Kathmandu Press

ओलीजीले मलाई चार्ज लगाउनुभो- तपाईं मेरो स्वास्थ्यप्रति किन नकारात्मक कुरा गर्नुहुन्छ?

काठमाडाै‌, भदाै ५ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थोपचारका लागि सिंगापुर जानुअघि

ओलीजीले मलाई चार्ज लगाउनुभो- तपाईं मेरो स्वास्थ्यप्रति किन नकारात्मक कुरा गर्नुहुन्छ?

काठमाडाै‌, भदाै ५ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थोपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधकुमार नेपालबीच भनाभन भएको छ।

बैठक सकेर ओली सिंगापुर प्रस्थान गरिसकेका छन्। त्यस तिक्त वातावरणबारे वरिष्ठ नेता नेपालसँग काठमाडौंप्रेसले गरेको संक्षिप्त संवाद:

आज बालुवाटारमा भएको सचिवालय बैठकमा तपाईं र प्रधानमन्त्रीबीच भनाभन भएको भन्ने कुरा आयो । भएको के हो ?

खासै केही भएको होइन । वातावरण अलि बिग्रेको हो । मैले उहाँलाई स्वास्थ्यलाभको कामना छ भन्दा उहाँले तपाईंको स्वास्थ्यलाभको कामना चाहिँदैन भन्नुभो– मैले पार्टीभित्र विधि सबैलाई लागू हुन्छ, तपाईंलाई पनि लागू हुन्छ भनेपछि । 

उहाँले तपाईंको स्वास्थ्य लाभको शुभकामना नै चाहिँदैन चाहिँ किन भन्नुभएको त ? 

उहाँले मलाई अलिकति चार्ज लगाउनुभो– तपाईं मेरो स्वास्थ्यप्रति जहिले पनि नकारात्मक कुरा गर्नुहुन्छ भनेर । मैले भनेँ– एउटा पनि प्रमाण देखाउनुस्, एउटा पनि कुनै प्रमाण छन् भने छानबिन कमिटी बनाउनुस् । त्यो अलिकति नमिठो स्थिति बन्यो । 

प्रचण्डजीलाई म नहुँदा पनि बैठक बसाएर सर्वसम्मतिमा निर्णय गराउनुस् भन्दा यहाँले आपत्ति जनाउनुभएको हो ?

त्यहाँ मेरो सहमतिबिना कुनै पनि निर्णय हुँदैन भन्नुभो । मैले भनेँ– मेरो विमति हुँदा निर्णय हुन्छ भने तपाईंको पनि सहमति नै हुनुपर्छ भन्ने के छ र ? तपाईंको र मेरो भोट बराबर त हो नि ! मैले भनेँ । तपाईं अध्यक्ष हुनेबित्तिकै सुपर म्यान होइन क्यार ! तपाईं र म भोटको अधिकार उस्तै हो । तपाईं ‘फस्र्ट एमङ्ग द इक्वेल’ त्यत्ति त हो नि !
हाम्रो पार्टीमा त म पनि त भएको छु नि ! हाम्रो पार्टीमा ‘फस्र्ट एमङ्ग द इक्वेल’ त भनेको छ नि, आजसम्मको केन्द्रीय कमिटीको प्रतिवेदनमा । उहाँ अलि आक्रोशित हुनुभो । त्यत्ति हो ।

भनेपछि उहाँ अलि आक्रोशित हुनुभो ?
हो । वातावरण त्यत्ति राम्रो भएन ।

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, भदौ ५, २०७६