जीवित देवीको जिजीविषा : बफ, विज्ञान र बास्केटबल
काठमाडौं, साउन १८ : प्रकृति महर्जनलाई दौंतरीहरूको भीडमा पनि परैबाट मज्जाले चिन्न सकिन्छ। किनकि, उनी

काठमाडौं, साउन १८ : प्रकृति महर्जनलाई दौंतरीहरूको भीडमा पनि परैबाट मज्जाले चिन्न सकिन्छ। किनकि, उनी अरुभन्दा भिन्न देखिन्छिन्, भिन्न छिन्। उनको पहिरन, केशविन्याश र गाजल लगाउने तरिका सबै भिन्नै छन्।
उनी हुन्, काठमाडौंको मखन टोलका स्थानीय बासिन्दाले हजारौं वर्षदेखि पुज्दै आएको जीवित कुमारी।
काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुजिने रोयल कुमारीबारे त तपाईंहरूलाई थाहै होला। राजतन्त्रमा राजा र गणतन्त्रमा राष्ट्रपतिले पुज्ने भएकाले उनी सबैभन्दा चर्चित छिन्।
तर, काठमाडौं उपत्यकामा एक होइन, अनेकौं जीवित देवी कुमारीहरू छन्। त्यसैमध्ये एक हुन्, प्रकृति महर्जन।

प्रकृतिलाई २०६३ सालको अष्टमीमा मखन टोलको मखं ज्यापुगुथिले कुमारी नियुक्त गरेको हो। त्यस बेला उनी मुश्किलले दुइ वर्षकी थिइन्। अहिले १४ मा हिँड्दैछिन्।
अन्यत्रका कुमारी झैं उनलाई पनि पहिलो रजस्वला हुनेबित्तिकै कुमारीबाट हटाइन्छ। र, अर्को कुमारी पदस्थापना गरिन्छ। त्यतिञ्जेलसम्म भने उनी नै मखन टोलकी साक्षात जीवित देवी हुन्।
रोयल कुमारीलाई राज्यले भत्ता दिन्छ। उनलाई कुमारी घरमै पढ्ने–लेख्ने सुविस्ता छ। तर, अन्यत्रका कुमारीहरूलाई यस्तो सुविधा छैन। उनीहरू अन्य दौंतरीहरू झैं स्कुल जान्छन्।
स्कुल जान र अरु दौंतरीहरूसँग हेलिन पाएकैले हुँदो हो, प्रकृति निकै बाचाल छिन्। उनको दृष्टिकोण पनि फराकिलो छ। समवयी किशोरीहरू झै उनले पनि अनेकौं सपना र रहरहरू सङ्गालेर राखेकी छिन्।

उनी नेपाली समाजको संरचना पितृसत्तात्मक रहेको र महिलाले अझैं पूर्ण रुपले अधिकार पाउन नसकेको तर्क गर्छिन्। फुर्सद मिल्यो कि बास्केटबल खेल्छिन्।
ब्याडमिन्टन त झन् उनको मन पर्ने खेल हो। र, मन पर्ने खाना हो–बफ। विज्ञान पढेर डाक्टर बन्ने र गरीबको सेवा गर्ने लक्ष्य उनको छ।
भिडियो रिपोर्ट
अरुले आफूलाई जीवित देवी मानेर पूजा गर्दा कस्तो लाग्छ त? काठमाडौं प्रेसको प्रश्नमा उनले भनिन्, “त्यो त एउटा बिलिफ (आस्था) हो।”
प्रकृति हाल काठमाडौंको ताहाचलस्थित जनज्योति माविमा कक्षा १० मा पढ्छिन्। अन्य विद्यार्थीको भन्दा उनको पहिरन भिन्न छ। अरु टीशर्ट र ट्राउजर लाउँछन्। उनी भने रातो फ्रक, रातो सुरुवाल र रातै मोजा लाएर स्कुल जान्छिन्।

उनी भन्छिन्, ‘रातो कुमारी देवीको रङ हो र मेरो फेभरेट कलर पनि रातै हो। रातो लुगा लाउन पाउँदा खुशी लाग्छ।’
उनको टाउकोको मध्य भागमा रातो रिबन बेरेर ठूलो जुरो बनाइएको छ। बसन्तपुरको रोयल कुमारीलाई जस्तो उनलाई घरबाहिर निस्कनै नहुने बाध्यता छैन। कुमारी भए पनि आफन्त भेट्न जाने, साथीसङ्गीसँग खेल्ने, रमाइलो गर्नेमा उनलाई कुनै रोकताेक छैन।
तर, उनले केही नियम भने पालना गर्नुपर्छ। लसुन, प्याज, गोलभेंडा, कुखुराको मासु, माछालगायतका केही खानेकुरा बार्नुपर्छ। छालाको जुत्ता लगाउनु हुँदैन।
मखन टोलमा हुने पूजा र जात्रामा उनको उपस्थिति अनिवार्य छ। उनी दशैं र तिहारजस्ता विशेष पर्वमा नित्य पूजामा बस्छिन् र भक्तजनलाई टीका लगाइदिन्छिन्। मखनमा हरेक चैत महिनामा घोडेजात्राको दिन कन्याहरूलाई मरःजा अर्थात् शुद्ध भात खुवाउने चलन उनको उपस्थितिबिना अधुरै हुन्छ।

