रवि लामिछाने र युवराज कँडेल धरौटीमा रिहा
चितवन, भदौ ९ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतास
चितवन, भदौ ९ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेल धरौटीमा रिहा भएका छन्।
सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्सानको कसुरमा लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। आदेशसँगै लामिछाने र कँडेल धरौटी बुझाएर रिहा भएका हुन्।
यस्तै, नर्स अस्मिता कार्की भने अदालताको आदेश अनुसार साधारण तारेखमा छुटेको जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले जानकारी दिए।
अदालतको आदेशसँगै अब लामिछाने, कँडेल र अस्मिताले बाहिरै बसेर थप कानूनी प्रक्रियाको सामना गर्नु पर्नेछ। आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा पुडासैनीले आफू रवि, युवराज र अस्मिताकै कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।
त्यसकै आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन कसूरमा गत साउन ३० गते प्रहरीले लामिछानेसहित कँडेल र अस्मितालाई काठमाडौंबाट पक्राउ गरी चितवन लगेको थियो। पुसाडैनीले गत साउन २० गते चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए।
जिल्ला सरकारी वकिल कार्यालयले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आत्महत्या दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। सरकारी वकिलको कार्यालयले लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।






