Kathmandu Press

९२ वर्षकाे उमेरमा नेकपाको कार्यकारी पद

काठमाडौं, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी कमिटीमा रहेका सबैभन्दा पाको नेताको उमेर कति वर

९२ वर्षकाे उमेरमा नेकपाको कार्यकारी पद
काठमाडौं प्रेस

काठमाडौं, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी कमिटीमा रहेका सबैभन्दा पाको नेताको उमेर कति वर्ष होला? तपाईंलाई पत्याउन गाह्रो पर्ला– ९२ वर्ष भन्दा। यथार्थ यस्तै छ।

हो, अहिले नेकपाको कार्यकारी पदमा बहाल नेतामध्ये सबैभन्दा पाका नेता हुन्– लक्ष्मीदास मानन्धर। उनको उमेर करिब मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद जत्तिकै हो।

मलेसियालाई आर्थिक उन्नतिको शिखरतर्फ डोर्‍याउने महाथिर मोहम्मदले एक पटक राजनीतिबाट सन्यास लिइसकेपछि पुनः राजनीतिमा फर्केका हुन्, भ्रष्टाचार सहन नसकेर। उनले नयाँ पार्टी गठन गरे। अनि आफ्नै पुरानो पार्टीलाई चुनावमा पराजित गरी पुनः सत्तारोहण गरे तर नेकपाका सबैभन्दा पाका नेता मानन्धर भने त्यसरी जिम्मेवारीमा आएका पनि हैनन्।

मानन्धर एमाले र माओवादीबीचको पार्टी एकतामा साविक एमालेतर्फबाट एउटा प्रमुख जनवर्गीय संगठन– उद्योग व्यवसायी महासंघको संयोजक बनेका हुन्। उनको जिम्मेवारी ०७६ जेठ ३ गते मदननगर, बल्खुमा घोषणा भएको हो। उनको सहसंयोजकमा साविक माओवादीका श्याम पाठक घोषणा गरिएका हुन्।

नेकपाका स्थायी कमिटीका एक सदस्यले दिएको जानकारीअनुसार, जेठ २ गते पार्टीले जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुअघिसम्म उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी सावाँको नाम थियो तर अन्तिममा उक्त नाम हेरफेर गरी मानन्धरलाई जिम्मेवारी दिइएको हो। व्यावसायिक पृष्ठभूमिका मानन्धर नेकपाका पुराना सदस्य हुन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पाँच वर्षअघि ०७१ सालमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले पार्टीको विधान संशोधन गर्यो, जसमा कार्यकारी कमिटीमा रहनका लागि बढीमा ७० वर्ष उमेरको हद तोकियो। विधानको दफा ६५(३) मा थपियो, ‘सबै  कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेर को हद ७० वर्ष हुनेछ।’

विधानको यसै व्यवस्थाबमोजिम महाधिवेशन हलबाटै पुराना दुई नेताहरू भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले अवकाशको घोषणा गरे। अधिकारी र सिंह दुवै त्यसबेला ७८ वर्ष पुगेका थिए। 

नेकपा जनवर्गीय संगठन उद्योग व्यवसायी महासंघको संयोजक लक्ष्मीदास मानन्धर।

जेठ ३ गतेको भेटमा ‘नेपालका नेल्शन मण्डेला’ भनी परिचित झापा आन्दोलनका नेता मोहनचन्द अधिकारीले आफू स्वस्थ नै रहे पनि ६० वर्ष नाघेपछि आफूलाई बूढो भयो भनी जिम्मेवारीबाट बञ्चित गरिएको बताएका थिए। त्यसो त आठौं महाधिवेशनबाटै अहिलेको नेकपाका धेरै नेताका गुरु मोदनाथ प्रश्रितले पार्टीबाट स्वेच्छिक अवकाश लिएका थिए।

रोचक विषय– ९२ वर्षीय मानन्धर भने अझै सक्रिय जिम्मेवारीमा छन्। उनले नेतृत्व गरेको महासंघका एक जना पदाधिकारीले सुनाए, ‘अस्ति मैले फोन गरेको थिएँ। मैले म फलानो भनेर नाम भनेँ। उहाँले उद्योग व्यवसायी महासंघमा पनि यस्तै नाम गरेको मान्छे थियो भन्नुभो।’ उनले हाँस्दै सुनाए, ‘मेमोरी त राम्रो रहेछ।’

राष्ट्रियसभा सदस्य

लक्ष्मीदास मानन्धरको जन्म १९८५ मंसिर ४ गते भएको हो। उनी काठमाडौंका स्थानीयबासी हुन्। उनी अहिले पनि साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष हुन्। ०१५ सालदेखि वामपन्थी राजनीतिमा अप्रत्यक्ष संलग्न रहँदै आएका छन्। उनी नेपालको पहिलो पुस्ताका सफल व्यवसायी हुन्।

