अङ्गीकृत बुहारीलाई सात वर्षपछि नागरिकता दिने पक्षमा नेकपा
काठमाडौं, भदौ ११ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय नागरिकता ऐनमा नेपालमा बिहे भएर आउने विदेशी ब
काठमाडौं, भदौ ११ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय नागरिकता ऐनमा नेपालमा बिहे भएर आउने विदेशी बुहारीका लागि सात वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा देखिएको छ ।
बिहे भएर भारतमा बुहारी भएर जाने नेपाली छोरीले त्यहाँ नागरिकता पाउनेजत्तिकै अवधिको व्यवस्था गर्ने पक्षमा नेकपाको मूल नेतृत्व देखिएको हो ।
संघीय संसद्को राज्य व्यवस्था समितिमा लामो समयदेखि विवादित बनेर रहेको विधेयकमा वैवाहिक अंगीकृतको विषय सबैभन्दा बढी बहस हुँदै आएको छ ।
०६३ सालमा लागू भएको नागरिकता ऐन, त्यसपछि जारी अन्तरिम संविधान ०६३ ले पनि नेपालमा बिहे भएर आउने विदेशी महिलाका लागि विदेशको नागरिकता त्याग्नेबित्तिकै नेपालको नागरिकता दिनसक्ने व्यवस्था गरेको थियो ।
०७२ सालमा नेपालको संविधान जारी गर्ने समयमा यो विषयमा प्रमुख राजनीतिक दलहरूबीच यस विषयमा कुरा नमिलेका कारण यो विषयलाई ‘संघीय नागरिकता ऐन बमोजिम हुने’ प्रावधान राखेर संविधान जारी गरिएको थियो । अहिले त्यही विषयले राज्य व्यवस्था समितिलाई अनिर्णयको बन्दी बनाएको छ ।
समिति बैठकमा नेकपा नेता एवम् सांसद् विजय सुब्बाले नेपालमा बिहे भएर आउने बुहारीको हकमा सात वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने मत राखिसकेका छन् । उनले भने, ‘नेपालमा बिहे भएर आउने विदेशी (विशेषतः भारतीय) बुहारीलाई त्यत्तिनै अवधिमा नेपालको अंगीकृत नागरिकता दिनुपर्छ जति भारतमा बिहे भएर जाने नेपाली छोरीले त्यहाँको नागरिकता पाउँछन् ।’
नेपालको पूर्व, दक्षिण र पश्चिम तीनैतर्फ भारतीय सीमा रहेको छ । पूर्वमा सिक्किम दार्जीलिङतर्फका नेपाली भाषी लिम्बु, राई र खसआर्य सीमावर्ती नेपालीवस्तीका जस्तै छन् । ती क्षेत्रका नेपाली भाषी भारतीय र भुटानीसमेतको भाषा, भेषभुषा नेपालको पहाडी समुदायसँग हुबहु मिल्छ ।
दक्षिणी क्षेत्रका नेपाली मधेशीजस्तै जाति, भाषा र भेषका बासिन्दा भारतर्फ पनि छन् । पश्चिमी क्षेत्रमा पनि उत्तराखण्डबासी सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुरबासीसँग हुबहु मिल्छ । बिहेवारी पनि दोहोरो नै हुने गरेको छ । त्यो अवस्थामा भारततर्फ नेपाली छोरी र ज्वाइँलाई जस्तो व्यवस्था छ, त्यस्तै प्रावधान नेपालको कानूनले गर्नुपर्ने नेकपाको धारणा छ ।
साविक एमालेका नेता सुब्बाको मतलाई राज्य व्यवस्था समितिमा सोही पार्टीका मधेशी र साविक एमाओवादीका सांसद्हरूले स्वीकार गरेका छैनन् । त्यसैले यसमा सहमति जुट्न नसकेको हो ।
समितिमा कांग्रेस पनि विभाजित देखिएको छ । पहाडी क्षेत्रबाट प्रतिनिधित्व गर्ने दिलेन्द्रप्रसाद बडूहरू बिहे गरेर आउनेबित्तिकै विदेशी मुलुकको नागरिकता त्याग्नासाथ तत्कालै अंगीकृत नागरिकता दिन नहुने मत राख्छन् । तर, मधेशबाट प्रतिनिधित्व गर्ने देवेन्द्रराज कँडेललगायतको मत भने अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेजस्तै तत्कालै अंगीकृत नागरिकता दिए हुने मत छ ।
सदस्यहरूबीचको मतान्तरका कारण समितिका सभापति शशी श्रेष्ठ भने अन्यौलमा देखिन्छिन् । उनले समितिबाट निर्णय गराउन नसक्दा विधेयक लामो समयदेखि समितिमा त्यसै अड्किएको छ ।






