Kathmandu Press

समाजवादीसँग एकताको तयारीमा रहेको राजपा बैठकसमेत बस्न नसक्ने स्थितिमा 

काठमाडौं, भदौ १३ः डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीसँग एकता गर्ने

समाजवादीसँग एकताको तयारीमा रहेको राजपा बैठकसमेत बस्न नसक्ने स्थितिमा 
फाइल फोटो

काठमाडौं, भदौ १३ः डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीसँग एकता गर्ने विषयमा छलफल गर्ने कार्यसूचीसहित डाकिएको राष्ट्रिय जनता पार्टी (राजपा) राजनीतिक समितिको बैठक फेरि पनि बस्न नसक्ने भएको छ । 

अध्यक्ष मण्डलका अन्य सदस्यसँग छलफल नै नगरी संयोजक राजकिशोर यादवले आफूखुशी डाकेको उक्त बैठकमा अध्यक्ष मण्डलका वरिष्ठ नेताहरू नगइदिएपछि बैठकै बस्न नसक्ने अवस्था सिर्जना भएको हो ।

राजपा अध्यक्ष मण्डलमा राजपा संसदीय दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव रहेका छन् । प्रत्येक दुई महिनामा पालैपालो अध्यक्ष मण्डलको संयोजक फेरिने उक्त पार्टीका राजकिशोर साउन ६ गतेदेखि संयोजक भएका हुन् । 

संयोजक राजकिशोर यादव अध्यक्ष मण्डलका कनिष्ठ सदस्य हुन् तर उनले अध्यक्ष मण्डलका अन्य नेताहरुसँग परामर्शसमेत नगरी बैठक डाक्दा उक्त पार्टीको अध्यक्ष मण्डल नै विवादको भूमरीमा फसेको छ । संयोजक यादवले भदौ १३ र १४ गतेका लागि राजनीतिक समिति बैठक डाकेका थिए । राजपाको राजनीतिक समितिमा अध्यक्ष मण्डलका सदस्यसहित २७ जना सदस्य छन् । 

यादव संयोजक भएपछि उनले अध्यक्ष मण्डलको बैठकसमेत बसाउन सकेका छैनन् । यसअघि यादवले गत भदौ २ गतेमा अध्यक्ष मण्डल बैठक डाकेका थिए । उक्त बैठकमा अध्यक्ष मण्डलमा रहेका नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी अनुपस्थित भएपछि बैठक बसेन । 

अध्यक्ष मण्डल बैठकमा महतो र भण्डारी नगएपछि यादव उनीहरूसँग रुष्ट बनेका थिए । त्यसैले असोज ६ सम्मका लागि अध्यक्ष मण्डलका संयोजक भएका उनले अध्यक्ष मण्डलका नेताहरूसँगसमेत सल्लाह नगरी राजनीतिक समिति बैठक डाकेका थिए । कात्तिकमा हुने भनिएकाे पार्टीको महाधिवेशन र समाजवादी पार्टीसँगको एकीकरणबारे छलफल गर्न बैठक राखिएकाे थियो । 

संयोजक यादवले राजपा अध्यक्ष मण्डलको बैठकसमेत राख्न नसक्ने परिस्थिति सिर्जना भएपछि नेता महन्थ ठाकुरले अध्यक्ष मण्डलका संयोजक र सदस्यहरूलाई बिहीबार आफ्नो निवास, ठिमीमा बोलाएर छलफल गरेका छन् । तीन घण्टा लामो कुराकानीपछि शुक्रबार फेरि अध्यक्ष मण्डल बसेर एजेन्डा निर्धारण गरी बैठक डाक्ने सहमति भएको छ । 

डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकीकरणको प्रयास अघि बढे राजपामा विवाद चर्केको हो । वर्तमान संयोजक यादव र अनिल झा  एकीकरणको विपक्षमा छन् । राजपाका सबैभन्दा वरिष्ठ नेता महन्थ ठाकुर राजपा गठनदेखि नै अध्यक्ष मण्डलको अध्यक्ष रहँदै आएकोमा गत मंसिरमा उनलाई हटाएपछि उनी निष्क्रियप्रायः छन् । 

आगामी असोज ६ गते राजपा अध्यक्षको जिम्मेवारी पुनः महन्थ ठाकुरकै काँधमा आउँदै छ । गत बैशाखमा भएको राजपा पदाधिकारी बैठकले आगामी कार्तिक २८ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

बैठकले महाधिवेशन तयारी समितिको संयोजक महन्थ ठाकुरलाई नै बनाएको थियो तर यसबीच ठाकुरले एउटा पनि बैठकसम्म डाकेका छैनन् । 
 

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, भदौ १३, २०७६