०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि उनी फेरि राजनीतिक दलमा जोडिए। ०४८ सालमा सबै वामपन्थी पार्टीको समर्थनमा राष्ट्रियसभा सदस्यको साझा उम्मेद्वार भए तर चुनाव हुँदा एक एक भोटले पराजित भए।

त्यसको एक दशकपछि ०५८ सालमा एमालेबाट पुनः उम्मेद्वार भए। राष्ट्रियसभा सदस्य निर्वाचित भए। ०६३ सालमा जनआन्दोलनको बलमा संसद्को पुनर्बहाली भयो। उनी स्वतः अन्तरिम संसद्मा प्रवेश गरे। अनि अन्तरिम संसद्को उद्योग वाणिज्य समितिको सभापति पनि भए।

०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी प्रचण्डको हातबाट अबिर लगाएर माओवादी प्रवेश गरे। त्यसबेला हिसिला यमी चुनाव लडेको क्षेत्रमा पर्ने इन्द्रचोकभित्र पर्ने इटुम्बहालमा भएको चुनावी सभामा मानन्धर माओवादीमा प्रवेश गरेका हुन्। चुनावमा माओवादी पराजयसँगै उनी फेरि एमालेकै समर्थक भए।

पहिलो पुस्ताका व्यवसायी

०११ सालदेखि व्यापारमा संलग्न उनी त्यसअघि दूरसञ्चार संस्थानमा जागीर थिए। काठमाडौं ठहिटीका पूर्णमाया र लक्ष्मीनारायण मानन्धरका साहिँला छोरा हुन्– लक्ष्मीदास। उनले १५ वर्षको उमेरमै २००० सालमा त्रिपुरेश्वरमा टेलिफोन अपरेटरको काम गरे।

२००६ सालमा खाद्यसंस्थानको मुखिया भए। त्यसपछि खरिदारमा बढुवा भए। पिता लक्ष्मीनारायण नै व्यापारिक पृष्ठभूमिका भएकाले उनले जागीर खाँदै २००७ सालमा नूनको व्यापार थाले। त्यसबेला भारतको सावरबाट नून ल्याउँथे, काठमाडौंमा बेच्थे। त्यसका लागि वीरगञ्जमा नूनको डिपो खोलेका थिए।
नूनको व्यापार थालेको चार वर्षपछि ०११ सालमा जागीर छाडे। अनि पूरै व्यापारमा लाग्ने निधो गरे। केही समय जापानबाट ‘रेडिमेड’ कपडा आयात पनि गरेका थिए।

मानन्धरले ०१७ सालमा मोजा कारखाना स्थापना गरे। नेपाल लिकिङ इन्डष्ट्रिज स्थापना गरे।

२०२० सालमा सरकार–निजी साझेदारीमा साल्ट ट्रेडिङ स्थापना भयो। उनी साझेदार भए। संस्थापक सञ्चालक बने। स्थापनाको ५६ वर्षपछि अहिले पनि उनी साल्ट ट्रेडिङका सञ्चालक समिति अध्यक्ष छन्।

२०२५ देखि ०३० सालको बीचमा उनले भैरहवा क्षेत्रमा विभिन्न उद्योगहरू खोले। व्यापार कर्पोरेट प्रवद्र्धित पेट्रोल पम्प, सिद्धार्थ कोल्ड स्टोर, नेपाल प्लास्टिक उद्योग र सिद्धार्थ खाद्य उद्योग स्थापना गरे। ती अझैै चालु छन्।

अहिले पनि मानन्धर व्यवसायिक क्षेत्रमा सक्रिय छन्। विभिन्न वित्त कम्पनीहरूमा पनि लगानी छ। नारायणी नेसनल फाइनान्सका अध्यक्ष भइसकेका उनी सगरमाथा इन्स्योरेन्स, नेपाल मैदा मिल, हेटौँडा खाद्य उद्योग, गोरखकाली रबर उद्योगको सञ्चालक भएर काम गरिसकेका छन्। विराटनगरस्थित मनमोहन पोलिटेक्निकल कलेजमा पनि उनको लगानी छ।

सक्रिय राजनीतिबाहेक पनि उनी व्यसायसँगै पेशागत संगठनमा संलग्न भए। होजियारी उत्पादक संघको अध्यक्ष भइसकेका उनी च्याम्बर अफ कमर्सको कार्यकारिणी सदस्य भए। नेपाल उद्योग वाणिज्य संघको पनि कार्यकारिणी सदस्य हुँदै कोषाध्यक्ष बने। अध्यक्षमा चुनाव लडेर हारे। उनी यसअघि साविक एमालेको पनि उद्योग व्यवसाय महासंघको संस्थापक अध्यक्ष थिए।

शिक्षा क्षेत्रमा पनि काम गरेका थिए मानन्धरले। उनी पकनाजोलस्थित पिपुल्स कलेजका अध्यक्ष पनि भइसकेका छन्। नेवारी भाषाको उत्थानका लागि पनि उनले काम गरेका थिए।  

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, भदौ ९, २०७६