Kathmandu Press

करोडौँ घाटामा गएको साझालाई तीन अर्ब रूपैयाँ

काठमाडौं, साउन २ : पछिल्लो दुई वर्ष यता करोडौं घाटा देखाउँदै आएको साझा यातायात प्रालिलाई सरकारल

करोडौँ घाटामा गएको साझालाई तीन अर्ब रूपैयाँ
फाइल

काठमाडौं, साउन २ : पछिल्लो दुई वर्ष यता करोडौं घाटा देखाउँदै आएको साझा यातायात प्रालिलाई सरकारले रातारात तीन अर्ब रुपैयाँ दिएको छ। 

योसँगै अब सरकारको साझामा लगानी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गरेर साझामा लगानी ३ अर्ब ५२ करोड ५० लाख शेयर लगानी पुगेको छ। तर, साझाले पछिल्लो दुई वर्ष यता घाटा देखाइरहेकाले पनि सरकारको लगानी डुब्ने खतरा समेत बढेर गएको छ। 

सरकारले गरेको लगानी अनुसार साझाले प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उठेको छ। बैंकको ब्याजको किस्ता, ब्याज तथा ऋण नै तिर्नु नपर्ने साझा यातायात वर्षेनी घाटामा जानुले धेरै प्रश्न उब्जिएको जानकारहरु बताउँछन्।

Hardik ivf

अर्थ मन्त्रालयबाट रकमान्तर गराएर आर्थिक वर्ष सकिन एक दिन मात्रै बाँकी छँदा  असार २९ गते नै मन्त्रिपरिषदबाट निर्णय गरेर ३१ गते साझा यातायातको खातामा तीन अर्ब रुपैयाँ निकासा समेत पठाइसकिएको छ। सरकारले तीन सय वटा विद्युतीय बस खरिद गरेर सञ्चालन गर्न भन्दै तीन अर्ब रुपैयाँ निकासा दिएको हो। 

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले साझालाई बस किन्न तीन अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो। सरकारले उपत्यका यातायात प्राधिकरण गठन गरेर तीन सय विद्युतीय बस खरिद गर्ने बताएपनि प्राधिकरणको विषय थाँती राखेर साझालाई जिम्मा दिने निर्णय गरेको हो। 

गत वैशाखमा प्राधिकरण गठन गर्ने सरकारले निर्णय गरेको थियो। तर, प्राधिकरण गठनको प्रक्रिया रोकेर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले साझालाई रकम दिएर चलाउने प्रस्ताव मन्त्रिपरिषद्मा रातारात लगेका थिए। सोही अनुसार मन्त्रिपरिषद्ले पनि निर्णय गरेको हो। 

प्राधिकरण गठन प्रक्रिया नै सुरु नभएका कारण साझालाई नै तीन सय विद्युतीय बस खरिद गर्ने गरी जिम्मा दिन लागिएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्री महासेठले बताए।

‘सार्वजनिक यातायात संसारमा कहिँ पनि नाफामा हँदैन। तर पनि जनतालाई सेवा दिन सरकारले साझामार्फत दिन सरकारले रकम दिएको हो,’ मन्त्री महासेठले भने। विद्युतीय सवारीमार्फत सरकारले सेवा र वातावरण सोच्छ राख्न मद्दत पुग्ने भएकाले पनि लगानी गर्न खोजेको बताए। साझा सहकारीमा सरकारको लगानी भएकाले पनि साझालाई रकम दिएको मन्त्री महासेठ बताउँछन्। 

विद्युतीय बस खरिद गर्न भन्दै प्रदेश ३ सरकारले पनि साझालाई ३० करोड रुपैयाँ दिने निर्णय गरिसकेको छ।  यसै वर्ष साझालाई काठमाडौं महानगरपालिकाले २० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँ दिएका थिए। हाल साझा यातायातले ७१ वटा बस विभिन्न १८ वटा रुटमा सञ्चालन गरिरहेको छ।

साझाले वार्षिक रुपमा ७२ लाख यात्रु बोक्ने गरेको साझा सहकारीका अध्यक्ष कनकमणी दीक्षित बताउँछन्।  साझा यातायात आर्थिक वर्ष २०७४-०७५ मा १ करोड ७८ लाख ८७ हजार ८ सय ४५ रुपैयाँ घाटामा गएको छ। त्यस्तै, आर्थिक वर्ष २०७३-०७४ को घाटा १ करोड ८२ लाख ६५ हजार ८ सय १० रुपैयाँ छ।

तर, सञ्चालनको पहिलो वर्ष २०७०-२०७१ मा ३ करोड ६९ लाख घाटामा गएको साझाले त्यसपछिका दुई वर्ष लगातार नाफा कमाएको थियो। तर, सरकारले शेयर लगानी गरेपछि भने साझाले घाटा देखाउँदै आएको छ। 

‘हामीले विद्यार्थी, अशक्त तथा वृद्धहरुलाई निशुल्क सेवा दिएकाले पनि घाटामा गएको हो,’ अध्यक्ष कनकमणी दीक्षितले भने। बिजुली बसले एकातिर वातावरण प्रदुषण घटाउँछन् भने अर्काेतर्फ नेपालको व्यापार घाटा घटाउने भएकाले पनि विद्युतीय बस अनिवार्य भएको दीक्षित बताउँछन्। सेवा सुविधा राम्रो दिइरहेकाले पनि संस्था घाटामा गएको दीक्षित बताउँछन्। 

उपत्यकामा चल्ने हुन् वा बाहिर जाने साझाका सबै बसमा यात्रु भरिभराउ हुने भएपनि खर्च धेरै भएकाले घाटामा गएको दीक्षितको भनाइ छ। २०६७ सालमा साझालाई सहकारीको रुपमा पुनःस्थापना गरेर २०७० वैशाख १ देखि १६ वटा बसमार्फत सेवा सुरु गरिएको थियो।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, साउन २, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्