Kathmandu Press

रवि लामिछानेलाई पाँच लाख धरौटीमा छोड्न अदालतको आदेश

चितवन, भदौ ९ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग&rs

रवि लामिछानेलाई पाँच लाख धरौटीमा छोड्न अदालतको आदेश

चितवन, भदौ ९ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई छोड्न अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ।

सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आत्महत्या दुरुत्सानको कसुरमा लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

यस्तै, लामिछानेसँगै पक्राउ परेका पत्रकार युवराज कँडेलसँग तीन लाख धरौटी मागिएको भने नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले जानकारी दिए। 

उनका अनुसार धरौटी बुझाएपछि लामिछाने र कँडेल थुनामुक्त हुनेछन्। अस्मिता भने साधारण तारेखमा रिहा भएकी छिन्।  अदालतको आदेशसँगै अब लामिछाने, कँडेल र अस्मिताले बाहिरै बसेर थप कानूनी प्रक्रियाको सामना गर्नु पर्नेछ।

आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा पुडासैनीले आफू रवि, युवराज र अस्मिताकै कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए। त्यसकै आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन कसूरमा गत साउन ३० गते प्रहरीले लामिछानेसहित कँडेल र अस्मितालाई काठमाडौंबाट पक्राउ गरी चितवन लगेको थियो।

पुसाडैनीले गत साउन २० गते चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए।
 

प्रकाशित मिति: १८:२० बजे, सोमबार, भदौ ९, २०७६