Kathmandu Press

प्रधानमन्त्री भेट्न नपाए पनि सिंगापुरमा शुभकामना दिन जानेकाे ताँती

काठमाडौं, भदौ १७ः प्रधानमन्त्री केपी शर्मा ओली दुई सातालामो सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार सकेर भदौ २०

प्रधानमन्त्री भेट्न नपाए पनि सिंगापुरमा शुभकामना दिन जानेकाे ताँती
प्रधानमन्त्रीकाे निजी सचिवालय

काठमाडौं, भदौ १७ः प्रधानमन्त्री केपी शर्मा ओली दुई सातालामो सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार सकेर भदौ २० गते नेपाल फर्कने संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले जानकारी दिएका छन् तर प्रधानमन्त्रीलाई शुभकामना दिन भनेर त्यसतर्फ जाने क्रम रोकिएको छैन । 

पछिल्लोपटक केहीबेरअघि (मंगलबार अपरान्ह १ बजे) नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान गरेका हुन् । उनी अध्यक्ष ओलीसँगै शुक्रबार फर्कने नेकपाले जनाएको छ । काठमाडौंबाट ठूलो संख्यामा व्यापारी, नवधनाढ्यहरू लर्को लागेर सिंगापुर पुगेको नेकपा स्रोतको दाबी छ । 

एनआरएनए अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपाने सिंगापुर जान लाग्दा अत्यधिक मदिरा सेवन गरेको भनी भदौ ८ गते उड्नैलागेको विमानबाट पाइलटले उतारेका थिए । भट्ट अर्को दिनको उडानबाट सिंगापुर गएको स्रोतको दाबी छ । 

प्रधानमन्त्री ओलीलाई शुभकामना दिन भनेर सिंगापुर जाने क्रम बढेपछि नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले दुई दिनअघि फेसबुकमा लेखेरै चाकडी–चाप्लुसीका लागि त्यसतर्फ जाने प्रवृत्तिको विरोध जनाए– ‘हनुमानहरूदेखि सावधान !’

‘सम्माननीय प्रधानमन्त्री तथा नेकपाका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरमा उपचाररत हुनुहुन्छ । नेपालबाट लर्को लागेर सिङ्गापुर जाने मान्छेहरूले बिरामी भेट्न त खासै पाउदैनन्’, थापाले स्ट्याटस लेखे, ‘यो कुरा तिनीहरूलाई प्रस्थान गर्नुपूर्व नै जानकारी हुन्छ । तैपनि हुल बाँधेर किन त्यता गएका होलान् ? विरामीलाई स्वास्थ्यलाभको कामना गरे पुग्नेमा किन यसरी डिस्टर्ब गरिरहेका होलान् ? चाकडी, चाप्लुसी र चुक्लीको यो लज्जास्पद बानीमा कहिले सुधार होला ?’

उपप्रमुख थापाले लेखेका छन्, ‘जबकि पानी र बानी माथिबाट तलतिर प्रवाह हुने गरेको पाइन्छ । यसरी लर्को लागेर जानेहरूले गर्ने आतेजाते हवाई भाडा, होटल बसाइ, यातायात र अन्य न्यूनतम खर्च जोड्दा विरामीको उपचार खर्चभन्दा निकै बढी हुन जाने निश्चित छ।’ 

उनले सिंगापुरमा भीड लाग्न जानु आवश्यक नभएको बताउँदै भनेका छन्, ‘खासमा सिङ्गापुर पुगेर उपचारमा बाधा पुर्याउनेहरू मित्र हुन् कि शत्रु त ? काम नहुनेहरूको हुलमुलप्रति गंभीर प्रश्न उठेको छ ! यसो गर्न आवश्यक नै छैन । यो हुल त यहाँ छककदैथियो ! प्रधानमन्त्रीको उपचार यहाँ संभव नभएर नै त्यहाँ लैजानु परेको तथ्य हो । यो कुरा बुझ्नु पर्दैन ?’

नेकपा प्रचारविभाग उपप्रमुख थापाले महासचिव पौडेल भने आफूले टिप्पणी गरेको कोटीमा नपर्ने बताए । उनले भने, ‘महासचिव कमरेड त पार्टीको तर्फबाट त्यहाँ जानु आवश्यक हुन्छ । मैले गरेको टिप्पणी उहाँजस्ता जानै पर्ने नेतालाई होइन ।’

नेकपा उच्च स्रोतका अनुसार, प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएपछि उहाँको स्वास्थ्यलाभको कामना गर्न सुरज बैद्य, चन्द्र ढकाल, दीपक मलहोत्रा लगायतका व्यवसायीहरू पनि पुगिसकेका छन् । यसबाहेक बैंककबाट जाने र सिंगापुरमै रहेका व्यक्तिहरूको पनि भीड लागेको जनाइएको छ । 

प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। उनको भदौ ६ गतेदेखि उपचार भइरहेको छ। उनको १२ वर्ष अघि मिर्गौैला प्रत्यारोपण भएको थियो। अहिले आएर मिर्गौलामा समस्या देखिएपछि प्लाज्माफेरेसिस विधिबाट एण्टीबडीको मात्रा घटाउन भइरहेको छ । प्रधानमन्त्री ओली शुक्रबार फर्किने तय भएको छ। आज सिंगापुर गएका महासचिव पौडेल पनि प्रधानमन्त्री ओलीसँगै फर्किने नेकपाले जनाएको छ।
 

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, भदौ १७, २०७६