अहिले पनि पुरुष नै घरमुली हुने चलन रहेको देशमा आफू कुमारी भएकै कारण विशेष महत्व र मान सम्मान पाएकोमा खुशी र गर्व लागेको उनले सुनाइन्।
मखनकी कुमारी वसन्तपुरको रोयल कुमारीभन्दा पनि पुरानो जीवित देवी रहेको मानिन्छ। मखं ज्यापुगुठीसँग रहेको शिलालेखअनुसार, नेपाल सम्वत् ८३३ मा मखनमा कुमारी देवी राख्ने परम्परा सुरु भएको हो। अहिले नेपाल सम्वत् ११३९ चलिरहेको छ। यस हिसाबले ३०० वर्षअघिदेखि मखनबासीले जीवित देवीको पूजा गर्दै आएका छन्।
वसन्तपुरमा रोयल कुमारी राख्ने परम्परा भने विक्रम सम्वत् १८१३ मा मात्रै सुरु भएको हो। यस हिसाबले वसन्तपुरको रोयल कुमारी परम्परा सुरु भएको २६३ वर्ष मात्रै भयो। राजा जयप्रकाश मल्लले वसन्तपुरको गद्दी वैठक नजिक कुमारी घर निर्माण गरी जीवित देवी कुमारीको पूजा गर्ने चलन सुरु गरेका थिए।

तर, स्थानीय स्तरमा जीवित देवी कुमारीको पूजा गर्ने चलन लिच्छवि कालमै सुरु भएको अनुमान संस्कृतिविद्हरूले गरेका छन्।
अध्येता मेरी एस स्लुसरले यस्ता दुई ऐतिहासिक लिखत भेटाएकी छिन्, जसले कुमारी प्रथा निकै पुरानो संस्कृति भएको पुष्टी हुन्छ। उनले जीवित कुमारीको छनोट, शृंगार र पूजन सम्बन्धी विवरण भएका इस्वी सम्वत् १२८० (वि स १३३७) र ई १२८५ (वि स १३४२) सालका दुइटा लिखत फेला पारेकी छिन्। यसबाट १३ औं शताब्दीमा र सम्भवतः त्यसभन्दा धेरै अघि बहाल बहिलहरूमा जीवित कुमारीको प्रतिस्थापन भइसकेको तथ्य सिद्ध हुन्ने तर्क इतिहासविद् भुवनलाल प्रधानको छ। उनले यसबारे आफ्नो पुस्तक ‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’मा उल्लेख गरेका छन्।
जीवित बालिकालाई कुमारीको रुपमा अर्चना गर्ने तान्त्रिक परम्परा हो। यो परम्परा सर्व प्रथम उपत्यकामा बौद्धहरूले अपनाएको विश्वास गरिन्छ। त्यसैले अधिकांश कुमारीहरु शाक्य, बज्राचार्य र ज्यापु समुदायका छन्।
श्री कुमारीलाई बौद्ध र हिन्दूहरुले विभिन्न नामले पूजाआजा गर्दै आएको छ। कुमारीलाई बज्रदेवी, चण्डेश्वरी, बज्रयोगिनी, उग्रतारा, गुह्येश्वरी, विजयश्वरी, प्रज्ञापारमिता, करुणामय, तारा, सरस्वती, अन्नपूर्ण, बसुन्धरा, भैरवी, तलेजु, भगवती, धर्तीमाता र काली आदि नामले पूजा गर्ने चलन छ।
कुमारीलाई रक्षाकी देवीको रुपमा पूजा गर्ने गरिन्छ। शतिm स्वरुपिणी कुमारीको पूजा गरेमा भयत्राश, अनिकाल, महामारी, दैवी प्रकोपबाट देश र जनताको रक्षा गर्छ भन्ने जनविश्वास रहिआएको छ।

त्यसैले शासकहरुले राज्य र प्रजाको रक्षाको लागि बिशेषगरी उपत्यकाका भित्री र वाहिरी राज्यमा कोतघरमा कुमारीको स्थापना गरी शतिm उपासना गर्ने गरेको अनुसन्धाता एकाराम सिं बताउँछन्। यो चलन कतिपय ठाउँमा यथावत छ भने कतै लोप भइसकेको छ।
हाल मखनलगायत किलागल, पाटन, भक्तपुर, बुङ्गमती, साँखु, टोखा, पनौती, नुवाकोट लगायतका स्थानमा जीवित कुमारी नियुक्त गरेर पूजा गरिँदै आएको छ। तर, काठमाडौंको वटुकाे मूवहाल र ठमेल काे क्ववहालको कुमारी भने लोप भइसकेको ह्युमत मिसा पुचःकी पूर्वअध्यक्ष ज्ञानीशोभा महर्जनले बताइन्।

जीवित कुमारी स्थापना गर्नुभन्दा धेरै अघि पनि उपत्यकामा कुमारीको मूर्ति स्थापना र पूजाआजा गर्ने चलन थियो। नवदुर्गा, अष्टमातृका गणमा कुमारीको उपस्थिति पहिलेदेखि नै थियो। उदाहरणको लागि कुमारीगालस्थित कुमारी, मैतिस्थित कुमारी, ठिमीस्थित बालकुमारी, पाटन क्वा छें स्थित बालकुमारी आदि।
कुनै महत्वपूर्ण काम थाल्नुअघि स–साना कन्याहरूको भेला गरेर कुमारीको प्रतीकको रुपमा पूजा गर्ने चलन नेवार समुदायमा अहिले पनि छ। यसरी बालिकालाई पूजामा दान दक्षिणा दिएर खुशी पार्दा आँटेको काम सम्पन्न हुने विश्वास छ।











-(7)-1765197040.jpg)
