमण्डका साथ छाती फुलाएर दान दिए। दान दिनै लाग्दा वामन असली रुप अर्थात् विष्णुुको अवतारमा प्रकट भए। उनको दुई विराट पाइलाले पाताल र स्वर्ग पूरै ढाके। पहिलो पाइलाले पाताल ढाक्यो, अर्को पाइलाले आकाश ढाक्यो। अब तेस्रो पाइला कहाँ राख्ने भन्दा विष्णुले राजासँग भने – देउ शिर ।
यो शब्दलाई नै देउसिरेको रुपमा प्रयोग गरिएको किंवदन्ती पनि छ।
ए भनभन भाइ हो देउसिरे
ए राम्ररी भन देउसिरे
यस्तै गीतमार्फत देउसी खेलिन्छ। यसमा एकजना भट्याउँछ भने अरु साथीहरू एकै स्वरमा देउसिरे भन्छन्। सँगै मादल, पिजुरा, झ्याली बजाउँछन्।
तर, देउसी भैलोको मौलिकता मासिँदै गएको छ। अचेल देउसी भैलोमा ¥याप र पप मिसिएको छ। म सानो छँदो जस्तो देउसी खेल्थेँ, अहिले त्यस्तो देउसी छैन।
(कुराकानीमा आधारित)