अध्यक्षको भूमिका देखाउन सक्रिय भए प्रचण्ड
काठमाडौं, भदौ १२ : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बिरामी भएर उपचारका लागि सिंग
काठमाडौं, भदौ १२ : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बिरामी भएर उपचारका लागि सिंगापुर गएपछि पार्टीको बैठक डाक्ने अख्तियारी पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको भूमिका देखाउने गरी सक्रियता बढाएका छन्।
पार्टी एकीकरण गरेको १५ महिनापछि पहिलो चोटी पार्टी बैठकको अध्यक्षता गर्ने अवसर पाएका प्रचण्डले केन्द्रीय सचिवालयको बैठक डाकेर सोमबार पार्टी एकीकरणका कामबारे निर्णय गराएका छन्।
पार्टीभित्रका साविक एमाले पक्षबाट सार्वजनिक रूपमै पार्टीको कार्यनीति जनताको बहुदलीय जनवाद (जबज) बनाउनुपर्ने आवाज उठाइँदै आएको थियो। प्रचण्डको अध्यक्षतामा बसेको पहिलो बैठकले त्यसलाई ‘दबाउने’ निर्णय गरेको छ- नीति र नेतृत्वविरुद्ध सार्वजनिक टिप्पणी गर्न रोक लगाएर।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालका घटना र त्यसैको समर्थनमा प्रचण्डले दिने धम्कीपूर्ण अभिव्यक्तिको पनि साविक एमाले पंक्तिले सामाजिक सञ्जालमार्फत् विरोध गर्दै आएको थियो। यसबाहेक विभिन्न समयमा पार्टी छाडेका पूर्वमाओवादी चार जनालाई पनि नेकपाको केन्द्रीय सदस्यमा मनोनित गराएका छन्। यी प्रचण्डका अध्यक्षकाे हिसाबले गरिएका पहिला निर्णय हुन्।
प्रधानमन्त्री ओलीले उपचारका लागि सिंगापुर जानुअघि केन्द्रीय सचिवालयको बैठक राखी प्रचण्डलाई पार्टीका बैठक राख्ने अधिकार दिए। ओली सिंगापुर हिँड्नेबित्तिक साविक माओवादी पक्षबाट अर्को हल्ला पनि चलाइएको छ- प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डलाई सुम्पने भनेर। जुन कुरामा नेकपाभित्रको ओली पक्ष त्यत्ति सहमत छैन।
एमाले र माओवादी केन्द्रबीच एकता हुँदा पार्टीमा ओली र प्रचण्ड दुवै समान हैसियतका अध्यक्षको व्यवस्था गरेको हो। पहिलो मर्यादा क्रममा ओली र दोस्रोमा प्रचण्ड रहने व्यवस्था गर्याे। साथै, विष्णु पौडेल र रामबहादुर थापालाई साक्षी राखेर ओली र प्रचण्डबीच भएको पाँचबुँदे सहमतिमा पनि दुवै अध्यक्षको सहमतिमा पार्टी सञ्चालन गर्ने व्यवस्था छ। जब दुवै अध्यक्षको हैसियत समान छ भने प्रचण्डलाई ओलीले कार्यकारी अध्यक्ष दिनु आवश्यक नै नभएको ओली पक्षका नेताहरूको तर्क छ।
प्रधानमन्त्री ओली सिंगापुर गएको पाँचौँ दिन प्रचण्डले सचिवालय बैठक राखे र केही महत्वपूर्ण निर्णय गराए। त्यसलगत्तै उनको अध्यक्षका हैसियतले सक्रियता बढेको छ। यसबीचमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्– सत्तारुढ नेकपाको अध्यक्षका हैसियतमा।
त्यसबाहेक कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग सरकार सञ्चालनबारे छलफल गरेका छन्। अध्यक्ष प्रचण्डले बुधबार नेताहरुलाई खुमलटारस्थित आफ्नो निवासमै संसदीय दलका कार्यबाहक नेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देवप्रसाद गुरूङलाई डाकेर संसदीय दलका काम–कारबाहीबारे जानकारी लिए। छलफलमा उनले प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलसँग संसदका गतिबिधिबारे छलफल गरेका छन्।
नेम्वाङसँगको भेटमा प्रतिनिधिसभामा विचाराधीन संघीय नागरिकता विधेयक, मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग ऐन संशोधन विधेयक र राष्ट्रियसभामा विचाराधीन भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे पनि जानकारी लिए।
प्रचण्डले नेम्वाङ र गुरुङलाई छलफलका लागि बोलाएको उक्त बैठकमा नेता वामदेव गौतम र विष्णु पौडेल पनि सहभागी थिए। बैठकमा नेम्वाङले विधेयकलाई परिमार्जन गरी पारित गर्नुपर्ने भएकाले सरोकारवालाका मुद्दालाई समेटेर सत्तापक्षले नै संशोधन हाल्नुपर्ने अवस्थाबारे जानकारी गराएको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओली सिंगापुर जानुअघि त्यसै दिन भदौ ५ गत बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालको ‘भनाभन’ भएको थियो। ओली सिंगापुर गएकै भोलिपल्ट वरिष्ठ नेता नेपाललाई खुमलटार बोलाएर करिब साढे २ घन्टा छलफल गरेका थिए।
साविक एमालेबाट नेकपाका एक स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आवश्यकताअनुसार बैठकसमेत राखेर आवश्यक निर्णय लिनसमेत बैठकबाटै जिम्मेवारी पाएपछि प्रचण्डले भूमिका देखाउन सक्रियता बढाउनु स्वाभाविक भएको बताए।
तर, प्रचण्ड अहिले नै समान हैसियतको अध्यक्ष रहेकाले प्रधानमन्त्री ओली फर्केलगत्तै पार्टी सञ्चालनको पूरै जिम्मेवारीसहित ‘कार्यकारी अध्यक्ष’ दिने भन्ने प्रचारवाजी चाहिँ साँचो नभएको उनले बताए। उनले भने, ‘उहाँ अहिले नै प्रधानमन्त्री ओलीजत्तिकै कार्यकारी अध्यक्ष हो। ओलीजी प्रधानमन्त्री रहेको र बैठक पनि बालुवाटारमै बस्ने भएकाले उहाँ स्वाभाविक रूपमा छायाँमा पर्नुभएको हो। शरीरले साथ दिइरहेको अवस्थामा आगामी महाधिवेशनसम्म ओलीजीले अध्यक्ष त्याग्ने संभावना छैन।’






