यू–१९ विश्वकप छनोटमा नेपालको दमदार सुरुआत
काठमाडौं, चैत २९ : एसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतिस्पर्धामा नेपालले दमदार सुरुआत गरेको छ।
शुक्रबार भएको पहिलो ख....

काठमाडौं, चैत २९ : एसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतिस्पर्धामा नेपालले दमदार सुरुआत गरेको छ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो।
नेपालका लागि क्याप्टेन रोहितकुमार पौडेलले ९५, रसिद खानले ४८, पवन सर्राफले ४७, किसनसिंह ऐरीले ३१, भीम सार्कीले २६ र कुसल मल्लले १० रन बनाएका थिए ।
सिंगापुरका लागि अथर्भ कुनेले चार, विनित महता र राउल शर्माले दुई/दुई तथा प्रमेश सिंहारीले एक विकेट लिएका थिए।
दुई सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा ६५ रनमै अल आउट भयो । सिंगापुरका लागि इशान्त सोनीले २८ र एसएच भेनुगोपालले १८ रन बाहेक अरुले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि पवन सर्राफले तीन, कुशल मल्ल र सूर्य तामाङले दुई/दुई तथा रसिद खानले एक/एक विकेट लिएका थिए। प्रतियोगितामा पवन सर्राफ प्लेयर अफ द म्याच भए। नेपालले अर्को खेल आइतबार यूएईसँग खेल्ने छ।











